July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

कर्मचारीको बद्मासीः मदिरा खान जाँदा सरकारी मोटरसाइकल प्रयोग

Advertisement

भैरहवा – सरकारी सुविधा मिल्यो भन्दैमा जतिखेरै दुरुपयोग गर्न मिल्छ ? पक्कै मिल्दैन । झन अहिले सरकारले शुसानका लागि पहल गरिरहेको छ । यस्तो बेला सरकारी कर्मचारीले सेवा सुविधाको मनपरि प्रयोग गर्न थालेपछि नागरिकले समेत आपत्ती जनाएका छन् । रुपन्देहीमा सरकारी नम्बर प्लेट भएका सवारी साधनको दुरुपयोग गर्ने प्रचलन नयाँ होइन् ।

Advertisement

पछिल्लो पटक सवारीको यस्तो दुरुपयोग पुनः दोहोरिएको छ । भैरहवाको मझेरी भान्सा घरमा देखिएको फरक फरक दृश्य यसको ज्वलन्त उदाहरण हो । यहाँ दुईवटा सरकारी नम्बर प्लेटका मोटरसाइल देखिए । गत चैत २० गते लु १ ब ३४३८ को मोटरसाइकल भान्छा घरमा देखियो । त्यतिबेला रातीको ९ बजेको थियो । लुम्बिनी प्रदेशको स्वास्थ निर्देशनालयका कर्मचारी कुमार थापा उक्त मोटरसाइकल ल्याएर आएका थिए । त्यस्तै चैत २५ गते लु १ ब १६१५ नम्बरको मोटरसाइकल पनि मझेरी भान्छा घरमा आयो । उक्त मोटरसाइकल भित्रिने बेला राति भइसकेको थियो । उक्त मोटरसाइकलमा सम्मरीमाई गाँउपालिकाका कर्मचारी राजकुमार हरिजन सवार थिए ।

यही बेला सरकारले पेट्रोलियम पदार्थ बचत गर्न शनिबार र आइतबार सार्वजनिक बिदा दिएको छ । यो बिदा कर्मचारीलाई भने मस्ती भएको छ । रातीसम्म सरकारी सवारी साधनको दुरुपयोग गरेर रमाउने गरेको भेटिएको हो । हरिजनले प्रयोग गरेको सरकारी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मेघनाथ पाध्यले हरिजनले मदिरा सेवन गरेका कारण मोटरसाइल चलाउने अवस्था नभएकाले नियन्त्रणमा लिएको बताए । भोलिपल्ट हरिजनलाई बोलाएर सचेत गराएर कागज पत्र गरेपछि मोटरसाइकल छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी पाध्यले बताए । वडा प्रहरी कार्यलय, भैरहवाका प्रहरी निरीक्षक मानबहादुर बिसीले सरकारी मोटरसाइकल दुरुपयोग भएको सत्य रहेको बताए ।

सम्मरीमाई गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले सूचना प्रविधि सहायक हरिनज मणिग्रामस्थित होटल मदानीमा दुई दिनको तालिम कार्यक्रममा सहभागी हुने जानकारी दिएर गएको बताए । ‘राती–राती अर्कै रेष्टुरेन्टमा जान भनेर त स्वीकृति दिइएको थिएन,’ उनले भने, ‘कारणबारे सोधपुछ गर्छु ।’ सूचना प्रविधि सहायक हरिजनले तालिममा सहभागी भएर फर्किंदै गर्दा राति भइसकेकाले झोल मोमो खान उक्त रेष्टुरेन्टमा गएको बताए । ‘यत्तिकैमा प्रहरी आएर मोटरसाइकलको चाबी माग्यो,’ उनले भने, ‘बाइक लगेपछि म डराएर केही भन्न सकिनँ ।’ साथीहरुसँग बसेर आफूले नास्ता खाएको उनले बताए ।

स्वास्थ निर्देशनालयका कर्मचारी थापाले रेष्टुरेन्टमा भेटिएको उक्त मोटरसाइल आफूले चलाउने गरेको बताए । ‘म विरामी थिएँ, मोटरसाइकल लिएर रेष्टुरेन्ट गएको हुँ,’ उनले भने, ‘खाजा लिनका लागि मात्र गएको थिएँ, खानाका लागी होइन ।’ उनले यस्तो दाबी गरे पनि प्रत्यक्षदर्शीका अनुसार उनी खाजा लिन गएका थिएनन् । न त बिरामी नै थिए । ‘मस्तसँग रेष्टुरेन्टमा साथीसँग बसेर मदिरा खाँदै थिए,’ ती प्रत्यक्षदर्शीले भने, ‘यस विषयलाई लिएर झुठो बोलेका छन् । उनी साथीसँग थिए र करिब करिब त्यहाँ राति ९ बजेसम्म बसेका थिए ।’