July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

नरपानीका रिसोर्टमा मनपरि मूल्य

Advertisement

अर्घाखाँची– धार्मिक पर्यटकीय गन्तव्य नरपानीस्थित होटल र रिसोर्टले पाहुनाबाट मनपरि मूल्य अशुल्ने गरेको पाइएको छ । गर्मीयाममा नेपाली र भारतीय पर्यटकको भीड लाग्ने नरपानीमा होटलका कोठा र खानामा मनपरि मूल्य तय गरिएको छ । सुपादेउरानी मन्दिर दर्शनका लागि जाने पर्यटक नरपानीमा बास बस्ने गरेका छन् ।

Advertisement

यहाँ आउने पर्यटकका अनुसार कोठाको मूल्य हेरिहेरि भए पनि खानामा मनपरि भइरहेको छ । चितवनको कालिका–४ बाट मन्दिर दर्शन गर्न आएका केदार मिश्राका अनुसार नरपानी–सुपा देउराली रिसोर्टले एउटा कुखुराको भालेको पाँच हजार रुपैयाँ मूल्य तोकेका बताए ।

‘एउटा डेढ किलो लोकल कुखुराको ५ हजार रुपैयाँ मूल्य सुनेर छक्क परेँ,’ उनले भने, ‘अहिलेसम्म यति मूल्य लिएको थाहा थिएन ।’ नरपानी नयाँ गन्तव्य भएकाले यहाँ आवास र खानाको मूल्य तय गरिएको छैन । होटल र रिसोर्टले अनुकुलता हेरी मूल्य निर्धारण गर्दै आएका छन् । यी रिसोर्टले नरपानी, खाँचीकोट लगायत गाउँबाट सस्तोमा कुकुरा खरिद गरेर रिसोर्टमा ल्याएपछि लोकल चिकनको रुपमा दुई–तीन परिकार बनाएर मनपरी रकम असुल्ने गरेको हुन् ।

‘लोकल भनेर कोइलर कुखुरा बेच्ने गरिएको छ,’ मिश्रले भने, ‘बजारको मसला प्रयोग गरेर परिकार बनाउँदा स्वाद मन मरेन ।’ चारैतिर हरियाली मनोरम दृश्य र चिसो मौसमका कारण गर्मी छल्न पर्यटक नरपानी आउँछन् । यहाँ बाह्रैंमास जाडो हुन्छ । यहाँका रिसोर्टले दाउरा बालेर आगो तापेको पनि ५ सय रुपैयाँ शुल्क लिने गरेका छन् ।

नरपानी–सुपा देउरानी रिसोर्टका व्यवस्थापक गोपाल पौडेलले गाउँमा उत्पादित वस्तु खरिद गरिएको र मेहनत गरेर पकाउने गरिएकाले परिकार अनुसारको मूय अशुल्ने गरिएको बताए । ‘लोकल कुखुराको दुई–तीन आइटम बनाउँछौं,’ उनले भने, ‘हामीले ३ हजार देखि ५ हजार रुपैयाँ शुल्क लिन्छौं । कुखुराको तौल अनुसार मूल्य निर्धारण हुन्छ, दुई–अढाई किलो तौलको भाले रहेछ भने त परिकार बनाएर पाहुनालाई खुवाएको ५ हजार रुपैयाँ मूल्य लिन्छौं ।’ गाउँ चाहरेर हुर्किएका स्थानीय कुखुराको परिकार बनाएपछि मेहनत अनुसारको रकम लिने गरेको उनको भनाई छ ।

तर, आसपासका गाउँमा किसानले कुखुराको भालेलाई ८ सय देखि १८ सय रुपैयाँसम्म बिक्री गर्छन् । एउटा कुखुराको तौल बढीमा दुई किलोसम्म हुन्छ । सुपादेउराली मन्दिर व्यवस्थापन समितिले वर्षमा १० लाख पर्यटक आउने गरेको तथ्यांक सार्वजनिक गरेको छ । सुपादेउरालीदेखि दुई किलोमिटरको दूरीमा रहेको नरपानी छ । यहाँ नर्तनाञ्चल पर्वतका दुई अग्ला हरियाली पहाड छन् । गर्मी छल्न नरपानीमा बास बस्ने पर्यटक पछिल्लो सयम बढ्दो छ । सुरुमा खोलिएको सो रिसोर्टमा बास बस्नेको लर्काे हुन्थ्यो । यस क्षेत्रमा रिसोर्ट, होटल खुल्नेक्रम बढ्दो छ ।

सहायक प्रमुख जिल्ला अधिकारी झविन्द्र भट्टराईले अहिलेसम्म नरपानीका रिसोर्टमा अनुगमन नगरेको बताए । ‘पर्यटकीय ठाउँको रिसोर्ट भयो, गुनासो पनि आएको छैन,’ उनले भने, ‘हामी अनुगमन गर्न गएका पनि छैनौं ।’ सदरमुकाम र गाउँका साना पसल तथा होटलमा बारम्बार अनुगमन गरे पनि ठूलो होटल र पसलमा प्रशासनले अनुगनमा चासो नदेखाएको सेवाग्रहीको गुनासो छ । रिसोर्टमा विभिन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख सहितको सरकारी टोली सहभागी हुने गरे पनि खानाको परिकार, गुणस्तरीय खाद्यवस्तु, तरकारी, सरसफाई, दररेट जस्ता विषयमा अनुगमन गरेका छैनन् । यसरी अनुगमन नगर्दा रिसोर्टले मूल्यमा मनपरी गर्दै आएको छ ।