June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

बुधबार तमु प्ये ल्हु संघ भैरहवाको रजत उत्वस

Advertisement

भैरहवा– तमु प्ये ल्हु संघ भैरहवाले बुधबार भैरहवामा आफ्नो रजत महोत्सव मनाउने भएको छ । संघले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । संघका अध्यक्ष कृष्णबहादुर तमुले तमु समुदायको धर्म, संस्कृति र पहिचान जोगाउनु नै संस्थाको मूल उद्देश्य रहेको बताए । उनले समाजमा सकारात्मक योगदान पुर्याउने तमु व्यक्तित्वहरूलाई सम्मान गर्ने तयारी गरिएको जनाए ।

Advertisement

रजत महोत्सवका अवसरमा पुरुषतर्फको सटपुट र भलिवल प्रतियोगिताको पुरस्कार वितरण गरिने छ । यस्तै, विविध सांस्कृतिक प्रस्तुति समेत हुने उनले जनाए । अध्यक्ष तमुले २०५७ सालमा स्थापना भएको यस संघले २५ वर्ष पूरा गरी रजत महोत्सव मनाउन पाउनु गर्वको विषय भएको उल्लेख गरे । ‘सानो प्रयासबाट सुरु भएको हाम्रो संस्था आज समुदायको साझा घर बनेको देख्दा अत्यन्त खुसी लागेको छ,’ उनले भावुक हुँदै भने ।

संघका सचिव जोशन तमुले विगतदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद र संस्कृतिको प्रवद्र्धनमा निरन्तर रचनात्मक कार्यक्रम गर्दै आएको जानकारी गराए । उनले युवालाई संस्कृतिप्रति जोड्ने उद्देश्यले विभिन्न तालिम, सांस्कृतिक अभ्यास र सामाजिक सेवामूलक गतिविधि सञ्चालन गरिएको बताए ।

आयोजकले रजत महोत्सवलाई केवल उत्सवमा सीमित नराखी तमु समुदायको इतिहास, पहिचान र एकताको सन्देश फैलाउने अवसरका रूपमा विकास गर्ने लक्ष्य राखिएको स्पष्ट जनाएका छन् । महोत्सवमा स्थानीय कलाकारहरूको प्रस्तुति, परम्परागत नृत्य, गीत तथा भेषभूषाको प्रदर्शनसमेत गरिने जनाइएको छ ।

तमु प्ये ल्हु संघ भैरहवाले आयोजना गर्न लागेको रजत महोत्सवले समुदायभित्र आपसी सद्भाव बढाउनुका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृति चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । आयोजकले सम्पूर्ण भैरहवाबासीलाई कार्यक्रममा सहभागी भई उत्सवलाई सफल बनाउन आग्रहसमेत गरेका छन् । पत्ररका सम्मेलनमा संघका समाजसेवी तथा तमु समुदायका अगुवाहरूको उपस्थिति थियो ।