नगरप्रमुख र सांसद शाहसहितको समूहले सांघातिक आक्रमण गरेको उवासंघ कृष्णनगरका अध्यक्षको आरोप


भैरहवा– कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्माले कपिलवस्तु–३ का संघीय सांसद अभिशेष प्रताप शाह र कपिलबस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहसहितको समूहद्वारा आफूमाथि सांघातिक आक्रमण गरिएको आरोप लगाएका छन् ।
भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार गराइरहेका अध्यक्ष शर्माले मंगलवार अस्पताल परिसरमैं पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् । ३५–४० जनाको उक्त समूहले आइतवार दिउँसो आफ्नै निवासमा प्रवेश गरेर आफू र आफ्नो बृद्ध आमामाथि सांघातिक आक्रमण गरिएको र घरमा लुटपाट समेत भएकाले यस घटनालाई सरकारले गम्भिरतापूर्वक अध्ययन गरेर कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने माग उनले गरेका छन् ।
यस घटनामा संलग्न दोषीलाई नियन्त्रणमा लिएर कारवाही गर्नका लागि चार पटकसम्म प्रहरीमा जाँदा प्रहरीले मुद्दा दर्ता नगरि उल्टै सांघातिक आक्रमण गरिएको प्रमाण आफूसँग माग्दै घटनामा संलग्नलाई उन्मुक्ति दिइएको आरोप पनि उनले लगाएका छन् ।
‘संघीय सांसद शाह र नगरप्रमुख शाहसहितको समूहले घरमा आएर बेडरुममा पसेर एक्कासी कुटपिट गर्न थाले । लछारपछार गर्दै घिसारे । मेरो मुखमा पेस्तोल ताकेर प्रहार गर्न खोजे’, शर्माले भने, ‘यस वारेमा किटानी जाहेरीसहितको निवेदन दिँदा पनि प्रहरीले मुद्दा दर्ता गरेको छैन ।’
आफूमाथि सांघातिक आक्रमण हुनुको पछाडी भने अदालतबाट पक्राउ पुर्जी जारी भइ फरार एक नेपाली नागरिक कपिलबस्तुको चन्द्रौटास्थित लुम्बिनी ग्रिन रिसोर्टमा सञ्चालित ग्रिन ज्याकपट इन्टरटेनमेन्ट क्यासिनोबाट असार २७ गते राती प्रहरीले पक्राउ गरेको विषय भएको उनले बताए ।
उनका अनुसार, अदालतबाट २ बर्ष कैद सजायसहितको पुक्राउ पुर्जी जारी भएको कपिलबस्तु बिजयनगर–५ का धिरेन्द्रसिंह चौधरीलाई कृष्णनगरकै रइश शेख र फिरोज खानले सूचना दिएका थिए । प्रहरीले चौधरीलाई पक्राउ गरे लगत्तै ती दुवैजनालाई क्यासिनो पक्षधर समूहले कुटपिटसहित आक्रमण गरेको थियो ।
कुटपिट गर्ने समूह कृष्णनगरस्थित नगरप्रमुख रजतप्रताप शाहको ‘शाह कम्प्लेक्स’मा रहेको र उक्त समूहसँग आफ्नो भएको विवाद र झगडा भएको घटनालाई लिएर लिएर आफूमाथि नगरप्रमुख र सांसदसहितको समूहद्वारा आक्रमण भएको भनाइ शर्माको छ ।
‘हाम्रो कम्प्लेक्समा आएर किन बादविवाद गरेको ? भन्ने दम्भ नगरप्रमुख र सांसदमा थियो’, शर्माको आरोप छ, ‘मलाई आक्रमण गर्न घरमा आउँदा उनीहरुले नै अगुवाइ गरेका हुन् ।’ क्यासिनो खेल्न भारतबाट आउने ग्राहकहरुलाई राख्न र त्यहाँबाट ओसार्नका लागि शाह कम्प्लेक्समा चन्द्रौटाको उक्त क्यासिनोले भाडामा लिएर सम्पर्क कार्यालयको रुपमा प्रयोग गर्दै आएको छ ।
यस घटनाले कानुनी राज्यको अनुभूति हुन नसकेको र प्रहरी प्रशासनबाट निर्दोष नागरिकको शान्ति सुरक्षा तथा संरक्षण हुन नसकेको भनाइ उनको छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहले भने शर्माले आफूहरुमाथि लगाएको आरोप झुटा भएको र शर्माको व्यवहारले रुष्ट भइ आक्रोशित समूहबाट सुरक्षित बनाउन शर्माको घरमा पुगेको बताए ।
शाहका अनुसार, शर्माले शाह कम्प्लेक्समा गएर त्यहाँ रहेको क्यासिनोको कार्यालय सहित भाडामा रहेका अन्य ३०–३५ वटा सटरलाई जवर्जस्ती बन्द गर्न लगाउँदै धम्की दिएका थिए । उनको यो व्यबहारले ती व्यापारीहरु उनीसँग आक्रोशित हुँदै उनको घरमा पुगेका थिए । ‘हामी उनको घरमा गएर उल्टै उनको सुरक्षा दिएका हौं’, शाहले भने ।
कपिलबस्तु–३ का सांसद अभिशेष प्रताप शाहले पनि शर्माको समूह शाह कम्प्लेक्समा आइ तोडफोड गर्न लागेको र आफ्नो एक व्यक्तिलाई रडले प्रहार गरि घाइते बनाएको दाबी गरे । उनी बिरुद्ध आफूहरुले जाहेरी दिएको उनले बताए । ‘उनको यो व्यवहारले आक्रोशित भएका हाम्रा मान्छे उनको घरमा पुगेका हुन्’, उनले दाबी गर्दै भने, ‘उनीमाथि अन्य घटना नहोस् भनेर हामी उनको घरमा पुगी आक्रोशित समूहलाई निकालेका हौं ।’








प्रतिकृया दिनुहोस्