June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

खेलकुदले जोडेको मन

Advertisement

नेपालमा अहिले खेलकुदको लोकप्रियता चढ्दो छ । कुनै समय खेलबाट जीवन धान्न धौ–धौ हुने खेलाडीहरु आजभोली यसैमा भविष्य देखिरहेका छन् । यसको पछिल्लो उदाहरण भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)लाई लिन सकिन्छ । यसैले होला खेलाडीलाई मात्रै होइन, खेलप्रेमी पनि कुनै न कुनै माध्यमबाट खेल गतिविधिमा जोडिन्छन् । अझै क्रिकेटसँगै अन्य खेलकुदको उर्वरभूमि रुपन्देहीमा क्रियाशील हामी लुम्बिनी प्रेस क्लबकर्मी यसबाट अलग हुने कुरै भएन ।

Advertisement

नियमित लेखन हाम्रो धर्म र कर्म हो । आफ्ना संस्थामा आबद्ध पत्रकारको क्षमता विकासलाई शिरोधार्य गर्ने संस्थाका धेरै कार्यक्रम यसैमा केन्द्रित गर्नु स्वभाविक हो । तर, समाजसँगै क्लब खेलकुदसित पनि जोडिएको छ । यहाँका जनप्रतिनिधि, सुरक्षा निकाय, निजामती, पेसागत संघसंस्था, मिडिया हाउस, निजी क्षेत्रसँग मात्रै होइन्, अन्तरदेशीय खेलकुदमा समेत हामी जोडिएका छौं । यसले प्रेस क्लबको अन्य संस्थासितको सम्बन्ध थप मजबुत तुल्याएको छ । खेलमा मात्रै होइन्, मनसँग समेत जोडेको छ । क्लब आफैले त्रिकेट र फुटसल आयोजना गर्दै आएको छ । अन्य संघसंस्थाले आयोजना गरेका फुटबल, क्रिकेट, फुटसल जस्ता खेलकुदमा सहभागिता जनाइरहेको छ । भारतीय संचारकर्मीहरुसँग चारपटक मैत्रीपूर्ण क्रिकेट खेलिसकेका छौं । यसमा दुईपटक भारतीय पत्रकारको आयोजनामा सीमावर्ति सहर नौतनवामा र दुईपटक प्रेस क्लबले भैरहवामा क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । केही प्रतियोगितामा क्लबको टीमले उपाधि समेत हात पारेको छ ।

सुरक्षाकर्मीहरुसँग फुटसल, जनप्रतिनिधिसँग फुुटसल तथा क्रिकेट प्रतियोगितामा प्रेस क्लबको टिम प्रतियोगीको रुपमा सहभागी भइरहेको छ । यसैगरी कर्मचारी मिलन केन्द्रको कार्यक्रममा ब्याडमिन्टन प्रतियोगिता, प्रहरी दिवसमा प्रेस क्लबको भलिबल टिमले गरेको उत्कृष्ट प्रदर्शन साँच्चिकै महत्वपूर्ण छन् । सरकारी तथा गैरसरकारी संस्थाले आयोजना गर्ने हरेक खेलकुद प्रतियोगितामा आजकल प्रेस क्लबको टिम सहभागी नहुने बिरलै छ । देवदह प्रेस कलबको आयोजनामा प्रतियोगी भई मेडल जितेको दिन होस् वा नेपाल पत्रकार महासंघकोे आयोजनामा भएको खेलमा सहभागी हुने कार्य स्मरणयोग्य छन् ।

खेलकुदमा सहभागी भएर क्लबका सदस्यले खेलका समाचारहरु लेख्ने, बुझ्ने र सिक्ने मात्रै होइन, खेलको विकास, नीति, चुनौती र सामाजिक प्रभावलाई पनि नजिकबाट नियाल्ने अवसर प्राप्त गरिरहेका छन् । हुनतः स्वस्थ जीवनका लागि नियमित ब्यायम जरुरी छ । तर, नियमित खेल खेल्दा, यसलाई समाज र खेलाडीसँग जोड्दा पक्कै पनि शारीरिक स्वस्थता, मानसिक प्रभाव, खेलबारे समाचार लेखनमामात्रै लाभ मिलेको छैन, यसले पत्रकारलाई खेलकुदमार्फत्, समाज र अन्तरदेशीय पत्रकारसँग सम्बन्ध बिस्तारमा सघाएको छ ।

खेलले स्वास्थ्य, एकता र राष्ट्रिय गौरवलाई बढवा दिन्छ । र, यसको प्रचारप्रसारमा खेल पत्रकारिताले ठूलो भूमिका खेल्छ भन्नेमा दुईमत छैन । खेलकुदसँगै पत्रकारिता गरिरहँदा हामीलाई यस क्षेत्रका खेलाडीहरुको संघर्ष, सफलता र खेल जगतका समस्या नजिकबाट बुझ्ने मौका दिएको छ । हामीले बुझेको कुरा समाचारका माध्यमबाट बाहिर ल्याउँदा यसले कुनै न कुनै किसिमबाट नीति निर्माणमा सहयोग पुग्नेछ भने अपेक्षा लिएका छौं ।

समग्रमा, खेल एक साझा माध्यम हो । खेलाडी, खेलप्रेमीलाई मात्र होइन् पत्रकारहरुलाई सूचना प्रवाहको विषयमा थप जिम्मेवार बनाउँछ । र, संघसंस्थालाई प्रचार तथा विकासको अवसर दिने गरेको छ । यही खेलका कारण आज हामी सीमा क्षेत्रका भारतीय पत्रकारसँग नजिकको सम्बन्ध गाँस्न सफल भएका छौं । खेलले परस्पर भाइचाराको सम्बन्ध कायम गर्छ भन्ने यो उदाहरण हो । भारतीय सञ्चारकर्मी र क्लबका सदस्य खेलकै माध्यामबाट परिवारका सदस्य जस्ता बनेका छन् । र, सुखदुःखमा सहयोगी बनेका छन् ।

खेलकुदका लागि पूर्वाधार जरुरी हुन्छ । हामीकहाँ पूर्वाधारको अभाव सबैभन्दा जटिल समस्या छ । जसले गर्दा सम्भावना भएका खेलहरुले समेत पर्याप्त फड्को मार्न सकेका छैनन् । खेलकुदमा छुट्याइने बजेट समेत निकै थोरै छ । दक्ष प्रशिक्षक अभाव छ । यसले खेलकुदमा भविष्य देखेका खेलाडीहरु समेत निरास छन् । यति भनिरहँदा यहाँ केही छैन भन्ने होइन्, कतै भएका पूर्वाधार संरक्षण अभाव छ भने कतै अधुरा छन् । यसको उदाहरण हाम्रै भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदानलाई लिन सकिन्छ । करिब डेढ दशकदेखि यहाँ अन्तर्राष्ट्रिय रंगशाला बनाउने भने पनि पर्याप्त बजेट अभावकै कारण अलपत्र छ । लागत हरेक वर्ष बढेको बढ्यै छ । सरकारी उदासिनताले अलपत्र परेका यस्ता थुप्रै संरचना जिल्लामा छन् ।

संचारकर्मीको धर्म, सरकारलाई घचघच्याउने हो । त्यो काममा भैरहवा मात्रै होइन्, मुलुकभरका पत्रकारले समाचारका माध्यमबाट सरकारको आँखा खोल्ने काम गरिरहेका छन् । तर, त्यो पर्याप्त छैन भने सरकारले पनि बेवास्ता गरिरहेको छ । निजी क्षेत्रबाट रुपैन्देहीमै एक्स्ट्राटेक ओभल क्रिकेट मैदान दुई वर्षमै तयार भयो । जुन अहिले रुपन्देहीको खेल आकर्षण बनेको छ । भर्खरै एनपीएल उपाधि जितेको लुम्बिनी लायन्सले एक्स्ट्राटेक ओभललाई घरेलु मैदान बनाएको छ । यसबाट पनि खेलको गरिमा बढेको छ ।

हामीलाई थाहा छ, पूर्वाधार विकास केवल ढिस्को र इँटाको चुली होइन् । खेलकुदका लागि भौतिक संरचना, आर्थिक स्रोत, मानव संशाधन, नीति, प्रविधि र समुदायको सहभागिता सबै समावेश हुन जरुरी हुन्छ । यी सबै समिश्रणहरुको समन्वयमा मात्र एक सफल र दीर्घकालीन खेलकुद पूर्वाधारको विकास सम्भव छ, जसले देशको खेल प्रतिभालाई उजागर गर्न र राष्ट्रिय गौरव बढाउन मद्दत गर्छ । फुटबल, क्रिकेट, एथलेटिक्स जस्ता खेलहरुका लागि अन्तर्राष्ट्रिय मानकअनुसारको मैदान र दर्शक सुविधासहितको स्टेडियम जरुरी हुन्छ । यी हाम्रा सम्भावना बोकेका खेल समेत हुन् तर पूर्वाधार अभाव छ ।

पछिल्लो समय नेपालले क्रिकेट लगायतका अन्य केही खेलमा फड्को मारिरहेको छ । यी सुखद् पक्ष हुन्, तर राज्यले त्यतिकै आधारमा लगानी बृद्धि गरेको पाइँदैन । हामीकहाँ खेलले अर्थतन्त्र चलायमानसँगै पर्यटक बढवामा टेवा दिन्छ भन्ने समेत हेक्का राखिँदैन । एनपीएलले जसरी नेपाली विज्ञापन बजार, अन्तर्राष्ट्रिय बजारसँगै खेल क्षेत्रमा तरंग ल्याएको छ, त्यसैगरी अन्य क्षेत्रका खेलहरुमा पनि यस्ता भव्य कार्यक्रम आयोजना हुन जरुरी छ । भैरहवाको रंगशालालाई मात्रै अन्तर्राष्ट्रियस्तरको बनाउने हो भने विदेशी, अन्तरदेशीय र आईसीसीका खेलहरु हुनसक्छन् । यसले यहाँ पर्यटन व्यवसाय चलायमान मात्रै बनाउँदैन, खेलकुद र मुलुकको आर्थिक क्षेत्रमा समेत टेवा पुग्छ ।

हामीले खेल क्षेत्रका माध्यामबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्न कुनै न कुनै रुपमा जोडिइरहेका छौं । यसले धेरैतर्फबाट सकारात्मक सन्देश दिएको छ । जस्तैः नेपाल भारतका पत्रकारहरुलाई सहकार्य र खेलमार्फत् जोडेको छ । समाज, यहाँका संघसंस्था, निजी क्षेत्र र स्वदेशी पत्रकारहरुबीच भ्रातृत्व र भाइचाराको विकासमा टेवा पुर्याएको छ । भने, प्रेस क्लबले सञ्चालन गर्ने गतिविधिमा विविधता थपेको छ ।

एकआपसमा मित्रता कायम गरी सहकार्य, सहयोग तथा मेलमिलाप बढाउन, समूहमा मिलेर काम गर्न सक्ने क्षमता र सहकार्यताको भावना बढाउन पनि खेलकुुदको आवश्यक्ता छ । खेलकुदले मान्छेमान्छेबीच सामूहिक भावनाको विकास गराउँछ । खेलकुद मानव जीवनका लागि उपयोगी छ, यसमा दुईमत छैन । खेल र खेलाडीले नै मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरेका छन् । त्यसका लागि सरकारले खेलमा लगानी बढाउनुपर्छ । हामी लुम्बिनीका बासिन्दाका लागि शान्ति, समृद्धि र खेलकुद एकअर्कासँग गहिरोसँग जोडिएका छन् । किनकि यी तीन कुराले एकअर्काको विकासमा महत्वपूर्ण योगदान दिन्छन् ।
(साभारः लुम्बिनी प्रेस क्लबद्वारा प्रकाशित ‘लुम्बिनी प्रेस बुलेटिन’)