June 30, 2026, Tuesday
२०८३ असार १७ बुधबार

स्थानीय उत्पादनलाई प्रोत्साहन हुने गरि बेसारको ब्रान्डिङ र बजारीकरण

Advertisement

गुल्मी–स्थानीय उत्पादनलाई प्रोत्साहन हुने गरि गुल्मीको मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ तथा बजारीकरण सुरु गरिएको छ ।

Advertisement

स्थानीय स्तरमै उद्यमशीलताको विकास र महिलाहरूको आर्थिक आत्मनिर्भरताका लागि मालिका गाउँपालिका–२ दर्लिङस्थित ‘दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारी संस्था’ ले व्यावसायिक रूपमा बेसार उत्पादन गरी ब्रान्डिङ सहितको बजारीकरण सुरु गरेको हो । यस सहकारीमा हाल गाउँपालिकाको वडा नं. १, २ र ३ का कृषक महिलाहरू आबद्ध रहेका छन् ।

मालिका गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा जनविकास केन्द्रद्वारा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ को प्राविधिक एवं संस्थागत सहजीकरणमा बेसार उत्पादन र बिक्री कार्यक्रम सञ्चालनमा छ ।

परियोजनाले बेसार प्रशोधनका लागि आवश्यक पर्ने आधुनिक मेसिन तथा अन्य उपकरणहरू सहयोग गरेपछि स्थानीय महिलाहरू बेसारको खेती तथा उत्पादनप्रति उत्साहित हुँदै उद्योग सञ्चालनमा जुटेका छन् । हाल उत्पादित शुद्ध बेसारको बजार मूल्य प्रतिकिलो ४ सय रुपैयाँ निर्धारण गरिएको परियोजना संयोजक बाबुराम पन्थीले जनाएका छन् । सहकारीले बेसारका साथसाथै स्थानीय स्तरमा पाइने रैथाने बाली र अन्य उत्पादनलाई समेत प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।

आगामी दिनमा आटो, पिठो लगायतका खाद्यान्न सामग्रीहरूलाई समेत आकर्षक प्याकेजिङ गरी बजारमा बिक्री वितरण गर्ने लक्ष्य सहकारीको छ । परियोजनाले मालिका गाउँपालिका भित्र कृषि तथा पशुसम्बन्धी उत्पादन र उत्पादकत्व वृद्धिका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएकोपनि संयोजक पन्थीले बताएका छन् ।