October 7, 2025, Tuesday
२०८२ आश्विन २१ मंगलवार

अझै मर्मत भएन स्वर्गद्वारीघाटको शवदाह गृह, सिद्धार्थनगरमा घाट व्यवस्थित नहुँदा सास्ती

भैरहवा– मानिसको जन्म हुँदा सबैतिर खुसी छाउँछ । सुख साटासाट गरिन्छ । त्यही मानिसको मृत्युले खबरले फेरि दुखी तुल्याउँछ । यस्तो दुःखको क्षणमा सम्हालिँदै आफन्तले मृतकको बिदाईका परम्परा पूरा गर्छन् । त्यसको सुरुवात घाटबाट हुन्छ । घरमा धार्मिक संस्कार पूरा गरेर आ–आफ्नो परम्परा अनुसार अन्तिम संस्कारका घाटमा पुर्याउने गरिन्छ । टार्न नसकिने मृत्युवरण गरेपछि मानिसको अन्तिम बिदाई विशेष होस् भन्ने सबैको चाहना हुन्छ । त्यसका लागि घाट व्यवस्थित हुन जरुरी छ ।

Advertisement

तर, सिद्धार्थनगरमा घाटहरु व्यवस्थित नहुँदा नागरिकको मृत्युपछि पनि सहज किसिमले दाहसंस्कार गर्ने वातावरण छैन । नगरपालिका भित्रका घाट व्यवस्थित नहुँदा सहज अवस्था बन्न नसकेको हो । नगरपालिकाभित्र दाहासंस्कारका लागि चारवटा घाट छन् । यीमध्ये अधिकांश घाट व्यवस्थित छैनन् ।

सिद्धार्थनगर–२, मा रहेको घाट स्वर्गद्वारी घाट हो । उक्त घाटको क्षेत्रफल साढे चार कठ्ठा छ । अर्को घाट मुक्तिनाथ घाट हो, जुन सिद्धार्थनगर–४ मा छ । उक्त घाटको क्षेत्रफल पनि साढे चार कठ्ठा नै छ । सिद्धार्थनगर–११, मा रहेको घाट भने निर्माणाधीन अवस्थामा छ । उक्त घाटको निर्माण चालु आर्थिक वर्षभित्रै पूरा हुने नगरपालिकाका इन्जिनियर शाकार श्रेष्ठले जानकारी दिए ।

यस बाहेक सिद्धार्थनगर–१२, मा रहेको नगरको प्रमुख घाट हो, स्वर्गद्वारीघाट । उक्त घाटको क्षेत्रफल भने ११ कठ्ठा छ । यो यस क्षेत्रकै पुरानो घाट हो । जुन घाट डण्डा खोला किनारमा छ । पूरानो भएकाले स्वर्गद्वारी घाट अन्य घाटहरुभन्दा व्यवस्थित छ । उक्त घाटमा मलामीका लागि आवश्यक पानी, प्रतीक्षालय, शौचालय लगायतका सुविधाहरु छन् ।

यहाँ एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत २०७६ साल कार्तिक २ गते २७ लाख भारतीय रुपैयाँ खर्च गरेर वातावरणमैत्री प्रदुषण रहित शवदाह गृह निर्माण गरिदिएको थियो । बैंकले निर्माण पूरा गरेर नगरपालिकालाई हस्तान्तरण गरेको थियो । निर्माण सकिएपछि लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका थिए ।

निर्माण पूरा भएपछि यसको उचित रेखदेख नहुँदा तीन महिनादेखि सेरिमेशन मेसिन संचालनमा छैन । पटकपटक मर्मत गरिए पनि यो दुरुस्त हुन सकेको छैन । स्थानीय प्रभात गुरुङका अनुसार स्वर्गद्वारी घाटमा मेसिन मात्र नभएर त्यहाँ जडान गरिएको बत्तीको पनि समस्या छ । ‘स्थानीय सरकारले घाट व्यवस्थापनमा चासो दिएको देखिएन,’ उनले भने, ‘खोलालाइ सरसफाइ गर्ने, गेटको व्यवस्थापन गर्ने जस्ता कुरा भएका छैनन ।’ उनले तत्काल मेसिन मर्मत गर्न आग्रह गरे ।

सिद्धार्थनगर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सेरिमेसन मेसिन मर्मतका लागि एभरेष्ट बैंकलाई पत्रचार गरेको बताए । ‘तर, बैकले मर्मत गर्न नसक्ने जानकारी गराएपछि यसको विषय नगरसभामा कुरा उठाएको हो,’ उनले भने, ‘नगरसभाबाट पास नभएको खण्डमा नगरपरिषदबाट बजेट छुट्याएर भए पनि मेसिन मर्मत गराउने गरि छलफल भइरहेको छ ।’

नगरपालिकाले मर्मतका लागि सबै प्रक्रिया पूरा गरे पनि यसका लागि आवश्यक प्राविधिक मुलुकमा नभएको उनले बताए । भारतबाट प्राविधिक झिकाएर भए पनि मर्मतका लागि समन्वय भइरहेकाले धेरै समय नलाग्ने थापाले बताए ।