पाल्पाका सरकारी अस्पतालहरुमा रेविजबिरुद्धको खोप अभाव


पाल्पा–एन्टी रेविजको भ्याक्सिन निःशुल्क रुपमा सेवाग्राहीलाई उपलब्ध गराउने सरकारी नीति भएपनि पाल्पाका सरकारी अस्पतालहरूमा महिनौं दिनदेखि रेविजविरुद्धको खोप उललब्ध छैन ।
रेविजविरुद्धको खोप लगाउन सरकारी अस्पतालहरुमा धाएका बिरामी तथा सेवाग्राही रितै फर्किनु परेको छ । सेवाग्राही निजी स्वास्थ्य संस्थामा पैसा तिरेर खोप लगाउन बाध्य छन् ।
पछिल्लो समय कुकुरको टोकाइबाट पिडीतको संख्या बढेपनि रेविजविरुद्धको खोप नहुँदा बिरामी फर्काउन बाध्य भएको पाल्पा अस्पतालले जनाएको छ । पाल्पा अस्पतालका लागि आएको २ सय रेविजविरुद्धको खोप सकिएपछि बिरामीलाई सेवा दिन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेलले जनाए । उनका अनुसार, अस्पताललाई प्राप्त हुने कोटा भन्दा धेरै परिमाणमा खोप आएपनि बिरामी धेरै भएकाले अपुग हुन थालेको हो ।
सरकारी अस्पतालमा रेविजविरुद्धको खोप नपाउँदा कुकुरको टोकाइबाट घाइते भएका बिरामी निजी स्वास्थ्य संस्थामा पुगेका छन् । दुई महिनादेखि नै पाल्पाका सरकारी अस्पतालहरूमा रेविजविरुद्धको खोप अभाव हुन थालेको हो । रेविज बिरुद्धको खोप नहुँदा सरकारी अस्पतालबाट दैनिक ५ जना भन्दा बढी बिरामी फर्किने गरेका छन् ।
लुम्विनी प्रदेश सरकारले रेविजविरुद्धको खोप संघीय सरकारबाट उपलब्ध नभएको भन्दै जिल्लास्थित सबै अस्पताललाई खोप खरिद गरेर सेवा सुचारु गर्न अनुरोध गरेको छ । मन्त्रालयका अनुसार, केन्द्रबाट खोप प्राप्त नहुँदा प्रदेशभरका सरकारी अस्पतालहरूमा रेविजविरुद्धको खोप अभाव छ ।








प्रतिकृया दिनुहोस्