जेनजी आन्दोलनसँगै च्यातिएको भ्रष्टाचारको जालो

सागर पण्डित
जेनजी आन्दोलनले देखाएको विद्रोह मुलुककै इतिहासमा अभूतपूर्व अध्याय हो । जनतामा वर्षौंदेखि सञ्चित आक्रोश एकैपटक विस्फोट भएर बाहिरिएको दिन थियो भदौ २३ र २४ । यद्यपि २४ गतेको घुसपैठिया तत्वले जेनजीको पवित्र आन्दोलनलाई बदनाम बनाउँदै देशलाई घाइते बनाउने काम ग¥यो । नेताहरुलाई विस्थापन गर्ने कार्य त ठिक्कै थियो तर महत्वपूर्ण राष्ट्रिय धरोहरलाई नै आगो झोसेर उनीहरुले मुलुकलाई केही वर्षपछाडि धकेल्ने कुत्सित कार्य गरे । त्यस्तो कार्य भने कलंकित हुन पुग्यो ।
यद्यपि यो आन्दोलनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको देश लुट्ने भ्रष्टाचारीहको मुटु कमाउन सफल भयो र आगामी दिनमा भ्रष्टाचार गर्न नसक्ने आधारभूमि तय गर्न सफल भयो, जुन निकै स्वागतयोग्य कार्य पनि हो ।विगतमा राजनीतिक नेतृत्वले भ्रष्टाचारलाई संरक्षण गरेको, ठूला–ठूला माफियाले सत्ता सञ्चालन गर्ने वातावरण सिर्जना भएको र राज्यका नीतिगत निर्णयहरूसमेत बिचौलिया र ब्रिफकेसको आदेशमा तय भएको कुराले नागरिकलाई असह्य बनाइरहेको थियो ।
प्रायजसो सबै प्रधानमन्त्रीको किचनसम्म पुगेका माफियाले मुलुकको ढुकुटी लुट्ने र जनताको भविष्य बेच्ने काम गरेका थिए । तीन दशकको बहुदलीय अभ्यासले लोकतन्त्रलाई बलियो बनाउनुको सट्टा माफियावादलाई प्रश्रय दियो । नियुक्ति, ठेक्का र नीतिमा सबैतिर पैसाको खेल चल्न थाल्यो । कुनै पदमा पुग्न घुस दिनुपर्ने, अनि त्यो पदमा पुगेपछि घुस उठाएर नाफा उठाउने दुश्चक्र कायम भएको थियो ।
परिणामस्वरूप, सेवा प्रवाह चरम अस्तव्यस्त भयो, नागरिकको विश्वास शून्यतिर झ¥यो र राजनीति नै घृणित प्रतीक बन्न पुग्यो । यही कारण, जनताले उठाएको विद्रोही आवाजले अक्षम र भ्रष्ट राजनीतिक नेतृत्वलाई उखेल्यो ।तर, आन्दोलनले दिएको सन्देश दुई पाटोको छ । पहिलो– भ्रष्ट नेताको सम्पत्ति खरानी बनाउन सक्ने जनशक्तिको शक्तिशाली प्रदर्शन । यसले अब कुनै पनि नेताले राज्यलाई लुट्ने दुस्साहस नगर्ने चेतावनी दिएको छ ।
दोस्रो– राष्ट्रिय सम्पदामा भएको विध्वंस र आततायी गतिविधि भने दुःखद र लज्जास्पद छ । विदेशी र देशी घुसपैठियाले आन्दोलनलाई अराजकतातिर मोड्ने प्रयास गरे, जसले मुलुकलाई दशकौँ पछाडि धकेल्ने खतरा बढायो । यो पक्षप्रति सचेत र सतर्क रहनु सरकार र नागरिक दुवैको दायित्व हो ।
अब सवाल उठ्छ– नयाँ सरकारले के गर्ने ? कसरी अघि बढ्ने ? मुलुक अहिले निर्णायक मोडमा छ । यदि सरकार भ्रष्टाचार नियन्त्रण गर्न सक्षम भएमा, सुशासनको नयाँ अध्याय खोल्दै भ्रष्टाचार उन्मूलन गर्ने कार्यमा सफल भयो भने मात्र मुलुकले विगतको क्षति पूर्ति गर्न सक्छ । त्यसका लागि निम्न कार्य गर्नुपर्छ ।
१. भ्रष्टाचारमा शून्य सहनशीलताको नीति : ठूला–ठूला भ्रष्टाचार काण्डमा संलग्न जो कोही भए पनि कानुनी कठघरामा उभ्याउनै पर्छ । संरक्षण गर्ने नेतासम्म कारबाहीको दायरामा पर्नुपर्छ ।
२. सेवा प्रवाहमा सुधार : नागरिकलाई प्रत्यक्ष अनुभूत हुने खालको पारदर्शी, छिटो र गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्छ ।
३. नियुक्तिमा पारदर्शिता : पदमा पुग्ने प्रक्रिया पूर्ण प्रतिस्पर्धी र इमानदारितामा आधारित हुनुपर्छ, ब्रिफकेसको चलन सदाका लागि अन्त्य गर्नुपर्छ ।
४. पूर्वाग्रही प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।
५.मन्त्रीहरु रोलमोडल बन्न सक्नुपर्छ ।
६. संवेदनशील संयन्त्र : सरकारका सबै संयन्त्र, विशेष गरी प्रशासन, प्रहरी, न्यायालय र लेखापरीक्षण निकाय उच्चतम जिम्मेवारीसाथ संवेदनशील हुनुपर्ने बेला यही हो । साथै यी सबै निकायहरु इमानदारिताका साथ अघि बढ्नुपर्छ ।
जेनजी आन्दोलनले दिएको ऊर्जा, चेतना र सन्देशलाई सकारात्मक दिशातिर मोड्न सकियो भने, यो मुलुकका लागि नयाँ शुरुवात हुनेछ । तर त्यसको उल्टो भयो भने, पुनः माफियावादको पुनरागमन मात्र हुनेछ, जसको परिणाम अझ विनाशकारी हुनेछ ।
जेनजी आन्दोलनले मुलुकमा नयाँ आशा जगाएकाले यो आन्दोलनको मूल मर्म भनेकै सुशासन, पारदर्शिता, जवाफदेही सरकार र जनताप्रति उत्तरदायी राज्य संयन्त्र निर्माण गर्नु हो । अब सरकारका सबै संयन्त्रहरू त्यसै अनुरूप परिचालित हुनु जरुरी छ ।
भ्रष्टाचार नियन्त्रणका साथै जनताको पहिलो अपेक्षा भनेको गुणस्तरीय सेवा प्रवाह हो । नागरिकलाई समयमै, सहज र प्रभावकारी सेवा उपलब्ध गराउनु नै सुशासनको पहिचान हो । कार्यालय–कार्यालय धाउँदै दिन बिताउने प्रवृत्ति अन्त्य गर्न राज्यले तत्काल कदम चाल्नुपर्छ ।
त्यसै गरी, महँगीले पिल्सिएका जनतालाई राहत दिने स्पष्ट र कार्यान्वयनयोग्य योजना तत्काल ल्याउनुपर्ने अवस्था छ । बजार अनुगमनलाई केवल ‘दौरा निरीक्षण’ मा सीमित नराखी परिणाममुखी बनाउनुपर्छ । मूल्य नियन्त्रण गर्न नसक्दा केवल गरिब र मध्यमवर्ग मात्र होइन, पूरै समाज निराश हुन्छ ।
भ्रष्टाचारविरुद्ध सरकारको नीति कडाइतर्फ मोडिन जरुरी छ । भ्रष्टलाई ठाउँका ठाउँ कारबाही गर्ने प्रणालीलाई जीवन्त बनाउन सकिएन भने जेनजी आन्दोलनको सम्पूर्ण उपलब्धि जनताको नजरमा मूल्यहीन हुन्छ ।अहिले मुलुकले असुरक्षाको गहिरो छाया भोगिरहेको छ । प्रहरी चौकीहरू ध्वस्त भएर कैयौँ दिनसम्म पुनःस्थापित हुन सकेका छैनन् । हजारौं कैदीबन्दी फरार छन् । उनीहरूलाई पुनः थुनामा ल्याउन नसक्नु राज्य संयन्त्रको दुर्बलताको प्रमाण हो । यसले केवल आन्तरिक सुरक्षामै आघात गरेको छैन, अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाललाई बेइज्जत बनाएको छ । कतिपय मुलुकले नेपालीलाई भिसा दिन रोक्नु यसको प्रत्यक्ष उदाहरण हो ।
यस्तो जटिल परिस्थिति समाधान गर्न सरकारले विशेष र बहुआयामिक योजना बनाउनै पर्छ । प्रधानमन्त्रीदेखि प्रत्येक मन्त्रीसम्मले दिन–रात खटिएर काम गर्ने प्रतिबद्धता देखाउन आवश्यक छ । शासन गर्ने हैसियत पाएको नेतृत्वले अब बहाना होइन, परिणामका आधारमा आफ्नो अस्तित्व प्रमाणित गर्नुपर्ने बेला आएको छ ।
जनताले अब केवल आशा होइन, वास्तविक लोकतन्त्रको अनुभव गर्न चाहेका छन् । त्यो अनुभव सेवा, सुरक्षाको प्रत्याभूति, जीवनयापन सहज हुने वातावरण र भ्रष्टाचारविरुद्धको ठोस कार्यवाहीमार्फत मात्र सम्भव हुन्छ । अब सरकारले ‘समस्या बुझ्यौँ’ भनेर बस्ने होइन, समाधान गरेर देखाउने समय आएको छ । यो जेनजी आन्दोलनको सार पनि हो । यही मुलुकको भविष्यलाई सही बाटोमा उभ्याउने मार्ग पनि ।
जेनजी आन्दोलनले नयाँ राजनीतिक मोड दिएको विदितै छ । अहिलेको परिस्थितिमा सरकारमाथि दुई ध्रुवीय जिम्मेवारी स्पष्ट देखिन्छ– एकातिर सुशासनको जग मजबुत पार्ने, अर्कोतिर अराजकतालाई कानुनी कठघरामा उभ्याउने । सरकारले यी दुवै कार्यलाई ढिलाइ नगरी समानान्तररुपमा अघि बढाउनु जरुरी छ ।
यदि सुशासनका एजेन्डा केवल नारामा सीमित भए र अराजकतावादी गतिविधिहरुमा कानुनी कठोरता देखाउन ढिलाइ गरियो भने मुलुक असफल राष्ट्र बन्ने खतरा अझ गहिरिन्छ । आज नागरिकको आशा र आक्रोश दुवै उच्च विन्दुमा छ । आशालाई व्यावहारिक कदमबाट मजबुत पार्नुपर्छ र आक्रोशलाई न्याय र जवाफदेहिताको संयन्त्रद्वारा मत्थर पार्नुपर्छ ।
हिजोका दिनमा राजनीतिक दलहरूले सत्ता सञ्चालन गर्दा बिचौलिया, माफियावाद र गुटगत स्वार्थलाई प्राथमिकता दिए । इमानदार र निष्ठावान् कार्यकर्ताहरू पाखा लागे, तर भ्रष्ट र धूर्त व्यक्तिहरू अगाडि बढ्ने वातावरण बन्यो । यसै कारण जनतामा राजनीतिप्रतिको विश्वास क्षीण हुँदै गएको थियो । यता अब दलहरूले त्यो प्रवृत्ति तोड्नुपर्छ । आफ्ना पार्टी संरचना र सोचाइमा आमूल सुधार ल्याउनै पर्छ । इमानदार र निष्ठावान् अनुहारलाई नेतृत्वमा ल्याउने हो भने अझै पनि सहनशील नेपाली जनताले नेताहरुलाई माफी दिनेछन् । तर भ्रष्टाचारका पुराना अध्याय दोहोरिने संकेत देखिए जनताको आक्रोश फेरि ज्वालामुखी बन्न सक्छ ।
सरकार पनि अहिले निम्न दुई मुख्य कार्यमा दृढतापूर्वक उत्रन जरुरी छ–
१. सुशासन र जवाफदेहिताको स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने : प्रशासनिक दक्षता, सेवा प्रवाहको पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा ठोस कदम चाल्नुपर्छ ।
२. अराजकतावादी गतिविधिमा संलग्नहरूलाई कानुनी प्रक्रियामा ल्याउने : राज्यका धरोहर नष्ट गर्ने, आगजनी र लुटपाट गर्ने तत्वलाई कानुनअनुसार कारबाही नगरेसम्म न्यायको अनुभूति जनताले पाउँदैनन् ।
नेतृत्वले स्मरण गर्नुपर्ने कुरा स्पष्ट छ– अब हिजोको जस्तो ज्यादती, ढिलासुस्ती र कानुनको खिल्ली उडाउने संस्कार पुनः दोहोरिनुहुँदैन । नेपाललाई असफल राष्ट्र बन्नबाट जोगाउन सरकारले अझै ढिलो नगरी यी मार्गचित्र तय गर्नुपर्छ– पूर्ण सुशासन, समयमै निर्वाचन र जनताको विश्वास पुनःस्थापना । यही बाटोले मात्र नयाँ युगको पाना पल्टिन सक्छ । –newsofnepal
प्रतिकृया दिनुहोस्