रूपन्देहीमा पहिलोपटक ट्रयाकबेसमा आधारित कम्बाइन हार्वेस्टर प्रयोगमा


भैरहवा– पछिल्लोपटक धान, गहुँ लगायतको अन्नबाली कटानमा प्रयोग हुँदै आएको टायरबेसमा आधारित हार्वेस्टरको विकल्पमा रुपन्देहीमा किसानले ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेस्टर भित्र्याएका छन् । केही वर्षयता कृषि क्षेत्रमा भइरहको यान्त्रिकरण पछ्याइरहेका जिल्लाका किसानले जमिनको भू–बनोटअनुसार साँगुरो गहरा र हिलोखेतमा समेत सहजै बाली कटान गर्न सकिने र लागत पनि कम पर्ने भएपछि ट्रयाकबेसमा आधारित हार्वेस्टर भित्र्याएका हुन् ।
मायादेवी गाउँपालिका–४, गुण्डीमा रहेको सिद्धार्थ एग्रोभेट सेन्टरका संचालक किसान लाला लोधले पहिलोपटक रुपन्देहीमा टायरबेसको विकल्पमा ट्रयाक बेसमा आधारित कम्बाइन हार्वेस्टर भित्र्याएका हुन् । अहिले प्रयोगमा आइरहेको टायरबेस सरह क्षमता, सानो, सस्तो, तेल कम खाने र भू–बनोटअनुसार स–साना खेतका गहराहरुमा समेत प्रयोग गर्न मिल्ने भएपछि ट्रयाकबेसमा आधारित हार्वेस्टर भित्र्याएको उनले बताए ।
‘कृषि प्राविधिक, विक्रेता कम्पनी र विज्ञसँग बुझ्दा यो हार्वेस्टर राम्रो छ भन्ने जानकारी पछि मैले खरिद गरेको हुँ’, उनले भने, ‘हिजोबाट प्रयोगमा ल्याएका छौं । रिजल्ट केही समय प्रयोगपछि पक्कै थाहा हुनेछ ।’ यो प्रविधिको हार्वेस्टर रुपन्देहीमा पहिलोपटक प्रयोगमा ल्याइएको उनले जनाए । ट्रयाकबेसको खरिदपछि लोधले प्रयोगमा ल्याइरहेका टायरबेसमा आधारित दुईवटा हार्वेस्टर विस्थापित गर्ने योजना समेत बनाएका छन् ।
‘मसँग अहिले पनि दुईवटा ठूला टायरबेसका हार्वेस्टर छन्, मैले सुने र बुझेअनुसार यसको रिजल्ट राम्रो आयो भने पुराना विस्थापित गर्छु’, उनले भने । नेपालको भौगिलोक बनोट अनुसार पनि ट्रयाकबेसको हार्वेस्टर राम्रो मानिने कृषि प्राविधिकहर बताउँछन् । लोधले करिब ४० लाख रुपैयाँ लगानी गरेर हार्वेस्टर खरिद गरेका हुन् । गुण्डीस्थित धानबाली खेतमा धान काटेर यो प्रविधिको हार्वेस्टरको बिहीबार प्रयोग गरिएको हो ।
चीनमा बनेको ट्रयाक बेसमा आधारित हार्वेस्टर मुक्तिनाथ बैंक लिमिटेडको प्रमुख लगानी रहेको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले नेपालमा भित्र्याएको हो । सातै प्रदेशमा कार्यालय खोलेर अहिले कम्पनीले किसानलाई ट्रयाकबेसमा आधारित हार्वेस्टर प्रयोग गर्न प्रोत्साहन गरिरहेको कम्पनीका लुम्बिनी प्रदेश निर्मल भुसालले जानकारी दिए ।

उनका अनुसार करिब ८ लिटर डिजेलमा प्रतिघण्टा डेढ विघा खेतको धान, गहुँ कटान गर्न सक्ने क्षमता यो हार्वेस्टरको छ । ‘अगाडिको हेडर फेरेमा मकै बाली कटान गरी भित्र्याउन पनि सकिन्छ’, उनले भने, ‘यो बहुउपयोगी, किसानलाई फाइदा दिने र सस्तो छ ।’ लुम्बिनी प्रदेशमा बाँके, बर्दिया पछि रुपन्देहीमा प्रयोगमा ल्याइएको भुसालले बताए ।
कम्पनीका अनुसार ट्रयाकबेसमा आधारिक हार्वेस्टरको प्रयोग गर्दा माटोको भौतिक गुणमा कुनै असर गर्दैन भने हिलो र साँगुरा खेतमा पनि सहजै प्रयोग गर्न सकिन्छ । यस्तै टायरसेब भन्दा चलाउन सहज छ । जुनसुकै व्यक्तिले दुईतीन दिनको तालिमले चलाउन सिक्छन् । ‘हामीले विक्री मात्रै होइन्, यो हार्वेस्टर चलाउन पनि किसानलाई तालिम दिइरहेका छौं, प्रदेशका तीन जिल्लामा प्रयोगमा आइसकेको छ, बाँकी जिल्लाहरुमा पनि यसको महत्व बुझ्दै गएपछि किसानले खरिद गरेर प्रयोगमा ल्याउनु हुनेछ भन्ने हाम्रो विश्वास छ’, उनले भने ।
कृषि विज्ञहरुका अनुसार यो हार्वेस्टर प्रयोगले उत्पादन लागत निकै सस्तो पर्न जान्छ । टायरबेसमा भन्दा प्रतिघण्टा किसानको करिब एक हजार रुपैयाँ बचत हुन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई, रुपन्देहीका प्रमुख नारायण काफ्लेले नेपालको भौगोलिक अवस्था सुहाउँदो हार्वेस्टर भित्रिएको जनाए । ‘हामीले किसानलाई प्रविधिसँग जोडेर कम लागतमा धेरै मुनाफा कमाउने उपायहरुबारे सिकाइरहेका छौं’, उनले भने, ‘यस्ता प्रविधि प्रयोग गर्दा किसानलाई पक्कै पनि धेरै फाइदा हुन्छ । समय बच्छ ।’ उनले परियोजनाले कृषकलाई सहुलियतमा पनि कृषि औजार उपलब्ध गराइरहेको जनाए ।

पछिल्ला वर्षहरुमा जिल्लामा किसानहरुले हाते ट्क्याटर, मकै छोडाउने मेसिन, गहुँ छर्ने मेसिन, धान, गहुँ काट्ने कम्बाइन हार्भेष्टर, धान गहुँ, तोरी, मसुरो चुट्ने थ्रेसर मेसिन, धान, गहुँ काट्ने रिपर मेसिन लगायतको प्रयोग गरिरहेका छन् । कृषिमा भइरहेको यान्त्रिकरणले किसानको लागत घट्दै गएको छ भने मुनाफा बढीरहेको छ । त्यसैले यान्त्रिकरणमा किसानको आकर्षण बढीरहेको छ । देशलाई आत्मनिर्भर बनाउन, पोषण र खाद्य तत्वको ग्यारेन्टी गर्न, चक्लाबन्दी खेती जसमा आधुनिक कृषि औजारहरुको प्रयोग भए परनिर्भरता हट्ने कृषि विज्ञहरु बताउँछन् ।









लेखकको सम्वन्धमा