July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

पौडेल र महासेठ उपप्रधानमन्त्री, सरकारबाट पोखरेल र ज्ञवाली हट्ने

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा गएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली बाहिरिने भएका छन्।

Advertisement

सरकार गठनदेखि नै मन्त्रीहरुलाई पार्टी कामको जिम्मेवारी दिएर नयाँ अवसर दिन प्रधानमन्त्री ओलीले उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरेका हुन्। पोखरेल सुरुमा रक्षासहित उपप्रधानमन्त्री भए पनि पछिल्लो समय प्रधानमन्त्री कार्यालयमा सीमित थिए।

Advertisement

त्यस्तै ओलीले जसपाबाट राजेन्द्र महतोलाई उपप्रधानसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएपछि एमालेबाट दुई जनालाई उप्रप्रधानमन्त्री बनाउने भएका छन्।

बालुवाटार स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेल उपप्रधानमन्त्रीमा बढुवा हुने भएका छन् भने रघुवीर महासेठ परराष्ट्रमन्त्री सहित उपप्रधानमन्त्री हुने भएका छन्। महासेठ यही सरकारमा सुरुमा भौतिक योजना तथा यातायात मन्त्री थिए।

जसपाबाट सात मन्त्री र दुई जना राज्यमन्त्री बन्ने भएका छन्। जसमा शरत सिंह भण्डारीलाई उर्जा, अनिल झा खानेपानी, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् भने लक्ष्मण लाल कर्णले भुमिसुधार, चन्दा चौधरी महिला, एकवाल मियाँ वन मन्त्री हुने भएका छन्। त्यस्तै चन्द्रकान्त चौधरी उर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला राज्यमन्त्रीमा राज्यमन्त्री हुने भएकी छिन्।

मन्त्रीहरुको शपथ बेलुका ८ बजेका लागि राखिएको छ। यसअघि ६ बजे भने पनि तयारीका लागि सारिएको हो।