July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

‘शुद्धोधन लोकमार्ग’ निर्माणका लागि रूपन्देही र कपिलवस्तुका १० पालिकाको माग

Advertisement

दाङ– रुपन्देही र कपिलवस्तु जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष शुद्धोधन लोकमार्ग निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

Advertisement

सियारी गाउँपालिकाको संयोजकत्वमा चैत २० गते बसेको अन्तरपालिका समन्वय समितिको संयुक्त बैठकको निर्णय अनुसार सोमबार उक्त ज्ञापनपत्र बुझाइएको हो । बैठकमा रुपन्देहीका ५ गाउँपालिका र कपिलवस्तुका ५ नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

ज्ञापनपत्रमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि सुरु भई मायादेवी, सियारी, शुद्धोधन, गैडहवा, कञ्चन हुँदै कपिलवस्तुको वाणगंगा, कपिलवस्तु नगरपालिका, जगदीशपुर ताल, तिलौराकोट, बुद्धभूमि, महाराजगञ्ज र शिवराज नगरपालिका हुँदै लुम्बिनी प्रदेश राजधानी देउखुरी जोड्ने छोटो दूरीको ‘शुद्धोधन लोकमार्ग’ निर्माणको प्रस्ताव गरिएको छ ।

उक्त सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८२–०८३ मै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी आगामी आर्थिक वर्ष २०८३–०८४ मा आवश्यक बजेट विनियोजन गर्न प्रदेश सरकारसमक्ष आग्रह गरिएको छ ।

प्रदेश सभा सदस्य हेमा बेलबासेसहित पुगेको जनप्रतिनिधिहरुको टोलीले मुख्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै सडक निर्माणले पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधि विस्तार तथा क्षेत्रीय समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । उक्त भेटमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल समेत सहभागी थिए ।

स्थानीय तहका प्रमुखहरुले अन्तरजिल्ला तथा अन्तरपालिका समन्वयमार्फत् अघि बढाइएको यो योजना लुम्बिनी प्रदेशकै रणनीतिक पूर्वाधार परियोजनाका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।