रूपन्देही–३ मा युवा उम्मेदवारको बर्चस्व, कस्ता छन् बाचा ?


भैरहवा– रूपन्देही क्षेत्र नम्बर ३ मा नयाँ–पूराना अधिकांश दलले युवालाई उम्मेदवार बनाएका छन् । अधिकांश युवा उम्मेदवारका पृष्ठभूमि पनि फरक छन् । अगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर ३ मा दल र स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको छ ।
१ लाख ४ हजार ३५ मतदाता संख्या रहेको यो क्षेत्र ठूला दलहरु नेपाली काँग्रेसबाट सुशील गुरुङ, एमालेबाट बासुदेव घिमिरे, रास्वपाबाट डा.लेखजंग थापा, राप्रपाबाट गौरब बोहरा, नीपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट फैज अहम्मद खाँ र जसपा नेपालबाट श्रीनिवास यादवको उम्मेदवारी परेको छ । यो क्षेत्रमा यी उम्मेदवारहरु बीच नै टक्कर हुने आँकलन गरिएको छ ।
परम्परागत भनिएका दलहरु काँग्रेस र एमालेले यसपटक क्षेत्रका लागि नयाँ चेहरा ल्याएका छन् । गुरुङ र घिमिरे उम्मेदवारका रुपमा नयाँ चेहरा हुन् । गुरुङ पहिलोपटक प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका हुन् भने घिमिरेसँग जनप्रतिनिधि भएर काम गरिसकेको अनुभव छ । घिमिरेले विघठित प्रतिनिधि सभामा रुपन्देही–५ बाट प्रतिनिधित्व गर्थे । २०७९ मा घिमिरेले काँग्रेसका भरतकुमार शाहलाई पराजित गरेर निर्वाचित भएका थिए । त्यसअघि २०७४ उनी तिलोत्तमा नगरपालिकाको नगर प्रमुख भएका थिए ।
‘मैले तिलोत्तमाको नेतृत्व गर्दा नगरलाई राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय जगतमा समेत चिनाएँ’, उनले भने, ‘प्रतिनिधि सभा सदस्य भएपछि गौतमबुद्ध विमानस्थल, मलखाद, सिंचाईं, कृषि, पर्यटन क्षेत्रमा निरन्तर आवाज उठाएँ । त्यसैले पार्टीले मेरो मूल्यांकन गरेर क्षेत्र नम्बर ३ मा उम्मेदवार बनाएको छ । क्षेत्रबासीले पनि मलाई साथ दिने विश्वास लिएको छु ।’
गुरुङ काँग्रेसका क्षेत्रीय सभापति हुन् । जनजाती समुदायको बाक्लो उपस्थिति रहेको यस क्षेत्रमा काँग्रेस पनि सांगठनिक रुपमा बलियो छ । विगतमा यो क्षेत्रमा कहिले काँग्रेस–राप्रपा, कहिले एमाले–राप्रपा, कहिले काँग्रेस–माओवादीबीच तालमेल हुँदै आएको थियो । तर, यसपटक सबै दल छुट्टाछुट्टै निर्वाचन लडेका छन् । ‘हाम्रो पार्टी एक ढिक्का छ, जेनजी विद्रोहको मर्मअनुसार हामी अगाडि बढेका छौं, यस क्षेत्रका मुद्दाहरुबारे जानाकार भएकाले पनि मलाई क्षेत्रबासीले अत्यधिक माया गर्नुहुन्छ भन्ने मेरो विश्वास हो’, गुरुङले भने, ‘सबै अट्ने, सबैको भावना समेट्ने र क्षेत्रगत विकास तथा राष्ट्रिय मुद्दाहरुमा बहस पैरवी गर्न म सक्षम छु ।’
गुरुङ विद्यार्थी राजनीतिबाट खारिएर आएका युवा नेता हुन् । उनले भैरहवा क्षेत्रमा दर्जनौं संघसंस्थामा सफलतापूर्वक नेतृत्व गरिसकेका छन् । यसैले यसपटक कांग्रेसमा नयाँ आशाको किरण जागृत भएको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले बताए ।
रास्वपा र राप्रपाबाट उम्मेदवार बनेका थापा र बोहरा पनि कुनै हिसाबले गुरुङ र घिमिरे भन्दा कम आँकलन गर्न सकिने छैनन् । उनीहरु दुबैजनामा फरक किसिमको क्षमता र अनुभव छ । नेकपाका उम्मेदवार खाँसँग राजनीतिक र समुदायको बलियो पकड छ । जसपा नेपालका यादवले मधेशी मत प्रभावित पार्न सक्छन् । मिश्रित समुदायको बसोबास रहेको यो क्षेत्रमा स्व.दीपक बोहराको ‘लिगेसी’ समेत धारिलो छ ।
राप्रपाबाट उम्मेदवार बनेका गौरव स्व.दीपक बोहराका छोरा हुन् । राप्रपाको पनि यहाँ संगठन बलियो मानिन्छ । २०७० सालमा दीपक बोहराले चुनाव जितेदेखि नै गौरवले यो क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएका छन् । उनले आफ्नो व्यक्तिगत लगानीमा समेत गाउँगाउँमा सहयोगका काम गर्दै आएका छन् । बुद्ध एयरका बरिष्ठ पाइलट समेत रहेका बोहरा क्षेत्रका उद्योगी–व्यवसायी, युवाहरु र मधेशी समुदायमा परिचित छन् । पेसाले पाइलट भए पनि उनी क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका थिए । ‘मेरो बुवाले देखाएको सत्मार्गलाई पछ्याउँदै उहाँले सुरुवात गरेका विकास निर्माणका कामलाई पूर्णता दिन, यहाँका समस्यालाई राष्ट्रियकरण गरी सन्तुलित विकास गर्न, युवाहरुमा उत्साह र स्वदेशमै केही गर्नुपर्छ भन्ने वातावरण बनाउन म क्षेत्रबासीसँग परीक्षण हुन आएको हुँ’, गौरबले भने, ‘चाहे गौतमबुद्ध विमानस्थल होस्, चाहे पूर्वाधार विकासका कुरा । यी सबैमा मैले काम गर्नेछु ।’
पेसाले न्यूरोलोजिष्ट रहेका भैरहवाका डा.लेखजंग थापा पूर्वाधार र सम्भावनाले भरिपूर्ण भएर पनि क्षेत्र नम्बर ३ पछाडी परेकाले यसको राष्ट्रियकरणका लागि आफू उम्मेदवार बनेको बताउँछन् । ‘हामीले हाम्रो पार्टी रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधनमन्त्रीका रुपमा अगाडि सारेर चुनावी अभियानमा होमिएका छौं’, उनले भने, ‘सभापति रवि लामिछाने र बरिष्ठ नेता शाहमा मुलुक बनाउने हुटहुटी छ । यसमा मैले एउटा ईंटा थप्न सक्छु की भन्ने सोंच राखेको छु ।’ उनले रास्वपाप्रति मुलुकमै देखिएको जनलहर, स्पष्ट योजना र नीति, आफूले क्षेत्रका समस्या बुझेकाले सबैको साथ पाउने विश्वास व्यक्त गरे ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार खाँले मुलुकमा फेरि राजतन्त्र फर्काउने चलखेल भएको जनाउँदै यसलाई रोक्न पनि नेकपाको जित जरुरी रहेको बताउँछन् । अन्य दलका उम्मेदवार भन्दा उनी उमेरले केही पाको छन् । व्यवसायमा अब्बल कहलिएका खाँ यसअघि २०७४ मा सिद्धार्थनगरको मेयरमा उम्मेदवार बनेर पराजित भएका थिए । निष्ठा र निरन्तर राजनीतिक पृष्ठभूमि बोकेका उनले परिवर्तन, संघीयता, लोकतन्त्र र क्षेत्रगत विकासका लागि आफ्नो उम्मेदवारी रहेको जनाए ।
जसपा नेपालका उम्मेदवार यादवले संघीययतालाई थप बलियो बनाउन, मधेशी जनताका थप अधिकारलाई सुनुश्चितता दिलाउन संविधान संशोधन गर्न, गरिब, किसान, युवा, सीमान्तकृत समुदायको उत्थानका लागि क्षेत्रबासीको साथ पाउने विश्वास व्यक्त गरे । उनले आमनागरिकमा ठूला भनिएका दलले गर्दै आएको अनेक जालझेलबारे जानकारी भएकाले आफू सबैको रोजाईमा पर्ने जनाए । यस क्षेत्रमा भैरहवाका युवा राजनीतिकर्मी गोपाल भण्डारीले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०७९ मा उनी प्रदेश सभामा स्वतन्त्र उम्मेदवार बनेर पराजित भएका थिए ।
उद्योगी–व्यवसायी र युवाहरुमा माझ राम्रो छाप बनाएका भण्डारीले पनि राम्रै मत ल्याउने आँकलन गरिएको छ । यस्तै, यसपटक जनमत पार्टीले भैरहवाका युवा विशाल गुप्तालाई उम्मेदवार बनाएको छ । उनी पनि जेनजी समूहका युवाहरुमाझ लोकप्रिय रहेकाले राम्रै मत काट्ने बताइन्छ ।
यसपटक नयाँ र परम्परागत दलले समेत युवालाई उम्मेदवार बनाएकाले निर्वाचन कसको पोल्टामा पर्छ भन्ने एकीन छैन । राणनीतिक रुपमा सबै दल र स्वतन्त्रहरुले उम्मेदवारी दर्तासँगै छलफल र भेटघाटलाई तिव्रता दिएका छन् ।









लेखकको सम्वन्धमा