सिंहदरबार बनाउन अर्घाखाँचीका किसानद्वारा एक लाख

भैरहवा– मुलुकको प्रमुख प्रशासनिक केन्द्र र नमूना भवन सिंहदरबार गत भदौं २४ गते प्रदर्शनका क्रममा जलेपछि अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ का तुलसीराम अधिकारीको मन कुँडियो । सिंहदरबार दनदन सल्किरहेको आगोको राप देखेर अधिकारीको मन भतभत पोल्यो ।
राष्ट्रिय धरोहर जलेको देखेर उनी थामिन नसक्ने अवस्थामा पुगे । सिंहदरबारमात्र होइन, न्यायिक संरचनाको केन्द्र मानिने सर्वोच्च अदालत, संसद भवन, बालुवाटार, शीतल निवास लगायत ऐतिहासिक संरचना जलेर खरानी भए । त्यो देखेर धेरै नेपालीको मनमा पीडा, त्रास र चिन्ता थपियो । यस्तै कठिन परिस्थितिमा अधिकारीले राष्ट्रप्रेम देखाएका छन् । किसानकर्म गरे पनि कर्तव्यबोध भुल्न सकेनन् ।
अधिकारीले प्रधानमन्त्री दैवी प्रकोप सहयोग कोषमा सोमबार १ लाख १ सय जम्मा गरेका छन् । अखबरे खुर्सानी विक्री गरेर जम्मा गरेको रकम सहयोग गरेका हुन् । ‘फेरि यस्तो विपत्ति देख्न नपरोस्,’ उनले भने, ‘सिंहदरबार बनाउन मैले सकेको सहयोग गरेको छु । अरु सहयोगी हात पनि एकजुट हुनुपर्यो ।’ सिंहदरबार केवल भवन नभएर नेपालीको इतिहास र पहिचान भएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले अधिकारीको योगदानलाई विशेष उदाहरणीय बताए । ‘कृषि आम्दानीबाट आएको यो रकम पुनर्निर्माणमा ठूलो टेवा पुग्नेछ,’ उनले भने, ‘यस्तो उदाहरणीय सहयोगले अरूलाई पनि राष्ट्रप्रतिको दायित्वबोध गर्न प्रेरित गर्नेछ, राष्ट्रलाई संकट परेको बेलामा हरेक नागरिकले हरेक क्षेत्रबाट सकेको सहयोग गर्नुपर्छ भन्ने सन्देश अधिकारीले दिनु भएको छ ।’
प्रतिकृया दिनुहोस्