लुम्बिनी प्रदेशका ३५ उद्योगको सवा २ अर्ब विद्युत बक्यौता

बुटवल– लुम्बिनी प्रदेशका विभिन्न जिल्लास्थित ३५ उद्योगको सवा २ अर्ब विद्युत बक्यौता देखिएको छ । धेरै उद्योग रहेका रूपन्देही र नवलपरासीसहित कपिलवस्तु, दाङ, बाँके र रोल्पासम्मका सानाठूला गरी ३५ उद्योगले प्राधिकरणलाई २ अर्ब १३ करोड ७७ लाख ७६ हजार बक्यौता तिर्न बाँकी देखिएको छ । यीमध्ये सबैभन्दा बढी अर्घाखाँची सिमन्टेको ४४ करोड ८४ लाख ३२ हजार रुपैयाँ बक्यौता छ । सबैभन्दा कम नारायण रबर उद्योगले १ लाख ५६ हजार रुपैयाँ तिर्न बाँकी रहेको प्राधिरकणले जनाएको छ ।
यी मध्ये रुपन्देहीका ठूला उद्योगले बुझाउनुपर्ने बक्यौंता सम्बन्धि लामो समयदेखि विवाद छ । उद्योगको माग विनै जडान गरिएको टं«कलाइनका कारण विद्युत बक्यौंता धेरै देखिएको रुपन्देहीका उद्योगीको भनाई छ । लामो समयदेखि बिबाद चलिरहेकाबेला अन्तरिम सरकारका ऊर्जा तथा जलस्रोतमन्त्री कुलमान घिसिङले पहिलो निर्णयमै डेडिकेटेड–ट्रंकलाइन बक्यौता उठाउने निर्णय गरेपछि उद्योगी पुनः आतंकित बनेका छन् । उद्योगीले आफूहरुले माग नगरेको ट्रंकलाइनको महसुल नबुझाउने र नियमित रकम बुझाउँदै आइरहेको जनाउँदैं बक्यौता तिर्न मानिरहेका छैनन् ।
ट्रंकलाइन महसुलसम्बन्धी प्राधिकरण र उद्योगबीच लामो समयदेखिको विवाद बढ्दै गएपछि गत वर्ष अर्थ मन्त्रालयको समन्वयमा प्राधिकरण, उद्योगी र मन्त्रालयबीच २०७२ माघदेखि २०७५ वैशाखसम्म (लोडसेडिङको अवधिमा) प्रयोग गरेको विद्युत् महसुल एकैपटक तिर्न नसक्ने उद्योगले २८ महिना अवधिलाई २८ किस्ता मानेर मासिक रूपमा बक्यौता बुझाउने सहमति गरेका थिए । यस अवधिमा थोरै उद्योगीले मात्र त्यसरी रकम बुझाएको प्राधिकरणको भैरहवा वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणका अनुसार उक्त महसुल उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत ट्रंकलाइन खपत गरेबापतको हो । उद्योगहरुले लोडसेडिङको समयमा २४ सै घण्टा विद्युत् प्रयोग गरेको प्राधिकरणको दावी छ । २८ महिनासम्म ट्रंकलाइन सुविधा लिए पनि उद्योगीहरुले लोडसेडिङका बेला आफूहरुले ट्रंकलाइन माग नगरेको र प्रयोग पनि नगरेको दाबी गर्दै आएका छन् ।
प्राधिकरणले पनि ट्रंकलाइन प्रयोगबापतको बिल २०७७ मंसिरमा आएर मात्रै उपलब्ध गराएको र अहिले थप दस्तुरसहित ताकेता गरिरहेकाले विवाद बढेको हो ।
भैरहवा वितरण केन्द्रका प्रमुख सन्जयकुमार मिश्रले अहिलेसम्म माथिबाट कुनै पनि निर्णय आइनसकेको बताए । माथिबाट आएको निर्णय र निर्देशन अनुसार आफूहरु अघि बढ्ने उनको भनाइ छ । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्रले भदौ २४ को प्रदर्शनबाट तोडफोड र आगजनीका कारण ठूलो क्षति बेहोर्नुपरेको भन्दै यसैमाथि ट्रंकलाइनको विषय उठाएर मनोबल गिराउने काम गरेको बताए ।
प्रतिकृया दिनुहोस्