July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

पंचकन्या रूपन्देही सुपरलिगः तिरुपति ४ विकेटले विजयी

Advertisement

भैरहवा- ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको शुक्रबारको खेलमा तिरुपति क्रिकेट क्लब विजयी भएको छ । तिरुपतिले न्यु होराइजन स्पोटर्स क्लबलाई ४ विकेटले हराउँदै जित हात पारेको हो ।

Advertisement

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले निर्धारित ५० ओभरमा २२ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर ७६ रनको झिनो योगफल खडा गर्यो । उसका लागि निर्मल गुरुङले २९ र विप्रसन केसीले १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न तिरुपतिका अपराजित पौडेल र मोहम्मद हुसेनले ३–३ तथा तुलबहादुर थापाले २ र आकाश त्रिपाठीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिरुपतिले १४ ओभर १ बलमा ६ विकेट गुमाएर ७९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा विजय प्रजापतिले २४, तुलबहादुर थापाले अविजित २० र सन्दीप मौर्यले १४ रन बनाए । बलिङमा न्यु होराइजनका निर्मल गुरुङले २ तथा अमर मिश्रा, विप्रसन केसी र महेश भरले समान १–१ विकेट लिए । खेलमा मोहम्मद हुसेन प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले बताए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।