स्टिलजन्य उत्पादन भारत निर्यात पुनः सुरु

भैरहवा–तीन महिना यता भारत निर्यात रोकिएको स्टिलजन्य भाँडाकुँडाको निर्यात खुलेको छ । स्टिलजन्य भाँडाकुँडा उत्पादनका लागि चाहिने कच्चा पदार्थमा भारतले गुणस्तरको लोगो अनिवार्य गरेपछि लामो समयदेखि निर्यात ठप्प थियो । भारतले कच्चा पदार्थमा पनि बीआइएस अनिवार्य गरेपछि भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) का उद्योगको निर्यात प्रभावित भएको थियो ।
यसअघि उत्पादित बस्तुमामात्र ब्युरो अफ इन्डियन स्टान्डर्ड (बीआइएस) अनिवार्य थियो । तर, असोजयता भारतले निर्यात सहज गरेको छ । सेजमा रहेको भिस्टार ग्लोवल प्रालिका लेखा प्रमुख अरबिन्द त्रिपाठीले उद्योगका उत्पादन भारत निकासी सुरु भएको बताए । चीनबाट कच्चापदार्थ आयात गरेर नेपाल ल्याएपछि भ्यालु एड गरेर उद्योग वाणिज्य महासंघबाट प्रमाणपत्र लिएपछि आफ्नौ कच्चापदार्थ बनाउने गरिएको जानकारी दिए ।
उनका अनुसार पछिल्लो हप्ता उत्पादनहरु निर्यात भइरहेको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले चीनबाट कच्चा पदार्थ आयात गरिएका कारण भारतले नयाँ नियम लागू गरेर अवरोध सिर्जना गरे पनि अहिले भने निर्यात भएको जानकारी दिए । निर्यात सहजताका लागि संघले निरन्तर पहल गरेपछि सार्थकता पाएको उनको भनाई छ ।
निर्यात रोकिएपछि अन्तर्राष्ट्रिय मान्यता अनुसार भारतले लागू गरेको नियम उपयुक्त नभएको निजी क्षेत्रको भनाई थियो । नेपालमा उत्पादन भइरहेका अन्य बस्तुमा यस्तो प्रावधान थिएन । कच्चापदार्थ आयात रोकिएपछि उद्योग स्वतः बन्द हुने अवस्थामा पुगेको थिए । तर, भारतले निर्यात्मा सहजीकरण गरेपछि निरास बनेका उद्योगीले केही राहत महसुस गरेका छन् । भैरहवा भन्सारका अनुसार गत आर्थिक वर्ष मुलुकबाट निर्यात भएका प्रमुख १० बस्तुमा फलाम वा स्टिल भाँडाकुँडाको योगदान छैटौं नम्बरमा छ । गत वर्ष ७३ करोड ६२ लाख ५८ हजार मूल्यका ३८ लाख ७२ हजार ५२७ किलो स्टील तथा भांडाकुंडा निर्यात भएको तथ्यांक छ ।
प्रतिकृया दिनुहोस्