September 18, 2025, Thursday
२०८२ आश्विन २ बिहीबार

कृष्णनगरबाट हवाई इन्धन र औद्योगिक कच्चा पदार्थ आयात

कपिलवस्तु– लुम्बिनी प्रदेशको प्रमुख नाका मध्ये कपिलवस्तुको कृष्णनगरबाट हवाई इन्धन र औद्योगिक कच्चा पदार्थ आयात सुरु गरिएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका कारण यस नाकाबाट आयात–निर्यात प्रभावित बनेको थियो । मुलुकका १० ठूला भन्सार नाकामा पर्ने कृष्णनगरबाट आइतबारदेखि आयात निर्यात सहज बनाइएको कृष्णनगर भन्सारले जनाएको छ ।

Advertisement

कृष्णनगर भन्सार कार्यालय प्रमुख फणिन्द्र खतिवडाले आइतबार र सोमबार सबैभन्दा धेरै सम्राट र घोराही सिमेन्ट उद्योगका कच्चा पदार्थ १५ ट्रक कोइला र जिप्सम आयात भएको जानकारी दिए । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुई दिनमा ९ ट्यांकर हवाई इन्धन आयात भएको छ । कृष्णनगरबाट भारतमा हवाई इन्धन डिपो नजिक रहेकाले यहीबाट आयात भइरहेको प्रमुख भन्सार अधिकृत खतिवडाले बताए ।

यस नाकाबाट बियरका सिसाको बोतलपनि आयात भएको थियो । त्यस्तै तरकारी, फलफूल र खाद्यान्न पनि अहिले नियमित आयात भइरहेको छ । त्यस्तै आइतबार र सोमबार गरी ९ ट्रक नेपाली सिमेन्ट भारत निकासी भएको छ । भदौ २४ देखि २७ गतेसम्म यो नाका नराम्ररी प्रभावित भएको थियो । मुलुकको अवस्था सहज बनेसँगै जिल्लाको अर्को मुख्य भन्सार नाका सुठौली पनि पूर्ण रूपमा सञ्चालनमा आएको छ । दुवै नाकामा रोकिएका सबै सेवा पुनः सुचारु भइसकेका छन् । भन्सार नाका सञ्चालनमा आएसँगै आर्थिक गतिविधि चलायमान हुँदा व्यवसायीलाई धेरै राहत पुगेको कृष्णनगर उद्योग वाणिज्य संघ अध्यक्ष रितेशकुमार शर्माले बताए ।