July 1, 2026, Wednesday
२०८३ असार १७ बुधबार

मर्चवारीमाईमा निर्माण सकिएको हप्तादिनमै नाली भत्कियो, जनप्रतिनिधि र कर्मचारी बचाउमा उत्रिए

Advertisement

भैरहवा – रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७, बगौंलीमा लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण गरिएको नाली निर्माण पूरा भएको एक सातामै भत्किएको छ । पानी परेर जमेको हिलो सफा नगरी हतार–हतार निर्माण गरिएकाले नाली भत्किएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । यसरी भत्किएको नाली बुधबारसम्म उठाइएको छैन । गाउँपालिकाले नयाँ नाली निर्माणका लागि ईंटा झारेको छ ।

Advertisement

स्थानीयका अनुसार नालीको जग बलियो बनाइएको थिएन । निर्माण कार्य चलिरहेकै बेला वर्षा भएपछि निर्माणस्थलमा ठूलो मात्रामा हिलो थुप्रिएको थियो । प्राविधिक मापदण्ड विपरीत उक्त हिलोलाई राम्रोसँग सफा नगरी त्यसमाथि ईंटाबाट नालीको पर्खाल उठाइएकाले पूर्वतर्फको करिब एक सय मिटर पर्खाल जगैदेखि ढलेको हो । नालीको पर्खाल बीचबाट नटुक्रिएर सिधै जगैदेखि ढल्नुले जग निर्माणमा गम्भीर लापरबाही भएको स्थानीय योगेन्द्र जैसवालले बताए ।

यस ठाउँमा एकतर्फी मात्र नाली बनाइएको छ । उक्त नालीको निकास पनि छैन् । जताततै फोहोर र सडक निर्माण नभएकाले स्थानीयलाई आवतजावत गर्न समेत कठिनाई भइरहेको छ । लुम्बिनी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा निर्माण कार्य भइरहेको यस योजनाको प्रशासनिक तथा प्राविधिक प्रक्रिया गाउँपालिकाले पूरा गरेको थियो । मर्चवारीमाई गाउँपालिका–७ का वडाध्यक्ष गणेश चौधरी कुर्मीले भने निर्माण कार्यमा लापरबाही नभएको दाबी गरे । आफूले निर्माण कार्यको नियमित रेखदेख र अनुगमन गरिरहेको बताउँदै प्राकृतिक प्रकोप (अत्यधिक वर्षा) का कारण नाली भत्किन पुगेको उनले जिकिर गरे । ‘प्राकृतिक प्रकोपले भत्कियो यसमा मेरो के दोस छ,’ उनले भने, ‘प्रकृतिलाई मैले रोक्न सक्दिनँ ।’

निर्माण कार्यमा कमसल सामाग्री प्रयोग गरिएको भए पर्खाल बीचमै टुक्रिनुपर्ने गाउँपालिका र वडाको भनाई छ । ‘तर, निर्माण सामाग्री सही हुँदाहुँदै पनि लगातारको वर्षाका कारण जग मुनिको माटो बगेर पर्खाल ढलेको हो,’ वडाध्यक्ष कुर्मीले बचाउ गर्दै भने । लागत सानो भए पनि विकास निर्माणका योजनामा उपभोक्ता समिति वा ठेकेदार पक्षबाट हुने यस्ता लापरबाही र प्राकृतिक प्रकोपका नाममा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिका कारण सरकारी बजेट बालुवामा पानी खनाए जस्तै भएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । उनीहरूले भत्किएको नालीको तत्काल पुनःनिर्माण र छानबिनको माग समेत गरेका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहले नाली भत्किएपछि आफूले स्थलगत अनुगमन गरिसकेको जनाउँदै निर्माणका क्रममा के भएको भन्नेबारे जानकारी लिइरहेको बताइन् । अहिले पुनः नाली निर्माणको काम सुरु गर्न लागिएको बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपमन्यू त्रिपाठीले निर्माणका क्रममा वर्षा भएकाले नाली भत्किएको तर, निर्माणमा कमसल सामग्री प्रयोग नभएको जिकिर गरे । ‘त्यस्तो कमसल सामाग्री प्रयोग हुन्थ्यो भने पर्खाल टुक्रा–टुक्रा भइहाल्थ्यो,’ उनले भने, ‘यसमा लापरबाही भएको हैन । प्रकृतिले धोका दिएको हो ।’