July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

मुख्यमन्त्री पोखरेलको राजीनामा माग

बुटवल– विपक्षी दलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । प्रदेश सभाको आजबाट सुरु आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेका हुन् ।

Advertisement

सचेतक खानले संविधानको धारा १६८ उपधारा १ बमोजिम मुख्यमन्त्रीमा पोखरेल नियुक्त भए पनि अहिले सरकारको स्वरुप हेर्दा उपधारा २ बमोजिमको बन्न पुगेको दाबी गरे । ‘त्यसैले वर्तमान सरकार गठन भएको एक महिना भित्र विश्वासको मत लिनु पर्ने हो, तर लिइएको छैन’, उनले भने ।

Advertisement

सरकारले फेरि संसद छलेर अध्यादेशबाट बजेट ल्याएमा संसदीय व्यवस्थाको औचित्य पुष्टि नहुने उनले बताए । खानले अवैधानिक तवरले सरकार गठन गरिएको बताउँदै पोखरेललाई आदर्श र नैतिकता देखाउँदै राजीनामा दिन आग्रह गरे ।

सचेतक खानले बहुमतका लागि ४१ जना प्रदेश सभा सदस्य भएको दावी गर्नु पर्नेमा पोखरेलले एक जनाको किर्ते हस्ताक्षर गरी सरकारको दावी गरेकाले सरकारले बैधानिकता गुमाएको आरोप लगाए ।

प्रदेश सभा सदस्य एवं माओवादी केन्द्रका नेता सुदर्शन बरालले संघीय सरकारका प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति जस्तो गरिमामय संस्थालाई बालुवाटारको कारिन्दाकारुपमा परिचालन गरेकोे आरोप लगाए । उनले प्रधानमन्त्रीले राष्ट्रपतिलाई आदेश दिएर कोरोना विरुद्धको खोप भिक्षा माग्न लगाएर संस्थाको अपमान र विश्व समुदायमा मुलुकको गरिमा घटाएको आरोप लगाए ।

जनता समाजवादी पार्टीका संसदीयदलका नेता सहषराम यादवले एमालेले सत्ता टिकाउनका लागि अन्य पार्टी फोड्दै हिँडेको आरोप लगाए । एमालेले सत्ताको दुरुपयोग गर्दै अर्को पार्टीको संसदीय दलको नेता परिवर्तन गरेको बताउंदै एमादलेको कार्यालयमा बसेर अर्को पार्टीको संसदीयदलको नेता परिवर्तनको अधिकार नभएको बताए । बैठकमा सांसदहरु वीरबहादुर राना, तारा जिसी, शंकर गिरी, इन्द्रजित थारुले बोल्दै सरकारको आलोचना गरे । उनीहरुले मुख्यमन्त्री पोखरेलको राजीनामा मागे ।