July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगमैत्री नीति ल्याउँछौँः सांसद खरेल

Advertisement

बुटवल– उद्योगी–व्यवसायीहरूले आफूहरुले भोगिरहेका विविध समस्याहरू समाधानका लागि नीतिगत स्पष्टता र सहजीकरणको माग गरेका छन् । रूपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलसँगको रूपन्देही उद्योग संघले आयोजना गरेको स्वागत तथा परिचय कार्यक्रममा उद्योगीहरूले कर प्रणालीदेखि औद्योगिक पूर्वाधार, उत्पादन प्रवद्र्धन र कानुनी जटिलतासम्मका विषयमा ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षता तथा महासचिव सुमन बस्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष पराजुलीले औद्योगिक क्षेत्रका संरचनात्मक समस्याहरू प्रस्तुत गरे । उनले बुटवल औद्योगिक क्षेत्र र मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनमा आउन नसकेको, उद्योग स्थापना गर्न उपयुक्त जग्गाको मूल्य अत्यधिक बढेको तथा उद्योगीहरूलाई कर तिर्नुपर्ने निकाय धेरै हुँदा व्यवसाय सञ्चालन जटिल बन्दै गएको बताए ।

उनले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र सञ्चालनमा समेत समस्या रहेको उल्लेख गर्दै उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ‘अहिलेकै अवस्थामा बुटवल धागो कारखाना सञ्चालन सम्भव छैन, नयाँ प्रविधिसहितको प्लान्ट आवश्यक छ,’ उनले भने । साथै, बिटिआईलाई प्राविधिक कलेजका रूपमा विकास गर्नुपर्ने सुझाव दिए ।

भैरहवास्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्म भारतबाट रेल सेवा विस्तार गर्न पहल गर्नुपर्ने उल्लेख गर्दै उनले यसले ओभरलोड समस्या समाधानमा ठूलो राहत पुग्ने बताए । स्वदेशी उत्पादन प्रयोगसम्बन्धी निर्देशिका प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै त्यसमा कडाइ गर्नुपर्ने मा उनले जोड दिए ।

कार्यक्रममा सल्लाहकार तथा ढुवानी व्यवसायी माधव नेपालले ढुवानीग्राम निर्माण अधुरो रहेको गुनासो गरे । ‘देशकै नमुना योजना भए पनि बजेट विनियोजन हुँदाहुँदै पूर्ण हुन सकेन,’, उनले भने । ढुवानी सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएकोप्रति असन्तुष्टि जनाउँदै उनले त्यसलाई हटाउनुपर्ने माग गरे ।

रोडा ढुंगा तथा क्रसर उद्योग संघ रूपन्देहीका अध्यक्ष गोविन्द भुसालले जिल्लामा रहेका २० वटा क्रसर उद्योगहरु १२ वर्षदेखि नवीकरण हुन नसकेको अवस्था रहेको जानकारी दिए । कर र भ्याट तिरिरहे पनि नवीकरण नहुँदा उद्योग सञ्चालन अन्योल रहेकाले क्रसरको समस्या दिर्घकालिन रुपमा समाधान हुनुपर्नेमा जोड दिए ।

ईंट्टा उद्योगी गोकर्ण खड्काले कच्चा पदार्थ अभावमा इट्टा उद्योग सञ्चालनको मुख्य चुनौती भएको बताए । त्यस्तै, संघका पूर्वअध्यक्ष माधव पौडेलले स्वदेशी उद्योग संरक्षणका लागि स्पष्ट नीति आवश्यक रहेको औँल्याए । ‘स्वदेशी काठ प्रयोग गर्न सकिए आयात घट्छ र उद्योगीलाई राहत मिल्छ,’ उनले भने । सरकारी कार्यालयहरूलाई प्रविधिमैत्री बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

महासचिव सुमन बस्यालले फुल बिलिङ प्रणाली कार्यान्वयनमा देखिएका समस्याहरू समाधान गर्नुपर्ने र चेक बाउन्ससम्बन्धी कानुन पनि कडा बनाउन आवश्यक रहेको बताए । नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाबुराम बोहोराले नयाँ सरकारको उद्योग नीतिबारे स्पष्टता आवश्यक रहेको जनाए । परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले उद्योग क्षेत्रमा देखिएका विकृतिहरू हटाउन रणनीतिक हस्तक्षेप आवश्यक रहेको धारणा राखे । उद्योगलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

उनले मुटु अस्पतालका प्रतिनिधिले ठूलो लगानी हुँदाहुँदै पनि भाडा तिरेर समेत जग्गा प्राप्त गर्न नसकेको समस्या सुनाए । साथै, अन्तःशुल्क नीति असन्तुलित रूपमा लागु भएको भन्दै अन्त शुल्क व्यवस्थित गर्नुपर्नेमा जोड दिए । संघका पूर्वअध्यक्ष महेन्द्रनारायण श्रेष्ठले बुटवललाई दोस्रो राजधानीका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याए ।

कार्यक्रममा बोल्दै सांसद सुलभ खरेलले वर्तमान सरकार सुशासनमा केन्द्रित रहेको बताउँदै उद्योग क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । ‘यो सुधारको वर्ष हो, कानुनी जटिलता हटाउँदै उद्योगमैत्री वातावरण बनाउन लागिपरेका छौँ,’ उनले भने ।

उनले वन, पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न पहल भइरहेको जानकारी दिए । ‘सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रसँग सहकार्य गर्नेछ’, उनले भने ।

उनले उद्योगीहरूले उठाएका कर, नीतिगत अस्पष्टता र पूर्वाधारसम्बन्धी समस्याबारे अर्थमन्त्री र उद्योगमन्त्रीको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए । ‘करका दायरामा केही सुधार हुने विश्वास दिलाउन चाहन्छु,’ उनले भने, ‘विज्ञ अर्थमन्त्री भएकाले निजी क्षेत्रका अपेक्षा सम्बोधन हुने अपेक्षा गरिएको छ ।’

कार्यक्रममा सहभागी उद्योगीहरूले समग्रमा उद्योग क्षेत्रलाई प्रोत्साहन गर्ने स्पष्ट नीति, कर संरचनामा सहजीकरण, पूर्वाधार विकास र स्वदेशी उत्पादन प्रवद्र्धनका लागि सरकारको ठोस पहल आवश्यक रहेको जोड दिएका थिए । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष हरि बहादुर खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।