विद्यार्थीको मुटु जाँच्दै गुल्मीका पालिका


गुल्मी– आफ्नो पालिका भित्रका विद्यार्थीको स्वास्थ्यबारे ख्याल राख्नु जनप्रतिनिधिको दायित्व हो । कलिला बालबालिकालाई भविष्यमा कुनै दीर्घरोग लाग्न नदिन सतर्कता अपनाउनु सराहनीय काम हो । यस्तै नमुना काम गरिरहेको छ गुल्मीको छत्रकोट गाउँपालिका । पालिकाले अहिले गाउँपालिका अन्तर्गतका विद्यार्थीको मुटु परीक्षण गरिरहेको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्लाको संयोजन तथा गाउँपालिकाको आयोजनामा ४० विद्यालयका ४ हजार १ सय ९६ विद्यार्थीको मुटु परीक्षण गरिने भएको हो । स्थानीय सरस्वती माध्यमिक विद्यालयबाट यसको गरिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ सुमनता बन्जाडे र प्रदीप पाण्डेको नेतृत्वमा मुटु परीक्षण भइरहेको छ ।
आवश्यक परेका विद्यार्थीको इकोकार्डियोग्राफी मार्फत परीक्षण गरिने प्रतिष्ठानका जिल्ला अध्यक्ष ताराप्रसाद भुसालले जनाए । उनका अनुसार परीक्षणका क्रममा मुटुरोग भएका विद्यार्थी भेटिएमा उनीहरूको आवश्यक उपचार व्यवस्थापनमा प्रतिष्ठानले सहजीकरण गर्ने छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गाउँपालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको बताए । मुटुरोगको समयमै पहिचान र उपचारका लागि यस्तो अभियान प्रभावकारी र उपलब्धिमूलक भएको उनले उल्लेख गरे ।
दुई साताअघि गुल्मीदरबार गाउँपालिकामा पनि यस्तै कार्यक्रम सञ्चालन गरिएको थियो । ३ हजार ९५० विद्यार्थीको मुटु परीक्षण गर्दा १० जना विद्यार्थीमा मुटुसम्बन्धी समस्या पहिचान भएको वरिष्ठ मुटुरोग विशेषज्ञ बन्जाडेले जानकारी दिए । तीमध्ये ८ जनाले औषधि उपचार सुरु गरेका छन् भने २ जनालाई थप उपचारका लागि काठमाडौं पठाउने व्यवस्था मिलाइएको उनले बताए ।
प्रतिष्ठानका केन्द्रीय सदस्य अखिलेश्वरप्रसाद पाण्डेले बालबालिकामा मुटुरोगको प्रारम्भिक चरणमै पहिचान हुन सके उपचार सहज हुने बताए । उनले नेपाल सरकारबाट समेत उपचारको व्यवस्था हुने भएकाले यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताए ।








प्रतिकृया दिनुहोस्