July 16, 2026, Thursday
२०८३ श्रावण १ शुक्रबार

भैरहवामा मानव बेचबिखनविरुद्धको अधिकार सम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक

Advertisement

भैरहवा– रुपन्देहीको ‘मानव बेचबिखन विरुद्धको अधिकार सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८२’ सार्वजनिक गरिएको छ । भैरहवामा बिहीबार बिहान आयोजित कार्यक्रममा मानव अधिकार र मानव वेचविखन बिरुद्ध क्रियाशील संघसंस्थाका प्रमुख, सरकारी अधिकारी लगायतले संयुक्त रुपमा उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए ।

Advertisement

भैरहवास्थित रमादा होटलमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय बुटवलको संयोजनमा भएको कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । मानव वेचविखन बिरुद्धको अभियानमा मुलुकका तीनै तहका सरकार र स्थानीय सरोकारवालाले पनि हातेमालो गर्न जरुरी रहेकाले क्षेत्रीय रुपमा प्रतिवेदन सार्वजनिक गरेर सुझाव संकलन गरिएको मानव अधिकार आयोगले जनाएको छ ।

संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकारले पनि मानव बेचबिखन नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन गरून् र आफ्नो क्षेत्रबाट आवश्यक भूमिका खेलून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोगले जनाएको छ ।

प्रतिवेदनमा २०८२ सालभरि मुलुकमा ७० जिल्लामा भएका मानव बेचबिखन, मानव तस्करी लगायतका घटना, मावन वेचविखनमा अपनाइएका नयाँ तरिका, यस्ता अपराध रोकथामका लागि देखिएका चुनौंतीबारे उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार पछिल्लो समय डिजिटल माध्यामबाट धेरै घटना भइरहेका छन् । नेटवर्किङ विजनेशका नाममा पनि मानव तस्करी बढेको पाइएको छ । धार्मिक कार्यक्रम, विवाह, सीमा क्षेत्रमा घाँस दाउरा नाममा पनि मानव तस्करी भइरहेको प्रतिवेदनमा औल्याइएको छ । त्यसैले यस्ता कार्य रोकथामका लागि, प्रदेश स्थानीय तह र सरोकारवाला निकायले भूमिका खेल्नुपर्ने कुार प्रतिवेदनको जोड दिइएको आयोगका क्षेत्रीय प्रमुख तथा सह–सचिव सन्तोष आचार्यले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँले जिल्लास्थित प्रशासन, प्रहरी र स्थानीय पालिकासँग बलियो समन्वय गरेर मानव बेचबिखन रोक्न आफूले नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिली थापाले मानव बेचबिखन र मानव तस्करी नियन्त्रणका लागि आयोग सधैं गम्भीर रहेको बताइन् । पछिल्लो समय बेचबिखनमा देखिएका नयाँ–नयाँ प्रविधि र तरिकाको अध्ययन भइरहेको र यसको नियन्त्रणका लागि सरोकारवालाले खेल्नुपर्ने भूमिकाबारे आयोग पूर्ण रूपमा सचेत रहेको उल्लेख गरिन् ।

सिद्धार्थनगर नगरपालिकाकी उप–प्रमुख उमा अधिकारीले आफू व्यक्तिगत र संस्थागत रूपमा सधैं मानव बेचबिखन रोक्नका लागि लागिपरेको बताइन् । पालिकास्तरबाट यसको रोकथाम र सचेतनाका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न नगरपालिका तयार रहेको उनले बताइन् ।

सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भौगोलिक अवस्थितिका कारण पनि रुपन्देही मानव बेचबिखनको दृष्टिकोणले संवेदनशील जिल्ला रहेको बताए । ‘हामीले जिल्लामा मानव बेचबिखन नियन्त्रणका क्षेत्रमा क्रियाशील संघ–संस्थासँग निरन्तर छलफल गरेर रणनीति तय गर्दै आएका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि सरोकारवालासँगको समन्वयलाई अझै कडा बनाएर रोकथामका लागि ठोस भूमिका खेल्नेछौँ ।’

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सह–न्यायाधिवक्ता लगायत मानव अधिकार र मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा क्रियाशील विभिन्न सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।