September 11, 2025, Thursday
२०८२ भाद्र २६ बिहीबार

ठाउँठाउँमा जेनजीको प्रदर्शन, प्रहरीको गोली लागेर एकजनाको मृत्यु

भैरहवा– सामाजिक संजालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचार रोक्नु पर्ने माग सहित जेनजीको आन्दोलन मुलुकभर सुरु भएको छ । काठमाडौंमा भएको प्रदर्शनमा एकजनाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । आन्दोलन अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको जनाएको छ । घाइते अवस्थामा सिभिल अस्पताल पुर्‍याइएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

गोली लागेका अर्का एक प्रदर्शनकारीको अवस्था गम्भीर रहेको प्रहरी जनाएको छ । अन्य केहीलाई पनि गोली लागेर अस्पताल लगिएको छ । झापाको दमकमा पनि जेनजीको प्रदर्शन नियन्त्रणबाहिर पुगेपछि प्रहरीले गोली चलाएको छ । दमक नगरपालिकामा भएको प्रदर्शनको क्रममा प्रहरीको गोलीबाट कमल गाँउपालिकाका प्रकाश भट्टराई घाइते भएका छन् । उनको दमक अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले अहिले दमक नगरपालिका घेराउ गरेका छन् । उनीहरू मुठभेडमा उत्रिएपछि प्रहरी पछि हटेको छ । प्रहरी हटेसँगै प्रदर्शनकारीले नगरपालिकामा रहेका गाडी र मोटरसाइकल जलाएका छन् ।

दमक चोकमा भेला भएका जेनजी पुस्ता नगरपालिकातर्फ बडेपछि प्रहरीले प्रदशनकारीलाई रोक्न गोली र अश्रुग्याँस प्रहार गरेको थियो । यस्तै, मुलुकका ठूला सहरहरुमा पनि जेनजीको प्रदर्शन जारी छ ।

आन्दोलन चर्किएपछि काठमाडौं प्रशासनले कर्फ्यू लगाएको छ । तर कफ्र्यु लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् । संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ ।