June 20, 2026, Saturday
२०८३ असार ६ शनिबार

भैैरहवा बालगृह: गर्मीमा हावा खान र जाडोमा घाम ताप्नबाट बञ्चित बालकहरू

Advertisement

भैरहवा– बढीमा ५० जनासम्म राख्न सकिने क्षमताको भवनमा दोब्बर भन्दा धेरै राख्नु परेपछि भैरहवास्थित बाल सुधार गृहको अबस्था दयनीय छ । बाल सुधार गृहमा हुनु पर्ने मापदण्ड अनुरुपका पूर्वाधार नभएपछि त्यहाँ रहेका बालकहरु गर्मीमा हावा खान र जाडोमा घाम ताप्नदेखि समेत बञ्चित हुँदै आएका छन् । बालगृह सुधार गृह की यातना गृह ? त्यहाँ पुग्ने जो कसैले पनि प्रश्न गर्ने गर्छन् ।

Advertisement

बाल सुधार गृहको स्थापना गर्ने सरकारको निर्णयपछि सञ्चालनमा रहेको एउटा सरकारी कार्यालय भवनलाइ नै एकाएक बाल सुधार गृहमा रुपान्तरण गरिएको थियो । बाल सुधार गृहको भवन ‘बाल सुधार गृहको मापदण्ड’ अनुरुप डिजाइन र निर्माण भएको पूर्वाधार होइन । २०७५ भदौ अघिसम्मा यो भवनमा महिला तथा बालबालिका कार्यालय सञ्चालन थियो । यही भवनलाई नै बाल सुधार गृहमा रुपान्तरण गरिएको हो । सुधार गृहमा न खुल्ला ठाउँ छ । न त प्रर्याप्त सुत्ने स्थान, शौचालय, खाना खाने र पकाउने ठाउँ नै ।

बाल सुधार गृह भैरहवाका प्रमुख बोधराज आचार्यले सुधार गृहमा राखेर व्यवस्थापन गर्नु पर्ने बालक संख्याको तुलनामा भवन साँघुरो र पर्याप्त नहुँदा धेरै कठिनाइ हुने गरेको बताए । ‘सुधार गृहमा राख्नु पर्ने बालकको सँख्या धेरै हुन थालेपछि भवनको जतताततै मिलेजती स्थानमा स्थानमा राख्नु परेको छ’, आचार्यले भने, ‘क्षमता भन्दा धेरैजनालाई राख्नु पर्दा गर्मी याममा निकै समस्या हुने गरेको छ ।’

कम्पाउण्ड समेत २ कट्ठा ६ धुर क्षेत्रफलमा रहेको सुधार गृहमा खुल्ला ठाउँ छैन । थोरै क्षेत्रफलमा बनेको सानो भवन र अपर्याप्त जमिनमैं कार्यालय, सुरक्षाकर्मी बस्ने, बालकहरु बस्ने सुत्ने ठाउँ, भान्सा लगायत व्यवस्थापन गर्नु पर्दा सुधार गृह भद्रगोल अवस्थामा छ । सुधार गृहमा विद्यालय, न पुस्तकालय, न खेल्ने मैदान, केही छैनन् ।

बालकहरुलाई राख्ने स्थानको अभाव भएर महिला तथा बालवालिका हुँदाको अवस्थाको भवनको सुुरक्षागार्ड कक्षमा समेत राख्ने गरिएको छ । १ सय भन्दा धेरै भएमा एउटा बिस्तारामा कोचाकोच गरेर तीनजना र अन्य बेला दुईजना सुत्नु पर्छ । एकजनामात्रै सुत्न पाएको रेकर्ड छैन ।

बिगत ६ बर्षदेखि सुधार गुहमा रहेका परिवर्तित नाम ‘२०–२० क’ ले बाल सुधार गृहको भवन साँघुरो हुँदा गर्मीको वेला उकुसमुकुस हुने गरेको र विभिन्न संक्रामक रोगको जोखिम हुने गरेको सुनाए । ‘उसै त थुनिएर बस्नु परेको छ । त्यसमाथि साँघुरो भएकाले निसास्सिएर बस्नु पर्ने बाध्यता छ’, उनले भने, ‘धेरैजना हुँदा पकाउने, खाने, शौचालय जाने, सुत्ने लगायत सवैमा पालो लागेर लाइनमा लाग्नु पर्छ ।’

सुधार गृहमा पर्याप्त स्थान नभएकाले सुधार गृहमा रहेका बालकहरुलाई सीपमूलक तालिमहरु सञ्चालन गर्न नसकिएको आचार्यले बताए । उनका अनुसार, उनीहरुको जिविकोपार्जनमा सहयोग पुग्ने खालका सीपमूलक तालिमहरु सञ्चालन गर्न खोज्ने संस्थाहरु धेरै छन् । ‘हातमा सिप भएका पनि धेरै छन् तर काम गर्ने अवसर पाएका छैनन्’, आचार्यले भने, ‘क्रिकेट, भलिवल, ब्याडमिन्टन खेलका सामाग्री दिन्छन् तर खेलाउने ठाउँ छैन ।’

कानुनतः बाल विज्याइँ गरेका वा कानुनले विवादमा परेका बालबालिकालाई बाल सुधार गृहमा राखी निगरानी गर्नुपर्छ । यसो गर्दा उनीहरुको शैक्षिक, बौद्धिक र मनोवैज्ञानीक असर पर्न दिनु नहुने एवं पढ्ने, लेख्ने, खेल्ने र मनोरञ्जन गर्न पाउने अधिकार सुरक्षित गर्नुपर्ने बाल संरक्षण ऐनमा उल्लेख छ ।

भैरहवाको बाल सुधार गृह भने यातना गृह जस्तै रहेको भैरहवाका बरिष्ठ अधिबक्ता शिवप्रसाद गौंडेलले बताए । ‘कानुन बने पनि बालबालिकाको पक्षमा बोलिदिने कोही नहुँदा सुधारगृहभित्र कारागारमाभन्दा बढी यातना पाएका छन् । बाहिर निस्कन, पढ्न, खेल्न र रमाउन पाएकै छैनन् ।’ यस्तो गृहमा राख्दा बालबालिका सुधारिनु साटो अझ बढी अपराधिक मानसिकतामा पुग्न सक्ने उनले बताए ।

सरकारले एकजनालाई बालकलाई दैनिक उपलब्ध गराउने ७ सय ग्राम चामल र ८० रुपैयाँ नगदले उनहीरुको आनीबानी र आचारणमा सुधार ल्याएर सर्वाङ्गिण विकास हुन नसक्ने नेपाल बाल कल्याण संस्था, सिद्धार्थनगरका अध्यक्ष तथा बरिष्ठ अधिवक्ता धर्मबहादुर खड्का बताउँछन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)  लगायत मानव अधिकारबादी संस्थाहरुले बेला बेलामा गर्ने अध्ययनले पनि भैरहवामा रहेको बाल सुधार गृहमा बालकहरू आधारभूत बाल अधिकार उपभोगको अवस्था नाजुक रहेको र क्षमताभन्दा बढी बालक गृहमा बस्नु पर्दा उनीहरुको बसाइँ निकै कष्टकर रहेको औंंल्याउँदै आएका छन् ।