भ्याट र आयकर छलीको आशंकामा ८९ फर्म अनुसन्धानको दायरामा


भैरहवा– मूल्य अभिबृद्धि कर (भ्याट) र आयकर छलीको आशंकामा आन्तरिक राजस्व कार्यालय, भैरहवाले रुपन्देही र पश्चिम नवलपरासीका ७ दर्जन बढी वस्तु तथा सेवाको कारोबार गर्ने फर्ममाथि अनुसन्धान थालेको छ । ‘बस्तु तथा सेवा उपलब्ध नगराउने तर फर्म दर्ता गरेर कमिसनमा विलबिजक जारी गर्ने र राजस्वमा झुट्टा विवरण बुझाई कर छली गरेको आशंकामा छानविन सुरु भएको हो’, आन्तरिक राजस्व कार्यालय प्रमुख प्रेमराज पोखरेलले भने ।
कार्यालयका अनुसार रुपन्देही र पश्चिम नवलपरासीका ८९ फर्ममाथि अनुसन्धान सुरु भएको छ । राजस्वले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने नवलपरासी र रुपन्देहीका शंकास्पद फर्महरुमाथि अनुसन्धान सुरु गरेको जनाएको छ । यस्ता फर्ममाथि करिब तीन महिनायता अनुसन्धान अधिकृत तोकेर अनुसन्धान भइरहेको छ । ‘अनुसन्धानको दायरामा आएका फर्महरुको खरिद बिल भए विक्री विल नहुने र विक्री बिल भए खरिद बिल नभेटिने गरेको छ’, पोखरेलले भने ।
कयौं फर्मले खरिदविक्री नै नभए पनि राजस्वमा विल जारी भएको विवरण पेस गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट समेत खुलेको छ । ‘यस्ता फर्मले मूल्य अभिबृद्धि कर (भ्याट) र आयकर छल्न राजस्व कार्यालयमा भने नक्कली बिल मिलाएर कागजात पेस गर्ने गरेका छन्’, उनले भने, ‘कारोबार र बिलविजक शंकास्पद देखिएपछि हामीले अनुसन्धान सुरु गरेका छौं । गलत पाइए कानून अनुसार कर निर्धारण हुन्छ ।’
राजस्वले शंकास्पद फर्मको नाम गोप्य राखेर बैंक स्टेटमेन्ट, कारोबार विवरण, विलभौचर, राजस्वमा पेस गरिएको विवरण जम्मा गरेर अनुसन्धान गरिरहेको हो । कतिपयको फर्ममै गएर अनुसन्धान भइरहेको कर अधिकृत समेत रहेका राजस्व कार्यालयका अनुसन्धान अधिकृत धनिश्वर अर्यालले बताए । ‘अनुसन्धानको दायरामा आएका फर्महरुमा बाह्य मुलुकमा सामान आयात–निर्यातकर्ता ठूला फर्मदेखि कवाड व्यवसायीहरुसम्म छन्’, उनले भने ।
राजस्व कार्यालय स्रोतका अनुसार खासगरी खरिदविक्री बिल शंकास्पद देखिनेमा कवाड व्यवसायी बढी छन् । अनुसन्धानका क्रममा केही फर्महरुले कागजात पेस गरे पनि कतिपय राजस्वको सम्पर्कमै छैनन् । सम्पर्कमा नआएकाहरुको खोजी गर्ने क्रममा फर्मसम्म पुग्दा बन्द अवस्थामा भेटिने गरेको अनुसन्धान अधिकृतहरु बताउँछन् । ‘केही सम्पर्कमा आउनुभएको छ, केही सम्पर्कमा हुनुहुन्न’, अर्यालले भने, ‘त्यस्ताको खोजी भइरहेको छ ।’
गत आर्थिक वर्षमा राजस्वले २९ वटा करदाताको ४३ वटा आय वर्षको अनुसन्धान गरेको थियो । यसबाट कर छली गरेको पाइएपछि ३ करोड ८० लाख मूल्य अभिबृद्धि कर र ३ करोड ५७ लाख आयकर निर्धारण गरिएको थियो । चालु आर्थिक वर्षमा पनि कयौं करदाताको शंकास्पद कारोबार देखिएपछि अनुसन्धानलाई तिव्रता दिइएको हो ।
रुपन्देही र पश्चिम नवलपरासी भारतसँग सीमा जोडिएका जिल्ला भएकाले सीमा क्षेत्रमा बसेर अवैध कारोबार गर्ने र कर छली गर्ने बढिरहेका छन् । कतिपय व्यापारीले कर छल्नकै लागि आर्थिक प्रलोभन देखाएर गाउँका सोझासाझ, गरिब तथा विपन्नको नाममा फर्म दर्ता गर्ने र कर तिर्ने बेला फरार हुने गरेको समेत पाइएको प्रमुख कर अधिकृत पोखरेल बताउँछन् । कर छलिका मुख्य कारोबारी फरार हुँदा निम्न वर्गीय नागरिक समेत अनुसन्धानको फन्दामा पर्ने गरेका छन् ।









लेखकको सम्वन्धमा