July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

श्रम संस्कृति पार्टीमा प्रवेश गरे पूर्वमन्त्री सुदन किराती, वरिष्ठ नेता बन्ने

Advertisement

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आवद्ध भएका छन्। लामो समयको छलफल र राजनीतिक रस्साकस्सीपछि किरातीले आफ्नो समूहसहित श्रम संस्कृति पार्टीसँग एकता गर्ने निर्णय गरेका हुन्।

Advertisement

यसअघि प्रगतीशिल लोकतान्त्रिक पार्टीमा सक्रिय रहेका किरातीले केही समयअघि मात्रै सो पार्टी परित्याग गरेका थिए। दुई पक्षबीच भएको सहमति अनुसार, सुदन किरातीलाई श्रम संस्कृति पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइने भएको छ।

एकता प्रक्रियामा किरातीको टिमबाट एक उपाध्यक्ष, एक सचिव र १५ जनालाई केन्द्रीय सदस्य बनाउने तयारी गरिएको बुझिएको छ। बिहीबार राति ललितपुरमा भएको अन्तिम छलफलले यो राजनीतिक समीकरणलाई टुंगो लगाएको हो।

यसअघि माओवादी केन्द्रमा रहेका किराती, पार्टी विभाजन र नयाँ ध्रुवीकरणका क्रममा विभिन्न समूहमा सक्रिय रहँदै आएका थिए। गत निर्वाचनमा समेत उनले श्रम संस्कृति पार्टीका उम्मेदवारहरूलाई अनौपचारिक रूपमा सहयोग गरेका थिए, जसले गर्दा उनी सोही पार्टीमा प्रवेश गर्ने अड्कलबाजी पहिलेदेखि नै हुँदै आएको थियो।

पार्टी एकताको औपचारिक घोषणा आजै काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा एक विशेष पत्रकार सम्मेलनमार्फत गरिँदैछ। धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको यो पार्टीले ‘श्रम संस्कृति’लाई मुख्य एजेण्डा बनाउँदै आएको छ।