विदेशी ऋणको विषयलाई लिएर वर्तमान सरकारले दोहोरो चरित्र देखायोः पोखरेल


भैरहवा– नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशी ऋणको विषयलाई लिएर वर्तमान सरकारले दोहोरो चरित्र देखाएको भन्दै प्रश्न उठाएका छन् । हिजो विदेशी ऋणले देश डुबायो भनेर आलोचना गर्नेहरूले नै अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेको भन्दै पोखरेलले सरकारसँग जवाफ मागेका हुन् ।
मंगलबार फेसबुकमा एक टिप्पणी लेख्दै महासचिव पोखरेलले दिगो पूर्वाधार विकासका लागि विदेशी ऋण लिनु नेपालको बाध्यता र आवश्यकता दुवै भएको यथार्थलाई भने स्वीकार गरेका छन् । तर, पूर्ववर्ती सरकारले ऋण लिँदा तीव्र विरोध गर्नेहरूले नै अहिले संसदमा स्पष्ट नीति र प्राथमिकतासमेत नराखी ऋण लिइरहेको उनको भनाइ छ ।
‘हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसदमा स्पष्ट रूपमा प्रस्तुत नगरी ठूलो मात्रामा ऋण लिइरहेका छन्,’ पोखरेलले लेखेका छन्, ‘यस्तो विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ ।’
२२ चैतमा बसेको मन्त्रिपरिषद बैठकले १८.५ करोड अमेरिकी डलर अर्थात् करिब २७ अर्ब ५१ लाख रुपैयाँ बराबरको विदेशी ऋण लिने निर्णय गरेको थियो ।
एमाले महासचिव पोखरेलले हिजो सत्ता बाहिर हुँदा ऋणको विरोध गर्ने र आज सत्तामा हुँदा त्यही ऋण सुटुक्क स्वीकारेको भन्दै वर्तमान सत्ताधारी दलमाथि प्रश्न गरेका छन् । उनले सोधेका छन्, ‘हिजो विरोध किन ? आज स्वीकार किन ?’
ठूलो मात्रामा विदेशी ऋण लिइएको विषयमा सरकारले जनतालाई स्पष्ट र पारदर्शी रूपमा जवाफ दिनुपर्ने महासचिव पोखरेलको माग छ ।
यस विषयमा राप्रपाकी सांसद खुस्बु ओलीले पनि प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएकी थिइन् ।








प्रतिकृया दिनुहोस्