June 29, 2026, Monday
२०८३ असार १६ मंगलवार

मलेसियामा नेपालका कराँते खेलाडी होम गुरुङले जिते स्वर्णपदक

Advertisement

भैरहवा– मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्पयिनसीपमा नेपाली खेलाडीहरुले एक स्वर्ण, चार रजत र चार वटा काश्य पदक जित्न सफल भएका छन् । मलेसियाको पुत्र जया कराँते फेडरेसनले यही असारको १२, १३ र १४ गते टीटीवान्चा इन्डोर स्टेडियममा आयोजना गरेको २५ औँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाली खेलाडीले उक्त पदक जित्न सफल भएको तिलोत्तमा डोजोका प्रशिक्षक सन्तु दंगोरिया थारुले बताए ।

Advertisement

नेपालबाट सहभागी खेलाडी होम गुरुङले स्वर्णपदक जितेका छन् । उनले १ हजार २८० डलर पुरस्कार प्राप्त गरेका छन् । उनी कराँते क्लब काठमाडौँमा आबद्ध छन् । यस्तै, रुपन्देहीको तिलोत्तमाका अनिश थापा र प्रज्वल थापा, दाङका राजेश तामाङ र अबिन परियारले रजत पदक जित्न सफल भएका छन् ।

यस्तै, पश्चिम नवलपरासीका महेन्द्र थारु, कपिलवस्तुकी पिन्की चौधरी र तिलोत्तमाका सोहन सिंजाली, शुद्धोदनका इशान घिमिरेले काश्य पदक जितेका छन् ।

पाँचजना अफिसियल र १५ जना खेलाडीसहित २० जनाको नेपाली टीम उक्त प्रतियोगितामा सहभागिता जनाउन असार ११ गते मलेसिया पुगेको थियो । प्रतियोगितामा नेपालसहित १८ देशका कराँते खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।