जहाँ सडक बत्ती फ्युज थियो, त्यही एम्बुलेन्सले गाईलाई ठक्कर दियो, अनि मर्यो गाई


भैरहवा– भैरहवाका मुख्य मार्गमा सडक बत्ती बल्न छाडेको महिनौं भयो । तर, फ्युज भएका त्यस्ता बत्ती पुनः जडान नगरिँदा दुर्घटनाको जोखिम बढेको छ । बुधबार साँझ मात्रै नयाँ सडकमा बत्ती बल्न छाडेकै ठाउँमा एम्बुलेन्सले गाईलाई ठक्कर दियो ।
ठक्करबाट गाई मरेको छ । सिद्धार्थनगर नगरपालिकाले छाडा चौपायाको उचित व्यवस्थापन गर्न सकेको छैन । यसले दुर्घटनाका घटना बढ्न थालेका छन् । साँझको करिब ८ बजे एम्बुलेन्सको ठक्करबाट सिद्धार्थ राजमार्गको नयाँ सडकमा गाई मरेको हो ।
घटनास्थलमा सडक बत्ती नहुनु र सोही ठाउँमा छाडा चौपायालाई एम्बुलेन्सले ठक्कर दिनु संयोग हुनसक्छ । तर, पालिकाले बत्ती जडान र चौपया व्यवस्थापनमा भने प्रभावकारी काम गर्न सकेको छैन ।
स्थानीयका अनुसार झमक्क रात परेको समयमा घटनास्थल आसपसकोसडक पूर्ण रूपमा अन्धकार थियो । सडकमा पोलहरु जडान गरिए पनि अधिकांश स्थानमा बत्ती नबल्ने समस्या छ ।
स्थानीयका अनुसार नगरपालिकाको हेलचेक्र्याइँ कारण यस्ता घटना दोहोरिन थालेका हुन् । विगतमा पनि यस्ता घटना भएका थुप्रै उदाहरण छन् । सडकमा बत्ती नहुँदा अन्धकार भएको र त्यसैकारण गाईलाई एम्बुलेन्सले ठक्कर दिँदा दुर्घटनामा भएको उनीहरुको भनाइ छ । नगरपालिकाले यसअघि छाडा चौपाया व्यवस्थापनका लागि लाखौं रुपैयाँ खर्च गरेको दाबी गरे पनि प्रभावकारी व्यवस्थापन भने हुनसकेको छैन ।
भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, भैरहवाका पशु चिकित्सक डा. सुमन बन्जाडेले बिहान ७ बजे मरेको उक्त गाईको पोस्टमार्टम गरिएको जानकारी दिए । उनका अनुसार गाईको पेट बाहिर निस्किएको थियो भने भित्री अंग तथा डायाफ्राम च्यातिएको अवस्थामा भेटिएको थियो । जसले गर्दा गाईलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएकाले घटनास्थलमै मरेको उनले बताए ।
नगर प्रमुख इस्तियाक अहमद खानले वडा नम्बर ११ मा छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माणको काम भइरहेको जानकारी दिए । उनका अनुसार छाडा चौपायाका लागि बस्ने ठाउँ तथा पराल र घाँस राख्ने संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । अबको एक महिनाभित्र गौशाला उद्घाटन गरी छाडा चौपायाको व्यवस्थापन गरिने उनले बताए । यस्तै बल्न छाडेका सडक बत्ती पनि छिट्टै मर्मतको काम हुने उनको भनाई छ ।
रातिको समयमा छाडा चौपाया जहाँतहीं सडक देखिन्छन् । मुख्य राजमार्गका तिव्र गतिमा कुद्न सवारीले यस्ता चौपायालाई ठक्कर दिने गरेका जसले गर्दा पटकपटक दुर्घटना दोहोरिने गरेको छ ।








लेखकको सम्वन्धमा