लघुकथा: बेइमान साथी

रमा र वनिता दुवै मिल्ने साथी हुन् । स्कुल र कलेजमा उनीहरू सँगै पढ्थे । दुवैले अर्थशास्त्रमा स्नातकोत्तर पनि एकैचोटि पास गरेका थिए ।
कतै कर्मचारी मागेको विज्ञापन देखेकी रमाले वनितालाई खबर गरिन् र सँगै निवेदन दिन प्रस्ताव गरिन् ।
“वनिता! नेपाल राष्ट्र बैंकमा कर्मचारी मागेको छ नि, दाईले भन्नुभएको,” रमाले जानकारी दिइन् ।
“हो नि, थाहा छ मलाई । सहायक पदको रहेछ, म त फारम भर्दिनँ,” वनिताले जवाफ दिइन् ।
“भैगो त, उसो भए म पनि भर्दिनँ,” रमाले साथी नभर्ने भएपछि आफैं पनि त्यही गर्ने अठोट गरिन् ।
एक दिन कार्यालयको लुगामा वनितालाई देखेर रमाले सोधिन्,
“आज ठाटृिएर कहाँ जान लागेकी ?”
“अफिस जान लागेको,” वनिताले सामान्य जवाफ दिइन् ।
“कुन अफिस ?” आश्चर्य मान्दै रमाले फेरि प्रश्न गरिन् ।
“नेपाल राष्ट्र बैंक,” वनिताले जवाफ दिइन् ।
यो सुनेर रमा झन् आश्चर्यचकित भइन् र केवल “हँ” भन्ने शब्द मुखबाट निस्क्यो ।
वनिताको व्यवहार रमाका लागि अनपेक्षित थियो । त्यसपछि रमा एकान्तवासमा बसी, र उनीहरू सँगै देखिन छाडे ।
…
आज रमाको घरमा धेरै मान्छे जम्मा भएका थिए । सबैले रमालाई बधाई दिइरहेका थिए । नेपाल राष्ट्र बैंकको अधिकृत पदको आज पहिलो दिन रहेछ । कक्षाका साथीहरूमध्ये अधिकृत हुने रमा एक मात्र रहिछन् ।
रमाको र वनिताको विभाग एउटै रहेछ । बधाई दिन पुगेकी वनिताको अनुहार हेर्न लायक थियो ।
-sahityapost
प्रतिकृया दिनुहोस्