August 19, 2026, Wednesday
२०८३ भाद्र ३ बुधबार

लुम्बिनीः केन्द्रले समर्थन फिर्ता लिन दियो निर्देशन्, मन्त्री पाण्डेय भन्छन्– हामी पनि दल नै हो

Advertisement

भैरहवा– जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी संसदीय दललाई निर्देशन दिएका छन् । यसले प्रदेशमा उक्त पार्टीभित्र खैलाबैला भएको छ ।

Advertisement

महासचिव झाले सोमबार लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयसहित प्रदेशसभा सदस्यहरूलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएका हुन् । संसदीय दलका नेता तथा लुम्बिनी सरकारका सामाजिक विकास मन्त्री पाण्डेयले भने पार्टीले के भन्छ भन्दा पनि संसदीय दलले निर्णय गर्ने कुरा मुख्य हुने बताए ।

‘हाम्रो संसदीय दलको बैठक बस्दै छ । पार्टीले भनेर भएन, हामी पनि पार्टी नै हो’, उनले भने, ‘अबको केही समयमा संसदीय दलको बैठक बस्छ अनि सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णय हुन्छ ।’ महासचिव झाले मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न समेत लुम्बिनी प्रदेशसभाका आफ्ना सदस्यहरूलाई निर्देशन दिएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रममा लुम्बिनी प्रदेश सरकारको सत्ता समीकरणमा समेत फेरबदल आएको छ । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना पाँच मन्त्रीलाई राजीनामा गराएपछि एमाले र नेपाली कम्युनिस्ट पार्टीले सत्ता सहकार्य गरेका छन् । एमालेले चेतनारायण आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिएको छ । आचार्यले आज विश्वासको मत लिँदैछन् । यहीबेला जसपाले समर्थन नगर्न भने पछि पार्टीमा अन्योलता देखिएको छ ।