पार्टी पुनर्संरचना गर्नुपर्नेमा एमाले रूपन्देहीका नेताहरू


भैरहवा– यसपटकको प्रतिनिधि सभा सदस्य निर्वाचन अगाडिसम्म नेकपा एमालेमा पार्टी पुनर्संरचनाको कुरा गर्ने नेता अर्घेलो हुनुपथ्र्यो । आलोचना गर्ने नेतालाई पार्टीबाट किनारा लगाइन्थ्यो । त्यसको पनि बिरोध गरे पार्टीबाट बहिर्गमनको बाटो देखाइन्थ्यो । एमालेभित्र नेतृत्वका क्रियाकलापबारे बोल्न मनाही थियो ।
निर्वाचनको परिणाम र पार्टी खिइन थालेपछि अहिले जिल्ला तहबाट समेत एमाले पार्टीमा परिवर्तनको कुरा उठ्न थालेको छ । अहिलेकै अवस्थामा पार्टीलाई पुनर्जीवन दिन सम्भव नभएकाले पुनर्गठनको माग उठ्न थालेको छ । एमाले रुपन्देहीले पनि अहिलेकै अवस्थामा पार्टी अगाडि बढ्न नसक्ने निष्कर्षसहित पुनर्गठनमा जोड दिएको छ ।
जिल्ला कमिटीको बुधवार बसेको बैठकले पार्टीका तलदेखि माथिसम्मका सबै कमिटी पुनर्गठन जरुरी रहेको निष्कर्ष निकालेको हो । बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार अधिकांश जिल्ला कमिटी सदस्यले नेतृत्व मात्र नभई हरेक कमिटीले जनताको मन जित्ने गरी काम नगरेकाले क्षति ब्यहोर्नु परेको बताएका थिए ।
एमाले केन्द्रीय कमिटी सचिव छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्य खिमलाल भट्टराई, दधिराम न्यौपाने (माधव शर्मा), गोपाल राना, गोमादेवी आचार्य, जलिल मिया र ज्ञानु केसी समेत सहभागी बैठकमा जिल्ला कमिटी अध्यक्ष यज्ञ गैरेले पार्टी बलियो बनाउने सवालमा आफू राजीनामा दिन तयार रहेको बताएका थिए ।
बैठकका सहभागीहरूले पार्टी नेतृत्वको क्रियाकलाप र कमजोरी सच्याउनेतर्फ ध्यान नदिएको उल्लेख गर्दै नेतृत्वले समय र जनताको समस्या पहिचान गर्न नसक्दा परिणाम पार्टीको पक्षमा आउन नसकेको बताएका थिए । बैठकमा बोल्ने अधिकांशले नेताको वरिपरि घुम्नेहरूका कारण संगठन कमजोर बनेको तथा जनताको मन दुखाउने काम गरेकोले पार्टी यो अवस्थामा पुगेको बताएका थिए ।
मुख्य त एमाले सत्ताका लागि जो सँग पनि जस्तो अवस्थामा पनि गठबन्धन गर्ने कुराले जनतासँगको सम्बन्ध टुटेको निष्कर्ष बैठकको थियो । सत्ताकेन्द्रित हुँदा नेतृत्वले जनताका मुद्दामा ध्यान नदिएको बैठकको निष्कर्ष थियो । जुन जनताको भावना र जबजको मर्म विपरीत थियो भन्ने कुरा बैठकमा उठेको थियो ।








प्रतिकृया दिनुहोस्