पूर्वाग्रहका आधारमा अर्थमन्त्रीलाई दोषी घोषणा गर्नु विधिको शासनविपरीतः सांसद अग्रवाल


भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तथा प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको बचाउ गरेकी छन् । बीआईडी प्रकरणमा धेरै चर्चा र बहस भएका भए पनि आजसम्म अर्थमन्त्रीको प्रत्यक्ष संलग्नता पुष्टि गर्ने कुनै ठोस प्रमाण सार्वजनिक नभएको सांसद अग्रवालले दावी गरेकी छन् ।
सोमबार सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै सांसद अग्रवालले नेपाल कानुनको शासनमा चल्ने देश भएको र कुनै पनि व्यक्तिलाई आरोपका आधारमा होइन, प्रमाणका आधारमा दोषी वा निर्दोष ठहर गरिने जनाएकी छन् ।
‘बीवाईडी गाडी आयातको प्रक्रिया कुनै एक व्यक्तिको निर्णयबाट हुँदैन । विदेशबाट गाडी ल्याउन एलसी खोल्नुपर्छ, बैंकिङ प्रक्रिया पूरा गर्नुपर्छ, भन्सारमा घोषणा गर्नुपर्छ, मूल्यांकन हुन्छ, राजस्व निर्धारण हुन्छ र त्यसपछि मात्र गाडी छुट्छ । यसमा आयातकर्ता, बैंक, भन्सार प्रशासन तथा अन्य सम्बन्धित निकाय संलग्न हुन्छन् । अर्थमन्त्रीले व्यक्तिगत रूपमा कुनै गाडीको भन्सार जाँच गर्ने वा क्लियरेन्स दिने काम गर्दैनन्’, उनले लेखेकी छन् ।
बजेट आउनुअघि व्यवसायीहरूले सम्भावित कर परिवर्तनको अनुमान गरी सामान आयात गर्नु अन्तर्राष्ट्रिय रूपमा पनि सामान्य व्यापारिक अभ्यास भएको उनले स्मरण गराएकी छन् । ‘कसैले बजेटअघि धेरै गाडी आयात गर्यो भन्ने आधारमा मात्र गोप्य सूचना चुहावट भएको निष्कर्ष निकाल्न मिल्दैन । त्यस्तो आरोप प्रमाणबाट पुष्टि हुनुपर्छ’, उनले भनेकी छन् । अर्थमन्त्री वाग्लेलाई बीवाईडी गाडी आयातमा सूचना चुहाएको र करका दर हेरफेर गरेको आरोप लाग्दै आएको छ ।
तर, सांसद अग्रवालले अर्थमन्त्रीको बचाउ गर्दै केही प्रक्रियागत कुराहरु पनि सम्झाएकी छन् । ‘सरकारले यस विषयमा छानबिन प्रक्रिया अघि बढाइसकेको छ । यदि कुनै कर्मचारी, व्यवसायी वा अन्य व्यक्ति दोषी देखिन्छ भने कानुनअनुसार कारबाही हुनुपर्छ । तर अनुसन्धान पूरा नहुँदै राजनीतिक पूर्वाग्रहका आधारमा अर्थमन्त्रीलाई दोषी घोषणा गर्नु न्याय, विधिको शासन र लोकतान्त्रिक मूल्यविपरीत हुन्छ’, उनले भनेकी छन् ।
उनले सबैमा आग्रह गर्दै भनेकी छन्, ‘आरोपलाई होइन, तथ्यलाई हेरौं; हल्लालाई होइन, प्रमाणलाई आधार बनाऔं; र अनुसन्धानको निष्कर्ष आउन दिऔं । सत्य जे हुन्छ, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ ।’








प्रतिकृया दिनुहोस्