June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

लुम्बिनीमा बढे भारतीय र तेस्रो मुलुकका पर्यटक, बसाईं अवधि नबढ्दा व्यवसायी चिन्तित

Advertisement

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने भारतीय र तेस्रो मुलुकका पर्यटकमा बृद्धि भएको छ । तर, आन्तरिक पर्यटक आगमन भने घटेको छ । भारत तथा तेस्रो मुलुकका पर्यटक बृद्धि भइरहँदा बसाइँ अवधि भने बढ्न सकेको छैन । जसले गर्दा भैरहवा लुम्बिनी क्षेत्रका पर्यटक व्यवसयीले यसबाट खासै लाभ लिन सकेका छैनन् ।

Advertisement

लुम्बिनी विकास कोषका अनुसार यहाँ सन् २०२४ को जनावरीदेखि सेप्टेम्बरसम्म ९ महिनाको अवधिमा भारतीय र तेस्रो मुलुकका पर्यटक आगमन राम्रो छ । यो अवधिमा आन्तरिक बाहेक भारतीय र तेस्रो मुलुकका २ लाख ४९ हजार ६४१ पर्यटक लुम्बिनी घुमेका छन् । कोषका अनुसार पछिल्लो ९ महिनामा भारतबाट १ लाख ८५ हजार ४६८ जना पर्यटक लुम्बिनी घुम्न आउँदा तेस्रो मुलुकका ६४ हजार १७३ यहाँ आएका छन् ।

सन् २०२३ को यो अवधिमा १ लाख ६७ हजार ४ सय भारतीय र ४५ हजार ९४८ जना मात्रै विदेशी पर्यटक लुम्बिनी भ्रमणमा आएका थिए । भारतीय र तेस्रो मुलुकका पर्यटक बढ्दा लुम्बिनी आउने स्वदेशी पर्यटक भने घटेका छन् । पछिल्लो अवधिमा ३ लाख ९५ हजार ७९१ आन्तरिक पर्यटक लुम्बिनी आएका छन् । गत वर्ष यो अवधिमा ४ लाख २० हजार १८३ जना आएका थिए । पछिल्लो समय लुम्बिनीमा भइरहेका धार्मिक तथा आध्यत्मिक गतिविधिले पनि भारतीय पर्यटकलाई आकर्षित गरिरहेको विकास कोषका सूचना प्रमुख हरिध्वज राईले जानकारी दिए ।

‘तर, सडक संजालका कारण आन्तरिक पर्यटक भने घटीरहेका छन्’, उनले भने, ‘सबैभन्दा बढी बुटवल–नारायणगढ सडकले आन्तरिक पर्यटकलाई लुम्बिनी आउनबाट रोकिरहेको छ ।’ उनले यो खण्ड नबन्दासम्म आन्तरिक पर्यटक आगमन डिष्ट्रब हुने जनाए । मोल्हम् पुजा, त्रिपिटक र रामकथा वाचन, संयुक्त राष्ट्र संघका महासचिवको भ्रमण, योगा दिवस लगायतका ठूला कार्यक्रमले पनि लुम्बिनीमा पर्यटक आगमन राम्रो हुँदै गएको छ ।

तर, पर्यटकले पर्खालभित्र रहेको लुम्बिनी गुल्जार बन्दा बाहिरपट्टी रहेका होटल भने सुनसान छन् । पाहुन कुरेर बसिरहेका व्यवसायी रात विताउने पर्यटक नआउँदा निराश देखिन्छन् । व्यवसायीको दावी अनुसार लुम्बिनीमा पर्यटक भुलाउने गतिविधि नहुँदा ९० प्रतिशत पर्यटक उसैदिन फर्किने गर्छन् । ‘लुम्बिनीमै बस्ने विदेशी पर्यटक पनि अधिकांश गुम्बाहरुमा बस्छन्’, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ भन्छन्, ‘गुम्बाले नीतिविपरीत पाहुना राख्दा समेत कहीकतैबाट कारबाही हुन सकेको छैन ।’

उनका अनुसार यही कारण पनि धेरै व्यवसायीले लाभ उठाउन नसकेका हुन् । ‘लुम्बिनी आउने २५० प्रतिशत विदेशी गुम्बामा बस्छन्, ६० प्रतिशत उसैदिन फर्किन्छन् । ५ प्रतिशत भैरहवा–बुटवल बस्छन् भने बाँकी १० प्रतिशत मात्रै लुम्बिनी बस्छन् । यसरी कसरी पर्यटन क्षेत्र उकासिन्छ ?’, उनले प्रश्न गर्दै भने, ‘यसका लागि गुम्बामा राख्नेलाई कारबाही हुनुपर्छ । अन्य गतिविधि गरेर पर्यटक यहाँ टिकाउनुपर्छ ।’

शान्ति र अहिंसाका प्रतीक बुद्ध जन्मभूमि लुम्बिनी आन्तरिक मात्रै होइन् विश्वभरका पर्यटक एकपटक आउन चाहन्छन् । यसका लागि पर्यटनमैत्री वातावरण र अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धनात्मक कार्यक्रम गर्न आवश्यक रहेको श्रेष्ठ बताउँछन् । यस्तै, आध्यात्मिक गतिविधिसँगै लुम्बिनी आएका पर्यटकलाई नजिकका गन्तव्यमा पुर्याउन सके उनीहरुको बसाई लम्बिन्छ, जसले गर्दा व्यवसायीले पनि लाभ उठान सक्छन् ।

‘यसका लागि सबैले पर्यटक टिकाउने वातावरण बनाउनुपर्छ’, लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले भने, ‘लुम्बिनी आउने पर्यटकलाई नजिकका गन्तव्यमा पुर्याउन नसक्नु बसाईं अवधि लम्बिन नसक्नुको कारण हो । सकिन्छ बौद्ध सर्किट घुमाऔं, यो सकिन्न भने नजिकका गन्तव्यमा पुर्याउ । बल्ल यहाँ पर्यटक टिक्छन् । होइन भने पर्यटक गनेर मात्रै व्यवसायी र सरकारले लाभ लिन सक्दैन ।’