लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच सम्झौता

भैरहवा – रुपन्देहीस्थित लुम्बिनी विकास कोष र बुटवलमा रहेको लुम्बिनी केबलकारबीच पर्यटन प्रवद्र्धनका लागि सम्झौता भएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजसर डीएन कायस्थले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी अति विशिष्ट (भीभीआईपी) पाहुनालाई लुम्बिनी केबलकारले केबलकारमार्फत् पाल्पाको बसन्तपुर हिल स्टेशन भ्रमण गराउने सम्झौंता पत्रमा उल्लेख छ । विकास कोषका पदाधिकारी, कर्मचारी र लुम्बिनी घुम्न आएका पर्यटकलाई केबलकारको टिकट दरमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ ।
विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईले केबलकारको टप स्टेसन बसन्तपुर ध्यान केन्द्रका लागि पनि उपयुक्त रहेकाले ध्यान केन्द्र बनाउन सुझाव दिए । केबलकारका अप्रेसन म्यानेजर कायस्थले विकास कोषसँग सम्झौताले बसन्तपुर हिल स्टेशन भ्रमणमा पर्यटक आगमन वृद्धि हुने विश्वास व्यक्त गरे । समुद्री सतहबाट एक हजार मिटर उचाईमा रहेको बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या मन्दिरसँगै स्वच्छ, शान्त र शीतल वातावरणमा रहेकाले हरेक वर्ष पर्यटक आगमन वृद्धि भएको कायस्थले बताए ।
प्रतिकृया दिनुहोस्