राजस्व चुहावट नियन्त्रण गर्न करको दर कम गरेर दायरा बढाउन सुझाव


भैरहवा– खुल्ला सिमानाका कारण भन्सार छलेर हुने राजस्व चुहावट नियन्त्रण गर्न करको दर कम गर्नु पर्ने सुझाव भैरहवा क्षेत्रका व्यवसायीको छ । भारतसंगको खुल्ला सिमानालाई नियन्त्रण गर्न नसक्दा भारतबाट भन्सार नगरि व्यवसायीक प्रयोजनकै लागि ठूलो परिमाणमा तस्करीको माध्यमबाट मालसामान भित्रिने गरेको छ ।
सुरक्षा र प्रशासनिक निकायको मिलोमतो बिना संगठित रुपमा तस्करी हुन संभव नहुने दावी पनि व्यवसायीले गरेका छन् । भारतबाट आयात हुने मालबस्तुको कर धेरै हुंदा अवैध कारोवारले प्रोत्साहित हुने मौका पाउने गरेको र यसबाट ठूलो परिमाणमा राजस्व चुहावट हुने गरेको भनाइ व्यवसायीको छ
राजस्व चुहावट सम्बन्धि सिद्धार्थ उद्योग वाणिज्य संघमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीले भारतबाट आयात गरिने बस्तुमा निर्धारण गरिएको कर उच्च हुंदा नेपालमा त्यसखालका बस्तुको मूल्य धेरै महंगो पर्ने भएपछि तस्करी भइ राजस्व चुहावट हुने गरेको उनीहरुले बताए ।
उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठले राजस्व चुहावट नियन्त्रण गर्न भन्सार लगायत्का करको दर कम गर्नु पर्ने बताए । ‘भन्सार गर्दा लगाइने विभिन्न करका कारण त्यस बस्तुको मूल्य नेपाल र भारतीय बजारमा धेरै फरक नपर्ने गरि निर्धारण गरिनु पर्छ’ श्रेष्ठले भने, ‘राजस्व चुहावट कम गरि बढी राजस्व असुली गर्न करको दर घटाएर करको दायरा बढाइनु पर्छ ।’ करको दायरा बढाउन निजी क्षेत्रले सरकारलाई सघाएर सहकार्य गर्न तयार रहेको उनले बताए । सुरक्षा निकायको सहमती बिना एउटा चकलेटपनि बिना भन्सार छिर्न नसक्ने दाबी उनले गरे ।
भन्सारमा करको दर कम भएमा अवैध कारोवार गर्नेले राजस्व तिर्न अप्ठरो पनि नमान्ने र करमा लाग्ने थोरै रकम जोगाएर अवैध आयात गर्दा पुरै सामान बरामद हुने खतरा मोल्न तयार नहुने तर्क व्यवसायीले राखे । कि त सरकारले यसका लागि भारतसंगको पुरै खुल्ला सिमाना पूर्ण रुपमा नियन्त्रण गर्न सक्नु पर्ने सुझाव उनीहरुको थियो । पुरै खुल्ला सिमाना पूर्ण रुपमा नियन्त्रण गर्न बिद्यमान अवस्थामा संभव नभएको दाबी उनीहरुले गरे ।
सिद्धार्थ चामल उद्योग भलवारीका सञ्चालक चन्द्रमान श्रेष्ठले भन्सार दर समायोजन गर्न जरुरी रहेको बताए । ‘कुनै बस्तु नेपालमा आयात गर्नका लागि हतोत्साहित गर्न परेमा बल्ल त्यस बस्तुको आयातमा उच्च कर लगाउने हो’ उनले भने, ‘अन्यथा मूल भन्सार नाकाहरुमा कडाइ त होला तर यति धेरै लामो खुल्ला सिमाना पूर्ण नियन्त्रण गर्न कसरी संभव छ र ? ।’ उनले नेपालमा राजस्व उठाउने नापी, यातायात, ट्राफिक, मालपोत लगायत्का धेरै कार्यालय भएको तर सेवाप्रवाह र सुशासनमा कम्जोर रहेको उनले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिष्णु शर्माले भन्सार तिरेर बैध कारोवार गर्नु पर्दा दर्जनौं निकायसंग समन्वय गर्नु पर्ने झन्झट हुने तर तस्करले भन्सार नगरि सिधै मालसामान छिराउने गरेको बताए । ‘भन्सार तथ्याकंमा तैयारी पोशाकको आयात भएको देखिदैन, तर बजार भरि बिदेशी कपडा छन्’ शर्माले भने ।
संघका बरिष्ठ उपाध्यक्ष दिलीप कान्दुले सुरक्षा निकायकै मिलोमतो तथा सांठगांठ बाट तस्करी हुने गरेको तथ्यलाई कसैलेपनि नकार्न नसक्ने बताए ।
भन्सार विभागका उपमहानिर्देशक भरतमणि पाण्डेको संयोजकत्वमा राजश्व अनुशन्धान बिभाग, आन्तरिक राजश्व कार्यालय बिभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रतिनिधि सहितको टोलीले आव २०८३÷०८४ का लागि तयार पारिने बजेटवारे स्थानिय व्यवसायीको सुुझाव संकलन गरेको हो ।
सिमेन्ट तथा खाद्य व्यवसायी ऋषीकेश अग्रवालले बढि राजस्व चुहावट हुने गरेको बस्तु पत्ता लगाइ त्यही अनुरुपको नीति बनाउनु पर्ने बताए । कायम गरिएको करका कारण जति धेरै मूल्यमा फरक पर्छ उतिनै सिमावर्ती क्षेत्रबाट तस्करी हुने संभावना धेरै हुने सुझाव उनको थियो ।








प्रतिकृया दिनुहोस्