October 6, 2025, Monday
२०८२ आश्विन २० सोमबार

भैरहवा–काठमाडौं चार्टर्ड उडानका लागि तोकिएका सम्पर्क व्यक्तिले फोन नउठाएको गुनासो

भैरहवा– बाढीपहिरोका कारण भैरहवा क्षेत्रमा अलपत्र परेका यात्रुहरूको उद्धारका लागि नेपाल एयरलाइन्सको न्यारोबडी जहाजमार्फत् भैरहवा–काठमाडौं चार्टर्ड उडानको तयारी गरेको छ । तर, एयरलाइन्सका जिम्मेवार कर्मचारीको लापरवाहीका कारण न्यारोबडीको टिकट लिन चाहने र बुझ्न खोज्ने यात्रुले सास्ती पाएका छन् ।

Advertisement

सर्वसाधरणले भने जिल्ला प्रशासनले उपलब्ध गराएको नेपाल एयरलाइन्सको ९८५७०२३६७१ नम्बरमा पटक–पटक सम्पर्क गर्न खोज्दा कुनै प्रतिक्रिया नआएको गुनासो गरेका छन् । यसबारे प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डा.टोकराज पाण्डेसँग सम्पर्क गर्दा उनले पनि आफूले उक्त नम्बरमा फोन गर्दा जवाफ नपाएको प्रतिक्रिया दिए ।

‘यो एयरलाइन्स मात्र कबाड होइन, कर्मचारी पनि कबाड नै छन् । मैले पनि फोन गरेँ तर कुनै जवाफ आएन,’ प्रजिअ पाण्डेले भने । उनका अनुसार यस्तो व्यवहारले सरकारी प्रयासमा नै बाधा पुग्ने खतरा रहेको छ ।

नेपाल एयरलाइन्सका अधिकारी अरुण पन्थीले फोन नउठाएको कारणले गर्दा अलपत्र यात्रुहरूलाई थप सास्ती भएको हो । उद्धार कार्यको संवेदनशीलता बुझ्दाबुझ्दै यस्तो गैरजिम्मेवार व्यवहार देखिनु दुःखद् भएको सर्वसाधरण बताउँछन् ।

सरकारी संयन्त्र उद्धारमा सक्रिय रहँदा सार्वजनिक सेवा प्रदान गर्ने निकायका कर्मचारीबाटै सहयोग नपाउनु जनताको लागि दोहोरो पीडा भएको गुनासो बढीरहेको छ ।

अब सम्बन्धित निकायले यस्ता लापरवाहीका घटनामा जवाफदेही व्यवस्था गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्न थालेको छ । तर, पन्थीले भने आफ्नो नम्बर प्रशासनले सार्वजनिक गरेको जानकारी नभएको बताए । ‘प्रजिअले मेरो नम्बर माग्नु भएको थियो, मैले दिएँ’, उनले भने, ‘प्रशासनले नेपाल एयरलाइन्सको सम्पर्क व्यक्ति भनेर मेरो नम्बर सार्वजनिक गरेको रहेछ, तर मलाई केही जानकारी नै दिइएको थिएन ।’