July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

विपन्न ४५ परिवारलाई खाद्यान्न सहयोग

भैरहवा– बेलायतमा रहेका भैरहवावासीको समूह सिद्धार्थनगर भैरहवा परिवार–बेलायतको आर्थिक सहयोगमा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । विपन्न ४५ घरपरिवारलाई बुधबार १५ केजी चामल, ५ केजी चिउरा, ५ केजी पिठो, प्याज, चिनी, तेल सहयोग गरिएको स्थानीय समन्वयकर्ता ओमकुमार श्रेष्ठले बताए ।

Advertisement

‘कम्तिमा प्रतिपरिवार २ हजार १ सय ५० रुपैयाँ बराबरको खाद्यान्न सामग्री हामीले सहयोग गरेका छौं’, श्रेष्ठले भने, ‘यसले विपन्न परिवारलाई केही दिनका लागि भए पनि छाक टार्न सहयोग पुग्ने छ ।’

Advertisement

शर्मिला हिराचनको संयोजकत्वमा रहेको सिद्धार्थनगर भैरहवा परिवार–बेलायतको सहयोगमा यस अघि निषेधाज्ञाको समयमा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत बिरामी र बिरामी कुरुवालाई निःशुल्क खाना वितरण गरिएको थियो । यस्तै, सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी मृृगौलापीडित अर्जुन राना, कञ्चन गाउँपालिका–५ की आयुषा पाण्डे र क्यान्सरपीडित सिद्धार्थनगर–८ की मञ्जु रानालाई उपचारका लागि २५–२५ हजार रुपैयाँ सहयोग गरिएको थियो ।

‘परदेशमा पसिना बगाएर कमाएको पैसाबाट भैरहवामा केही गरौं, विपन्न तथा गरिबदुखीलाई सहयोग गरौं भन्ने उहाँहरुको भावना प्रशंसनीय छ’, श्रेष्ठले भने, ‘उहाँहरुको सहयोगले कतिपय परिवारको चुल्हो बल्ने भयो भने कतिपयको उपचारमा सहयोग पुगेको छ ।’

भैरहवामा रहेका अतिविपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले हाल बेलायतमा बस्ने भैरहवावासीहरुले समूह स्थापना गरी रकम संकलन गरेर यहाँ पठाएका थिए । उक्त रकमले समस्यामा रहेका परिवारलाई सहयोग गर्न तथा केही रचनात्मक कार्य गर्न सकिन्छ भनेर आफूहरु अघि बढीरहेको श्रेष्ठले जनाए ।