August 24, 2026, Monday
२०८३ भाद्र ८ सोमबार

लुम्बिनीमा थन्किएकोमध्ये एउटा बिद्युतीय बस नेपालगन्ज बिमानस्थलबाट सञ्चालन

Advertisement

भैरहवा–वर्षौँदेखि लुम्बिनी विकास कोषको प्राङ्गणमा अलपत्र अवस्थामा रहेका विद्युतीय बसहरूमध्ये एउटा बसलाई मंगलवारदेखि हवाइयात्रुको सहजताकालागि निःशुल्क रुपमा नेपालगन्ज विमानस्थलबाट सञ्चालनमा ल्याइएको छ ।

Advertisement

एसियाली विकास बैंकको अनुदान सहयोगमा करिब पाँच वर्षअघि भित्राइएका यी अत्याधुनिक बसहरू उचित व्यवस्थापनको अभावमा लामो समयदेखि लुम्बिनीमा थन्किएका थिए । लुम्बिनीमा आउने पर्यटकलाई पर्यटकको सहजता र वातावरणमैत्री यातायातलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ लुम्बिनीमा उपलब्ध गराइएका ती बसहरूलाई देशका विभिन्न प्रमुख विमानस्थलहरूमा सञ्चालन गर्ने सरकारी निर्णयबमोजिम नेपालगन्ज विमानस्थलमा एउटा बस सेवा सुरु गरिएको हो ।

हवाई यात्रुलाई विमानस्थलसम्म आवत–जावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्जस्थित राँझा विमानस्थलबाट मङ्गलबारदेखि निःशुल्क रुपमा बस सेवा सञ्चालनमा ल्याइएको हो । नेपालगन्ज विमानस्थल कार्यालयका सन्तोष पोखरेलले विमानस्थल परिसरदेखि करिब डेढ किलोमिटर दूरीमा रहेको राँझा चोकसम्म यात्रुलाई ओसार–पसार गर्न मङ्गलबार बिहानदेखि निःशुल्क बस सेवा सुरु गरिएको बताए । उनका अनुसार, यो बस लुम्बिनीमा थन्किएकामध्येको एक हो । राँझा चोकबाट विमानस्थलमा आउने तथा त्यहाँबाट प्रस्थान गर्ने यात्रुलाई उक्त बसले नियमित रूपमा सेवा दिने जनाइएको छ ।

बसहरू सञ्चालनका लागि आवश्यक कार्यविधि नबन्दा र व्यवस्थापकीय कमजोरीका कारण लुम्बिनीमा लामो समयसम्म प्रयोगविहीन अवस्थामा थिए । प्रधानमन्त्री कार्यालयको निर्देशनमा गत चैत महिनामा केही दिन लुम्बिनी क्षेत्रमा परीक्षणका रूपमा सञ्चालन गरिए पनि दिगो सञ्चालन मोडेल नहुँदा ती गाडी पुनः थन्किएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुसार लुम्बिनीमा अलपत्र बसहरूलाई पोखरा, सुर्खेत, धनगढी र नेपालगन्ज विमानस्थलमा एउटा एउटा उपलब्ध गराइ सञ्चालन गर्ने योजना अगाडि बढाइएको हो ।