June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

ट्रंकलाइन महशुल विवादः रूपन्देहीका उद्योगको उत्पादन ठप्प, करोडौंको क्षति

Advertisement

भैरहवा– दैनिक ५ करोड मूल्य बराबरको फलामे डण्डी उत्पादन गर्दै आएको रुपन्देहीको तिलोत्तमास्थित पंचकन्या स्टील प्रालि बिहीबार रातिदेखि बन्द छ । पंचकन्या समूहद्वारा संचालित योसँगै अर्को उद्योग पंचकन्या प्लाष्टिक इण्डष्ट्रिजको पनि उत्पादन ठप्प छ । यो उद्योगले दैनिक ७५ लाख मूल्यका प्लाष्टिकजन्य वस्तुको उत्पादन गथ्र्यो ।

Advertisement

बन्द हुँदा यी दुई उद्योगबाट मात्रै भ्याट, भन्सार महशुल, अन्तशुल्क, विद्युत महशुल गरी दैनिक करिब दुई करोड सरकारी राजस्व गुमिरहेको छ । त्यो भन्दा महत्वपूर्ण कुरा यी उद्योगमा कार्यरत करिब ७ सय कर्मचारीको रोजगारी गुमेको छ । ‘बिहीबार राति आएर जवरजस्त उद्योगमा लाइन काटियो, यसले उत्पादन ठप्प भएको छ’, पंचकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले भने, ‘उद्योग बन्द हुँदा करोडौंको क्षति भइरहेको छ । सरकार निजी क्षेत्र मैत्री भएन ।’

ट्रंकलाइन महशुल नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले गत बिहीबार राति लाइन काटिदिएपछि उद्योगको उत्पादन रोकिएसँगै कर्मचारीको समेत रोजगारी गुमेको हो । महशुल तिर्न दवाव दिँदै आएको प्राधिकरणले भैरहवा–बुटवल औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुलाई माग, खपत र टं«कलाइन जडानका लागि प्राधिकरणले दिएको स्वीकृत उपलब्ध गराउन सकेको छ । ‘विना प्रमाण पटक–पटक लाइन काटिँदा हामी अन्यायमा परेका छौं’, एसआर फूड्स प्रालिका संचालक सुरज उप्रेतीले भने, ‘प्रमाण देउ पैसा तिर्छौं भन्दा दिन नसक्ने तर लाइन काटेर उद्योगीलाई हैरानी गर्ने काम मात्रै भएको छ ।’

प्राधिकरणले मुलुकभरका ४३ वटा उद्योगका लाइन काटेकोमा रुपन्देहीका मात्रै १८ वटा उद्योग छन् । केही उद्योगले महशुलको किस्ता तिर्न सुरु गरे पनि भैरहवा–बुटवल कोरिडोरका ११ उद्योगले नतिर्ने अडान लिएका छन् । ‘प्राधिकरण आफैले २०७३ पछि कुनै पनि उद्योग वा संघसंस्थामा डेडिकेटेड र ट्रंकलाइन नदिने, यदि दिनै परे प्राधिकरणको संचालक समितिबाट निर्णय गराउनु पर्ने नियम बनाएका थियो’, महाप्रबन्धक साहुले भने, ‘तर, २०७८ मा आएर ४ वर्ष पछि २०७४ चैतदेखि २०७६ सम्ममा भैरहवा–बुटवल कोरिडोरका उद्योग ट्रंकलाइनमा परेको भन्दै माग र खपतको प्रमाणविनै महशुल तिर्न दवाव दिन सुरु गरेको थियो ।’

जवकी प्राधिकरण भैरहवा वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापन तथा फेज सिक्वेन्स सन्तुलित गर्न भन्दै तत्कालीन समयमा केही दिनका लागि सटडाउन लिई भरौलियाबाट विद्युत आपूर्ति गरेको थियो । त्यसअघि रुपन्देहीको अमुवा फिडरबाट यस क्षेत्रमा ३३ केभीए प्रशारण लाइनबाट विद्युत आपूर्ति हुँदै आएको थियो । ‘त्यसबेला हाम्रै समस्याले गर्दा हो, तपाईंहरुको महशुल पुरानै दररेटमा हुन्छ भनेर प्राधिकरणले भनेको थियो’, उप्रेती भन्छन्, ‘हामीलाई ट्रंकलाइन भन्ने थाहै थिएन । न माग गरेका थियौं । तर, पछि एकाएक ट्रंकलाइन प्रयोग गरेको भनियो ।’

उनले भरौलियाबाट विद्युत् आपूर्तिक हुँदा पनि आफूहरुले नियमित विद्युत महशुल तिरेको जनाए । ‘हामीलय नियमित महशुल तिरेका थियौं । त्यसको प्रमाण पनि छ’, उनले भने, ‘सरकारले गठन गरेको लाल आयोगले समेत अन्यत्रको भन्दा यहाँका उद्योगको समस्या फरक छ भनेको छ । हामीलाई त्यही कार्यान्वयन गरिदिए पुग्छ ।’ उनले अहिले एसआर फूड्स बन्द हुँदा एक सय बढी मजदूर कामबिहीन भएको बताए ।

‘लामो समय बन्द भएको एसआर स्टील मैले यही हप्ताबाट संचालनको तयारी गरेका थिएँ । त्यसका लागि कच्चा पदार्थसमेत आयात गरेका राखिएको छ’, एसआर स्टीलका संचालक समेत रहेका उप्रेतीले भने, ‘तर, उद्योग संचालन नगर्दै विद्युत् लाइन काटियो । यसबाट ठूलो क्षति भएको छ ।’ उनले प्रमाण दिए आफूहरु तत्काल महशुल तिर्न तयार रहेको जनाए । होइन् भने एक–एक जना उद्योगीसँग छलफल गरेर समाधान गर्नुपर्ने वा लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने जनाए । लाल आयोगले भैरहवा–बुटवल कोरिडोरका उद्योगीले लाइन नमागेको तर प्राधिकरणले आफै उपलब्ध गराएर पछि ट्रंकलाइनको ब्याख्या गरेको जनाएको छ ।

पछिल्लोपटक प्राधिकरणले लाइन काट्दा ६ दिनयता यस क्षेत्रका उद्योगको उत्पादन समेत ठप्प छ । प्राधिकरणले उद्योगीलाई ट्रंकलाइन प्रयोग गरेको भनिएको अवधिमा दैनिक ८ घण्टासम्म लोडसेडिङको मार खेप्दै आएका थिए । ‘तत्कालीन समयमा चरम लोडसेडिङ भोगिरहेका बेला आफ्नो फिडर मिलाउँदा नियमित विद्युतलाई ट्रंकलाइन प्रयोग गरेको भनेर प्राधिकरणले मर्कामा पारेको प्रष्ट देखिन्छ’, साहुले भने, ‘किनभने प्राधिकरणले आफ्नो लेजरमा यो उद्योगको यति रकम तिर्न बाँकी छ भनेर लेखेको बाहेक भैरहवा–बुटवल औद्योगिक कोरिडोरका उद्योगहरुले विद्युत् प्रयोग गरेको कुनै प्रमाण दिन सकेको छैन ।’

यसले गर्दा पनि अन्य उद्योग सरह यहाँका उद्योगलाई राखेर हेरिनु अन्यायपूर्ण हुने यहाँका उद्योगीको दावी छ । अर्कातर्फ उद्योगले प्रमाण दिए भुक्तानी गर्छौं भनिरहँदा प्राधिकरणले प्रमाण दिन पनि सकेको छैन । त्यसैले यहाँका उद्योगका सवालमा सरकारले समयमै विशेष ध्यान दिनुपर्ने सरोकारवाला बताउँछन् । ‘होइन् भने प्राधिकरणको एककोहोरो दावीलाई साथ दिँदा अर्बौं लगानीका उद्योग धरासायी हुने, हजारौंको रोजगारी र करोडौं राजस्व गुम्ने अवस्था सिर्जना हुनेछ’, साहुले भने । तर, प्राधिकरणले महशुल नतिर्दासम्म लाइन नजोड्ने अडान लिइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरण, भैरहवा वितरण केन्द्रका प्रमुख संजयकुमार मिश्राले किस्ताबन्दीमा रकम तिर्न सुरु गरेपछि तत्काल लाइन जोडिने बताए । ‘किस्तामा तिर्न सुरु गर्ने उद्योगको हामीले लाइन जोडिसकेका छौं’, उनले भने, ‘महसुल तिर्नपर्छ । त्यसैले महशुल तिरौं ।’ उनले महशुल नतिर्दासम्म लाइन नजोड्न माथिको निर्देशन रहेको भन्दै तत्काल केही गर्न नसकिने बताए । उद्योगीहरुले भने प्राधिकरण आफैको कमजोरीले अन्याय भएको भन्दै तत्काल विना शर्त लाइन जोड्न माग गरेका छन् ।