नेपालगन्ज बसपार्कमा यात्रुलाई लुट्ने चारजना पक्राउ


नेपालगन्ज–चार दिन अघि नेपालगन्ज बसपार्कमा यात्रुहरूबाट नगद र मोवाइल सहित लुटेर फरार भएकोे एक समूहलाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ ।
गत मंगलवार लुटेराको उक्त समूहले विभिन्न धम्की, डरत्रास तथा हातपात गर्दै यात्रुहरुबाट ५९ हजार रुपियाँ नगदसहित मोबाइल फोन लुटेर फरार रहेका चार जनाको समूहलाई हतियारसहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रवक्ता तथा डिएसपी दीपक पातलीले गत मङ्गलबार काठमाडौँ जाने बसमा बसेका यात्रुहरूलाई ६–७ जनाको समूहले धाकधम्की, डरत्रास तथा हातपात गर्दै ५९ हजार रुपैयाँ नगदसहित मोबाइल लुटेर फरार भएको जनाए । उक्त समूहले यात्रुहरूबाट नगद, मोबाइल फोन तथा अन्य जिन्सी सामान जबरजस्ती लुटेको सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको जनाउँदै उनले अनुसन्धानको क्रममा घटनामा संलग्न चार जनालाई पक्राउ गरिएको बतए ।
उनीहरुको साथबाट कटुवा पेस्तोल र खुकुरीसमेत बरामद भएको छ । उनका अनुसार पक्राउ पर्नेहरूमा नेपालगन्जका रामु परियार, सुवास विष्ट, सन्जय क्षेत्री तथा कोहलपुरका सन्दीपजङ्ग क्षेत्री रहेका छन् । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालगन्ज र कोहलपुरको बसपार्कमा यात्रुलाई जबरजस्ती तान्ने र आँफू अनुकुल भनेको नमान्दा यात्रु्माथि अपशब्दसहित गाली गर्ने लगायतका घट्नाहरु हुन थालेपछि पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालयले बाँकेका बसपार्कमा निगरानी बढाएको छ ।








प्रतिकृया दिनुहोस्