June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

गैरकानूनी थुनामा राखिएको भन्दै विष्णु पौडेलकी पत्नीले सर्वोच्चमा दिइन् बन्दी प्रत्यक्षीकरणको रिट

Advertisement

भैरहवा- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरकानुनी भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। पौडेलकी पत्नी दोमायाले बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। यसको सुनुवाइ बिहीबार हुने भएको छ।

Advertisement

रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग, जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ।

सम्पत्ति शुद्धीकरणकै अनुसन्धानको क्रममा पुर्पक्षको लागि थुनामा रहेका दिपक भट्टको सेयर कारोबारमा उपाध्यक्ष पौडेललाई पनि जोडेर अनुसन्धानका लागि असार ८ गते प्रहरीले पक्राउ गरेको थियो।

विभागको पत्रपछि प्रहरीले उनलाई जरूरी पक्राउ पुर्जी दिएर मंगलबार बिहान भ्यानमा काठमाडौं ल्याएको हो। विशेष अदालतले मंगलबार ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ। रुपन्देहीको बुटवल निवासी पौडेल पूर्वअर्थमन्त्री समेत हुन् ।