रुपन्देहीमा संगठित र आर्थिक अपराधको घटना उच्च


भैरहवा–रुपन्देही जिल्लामा गत जेठ महिनामा १ सय ८२ वटा विभिन्न अपराधका मुद्दा प्रहरी समक्ष दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको गत जेठ महिनाको तथ्याङ्क अनुसार जिल्लाभर विभिन्न प्रकृतिका कुल १ सय ८२ वटा अपराध सम्बन्धी मुद्दा दर्ता भएका छने । दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी संगठित तथा आर्थिक अपराध र सामाजिक अपराधका घटना छन् ।
प्रहरीको मासिक प्रतिवेदन अनुसार जेठ महिनामा मात्रै संगठित तथा आर्थिक अपराध अन्तर्गत ५९ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी, समाजमा हुने विभिन्न खालका सामाजिक अपराधका ५२ वटा मुद्दा दर्ता भएका छन् । जिल्लामा शान्ति सुरक्षाका दृष्टिकोणले निकै संवेदनशील मानिने ज्यान सम्बन्धी अपराधका २३ वटा मुद्दा दर्ता भएका छन् । आत्महत्याका १४ वटा घटना प्रहरीको अभिलेखमा छ ।
महिला तथा बालबालिका सम्बन्धी अपराध १३, सवारी सम्बन्धी १२, चोरी ९ वटा मुद्धा दर्ता भएका थिए ।
प्रकृतिका आधारमा हेर्दा, प्रहरीले यसलाई जघन्य÷गम्भीर, महिला तथा बालबालिका र आर्थिक गरी मुख्य तीन भागमा वर्गीकरण गरेको छ । १ सय ५४ वटा मुद्दा जघन्य तथा गम्भीर प्रकृतिका रहेका छन् । जसले जिल्लाको सुरक्षा चुनौतीलाई संकेत गर्दछ ।
कुल मुद्दामध्ये ७५ वटा मुद्दा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक अपराधसँग जोडिएका छन् । समाजमा महिला र बालबालिकामाथि हुने हिंसा र दुव्र्यवहारसँग सम्बन्धित १४ वटा मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा सूचना अधिकारी कृष्णकुमार चन्दले अपराध न्यूनीकरणका लागि प्रहरीले जिल्लाभर विशेष निगरानी र सचेतनाका कार्यक्रमहरू संचालन गरिरहेको बताए । आर्थिक प्रलोभन, सामाजिक सञ्जालको दुरुपयोग र घरायसी विवादका कारण अपराधका घटनाहरू बढिरहेकाले समुदायसँगको सहकार्यमा यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको भनाइ उनको छ ।








प्रतिकृया दिनुहोस्