May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने

कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा परीक्षा लिने तयारीको बाटो खुलेको हो । त्यसको तयारी सुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका महानिर्देशक दीपक काफ्लेले दक्षिण कोरियाको मानव संसाधन विभाग ९एचआरडी०सँग नयाँको लागि भाषा परीक्षा सञ्चालन गर्नेबारे सहमति भएको तर मिति भने तय हुन बाँकी रहेको जानकारी दिए । अबको परीक्षा कम्प्युटर प्रणालीबाट हुने र यसका लागि ईपीएस कार्यालयमा पर्याप्त कम्प्युटर नभएकाले यस पटक पुल्चोक इन्जिनियरिङ क्याम्पसमा रहेको कम्प्युटर प्रयोगशालामा गर्ने विषयमा छलफल भएको उनको भनाइ छ । उनले भने, “भाषा परीक्षा सञ्चालन गर्ने विषयमा दुवै पक्ष सकारात्मक रहेको र एक चरणको बसाइपछि टुङ्गिन्छ अनि औपचारिक रूपमा सूचना निकाल्छौँ ।”

महानिर्देशक काफ्लेले सीभीटीको माध्यमबाट भाषा परीक्षाका लागि ईपीएस कार्यालयमा रहेको कम्प्युटर पर्याप्त नभएकाले यस पटक पुल्चोकमा गरिने र अर्को पटकदेखि ईपीएस कार्यालयमा व्यवस्था गरिने जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement