August 19, 2026, Wednesday
२०८३ भाद्र ३ बुधबार

मोहम्मद जयन्ती, धार्मिक जुलुसमा चर्को आवाज र ‘डिजे’ प्रयोग नगरिने

Advertisement

नेपालगन्ज–मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायद्वारा निकालिने धर्मिक जुलुसमा यस पटक नेपालगन्जमा ठूलो स्वरको डिजेबाजाको प्रयोग नगरिने भएको छ ।

Advertisement

केही दिन अघि सुनसरीमा भएको धार्मीक तनावलाई ध्यानमा राख्दै नेपालगन्जमा यस पटक निकालिने मोहम्मद जयन्तीको धार्मिक जुलुसले सामाजिक सद्भाव, शान्ति, अनुशासन र भाइचाराको सन्देश दिने छ । जुलुसमा डिजे तथा अत्यधिक ध्वनि प्रयोग नगर्ने निर्णय गर्दै धार्मिक आस्थासँगै सार्वजनिक शान्तिलाई प्राथमिकता दिइएको छ ।

स्थानीय जामा मस्जिदमा भएको मुस्लिम धर्मगुरु, सामाजिक अगुवा, बुद्धिजीवी तथा सरोकारवालाको भेलाले मोहम्मद जयन्तीका अवसरमा हुने सबै कार्यक्रमलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण बनाउने निर्णय गरेकोछ । इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मदको जन्मदिनका अवसरमा यही भदौ १० गते मोहम्मद जयन्ती मनाइँदै छ ।

मुस्लिम अगुवा अतहर हुसेन फारुकीले धार्मिक कार्यक्रमको गरिमा कायम राख्दै सामाजिक सद्भाव र सार्वजनिक शान्तिलाई प्राथमिकतामा राखेर डिजे नबजाउने निर्णय गरिएको बताए । उनका अनुसार जुलुसलगायतका कार्यक्रमलाई अनुशासित र व्यवस्थित बनाउन समुदायका सबै पक्षलाई आग्रह गरिएको छ ।

अर्का अगुवा जियाउल हकले मोहम्मद जयन्ती केवल धार्मिक उत्सवमा सीमित नरही शान्ति, सहिष्णुता र भाइचाराको सन्देश प्रवाह गर्ने अवसर बन्नुपर्ने बताए । धार्मिक परम्पराको सम्मान गर्दै जुलुसलाई सभ्य र सौहार्दपूर्ण बनाउन सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

मौलाना अब्दुल जब्बार मन्जरीले नेपालगन्जको बहुधार्मिक र बहुसांस्कृतिक पहिचानलाई थप मजबुत बनाउन आपसी सम्मान र सहकार्य आवश्यक रहेको बताएका छन् । फरक–फरक धर्म र आस्था भए पनि शान्ति, सद्भाव र मानवता सबैको साझा जिम्मेवारी भएको उनले बताएका छन् ।

मुस्लिम समुदायको यो निर्णयको अन्य धार्मिक समुदाय तथा सामाजिक क्षेत्रका अगुवाले समेत स्वागत गरेका छन् । बागेश्वरी मन्दिरका मूल महन्त तथा हिन्दु धर्मगुरु चन्द्रनाथ योगीले डिजे तथा अत्यधिक ध्वनि प्रयोग नगर्ने निर्णय सकारात्मक रहेको बताउँदै यसको अनुसरण अन्य धार्मिक समुदायले समेत गर्नुपर्ने बताए ।

बौद्ध गुम्बा नेपालगन्जका प्रमुख गुरु गुणबहादुर लामाले पनि मुस्लिम समुदायको निर्णयले सामाजिक शान्ति र सद्भाव प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे । हेमन्तराज काफ्लेले यस्तो निर्णयले धार्मिक कार्यक्रमलाई मर्यादित बनाउनुका साथै नेपालगन्जमा एकता, अनुशासन र सहअस्तित्वको सन्देश प्रवाह गर्ने बताए ।