June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

सुप्रिम सहकारी ठगीः रवि लामिछानेले दुई करोड लिएको प्रहरी अनुसन्धान प्रतिवेदन

Advertisement

भैरहवा– रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट गृहमन्त्री रवि लामिछानेले गैरकानूनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको प्रहरी अनुसन्धानले पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धानपछि शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान मिसिलमा लामिछानेले सहकारीबाट गैरकानुनी रुपमा उक्त रकम लिएको खुलेको हो । प्रहरीले बुझाएको मिसिलमा लामिछानेले सहकारीबाट रकम लिएको प्रमाण समेत उल्लेख गरिएको छ ।

Advertisement

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा अभियोगपत्र पेश गर्दै छ । अनुसन्धानमा ‘लामिछानेका नाममा ऋण खडा गरी २०७७ चैत १८ गते गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा सेवा शुल्क ४ लाख कट्टी गरी १ करोड ९६ लाख रुपैयाँ जम्मा गरिएको’ उल्लेख छ ।

प्रहरीले सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा २८ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको छ । अनुसन्धानको मिसिलमै रविले सहकारीबाट गैरकानूनी रुपमा रकम लगेको प्रमाण उल्लेख गरे पनि प्रहरीले लामिछानेसँग सामान्य सोधपुछ समेत गरेको छैन । इलाका प्रहरी बुटवलका प्रमुख डीएसपी बिजयराज पण्डितले सहकारीको सफ्टवेयरमा रवि लामिछाने मात्र उल्लेख गरिएको पाइएको बताए ।
 
‘सफ्टवेयरमा ठेगाना लगायत व्यक्तिगत विवरण खुल्ने केवाइसी फर्म पाइएन,’ उनले भने, ‘यस्ता अपुरो विवरणका धेरै ऋण फाइल भेटिएकाले व्यक्ति यकिन गर्न समस्या भयो ।’ सहकारी ठगी मुद्दामा प्रहरीले अनुसन्धान गरी दायर गरेको मुद्दाको अभियोगपत्रमा सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १४ करोड २९ लाख रुपैयाँ लगानी भएको देखिएको छ ।

गोरखा मिडिया नेटवर्क प्रालिले काठमाडौंमा ग्यालेक्सी टेलिभिजन सञ्चालनमा ल्याएको थियो । उक्त टेलिभिजनमा गृहमन्त्री लामिछानेको नाममा १५ प्रतिशत शेयर थियो । गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालकमध्येमा रवि लामिछानेको नाम मिसिलमा खुलाइएको पाइएको छ । सहकारीको रकम अपचलन गर्ने कम्पनीको विवरण शीर्षक अन्तर्गत लामिछानेको एक लाख ८० हजार कित्ता सेयर रहेको देखिएको छ । उक्त सेयरको मूल्य एक करोड ८० लाख रुपैयाँ कायम गरिएको छ । २०७८ पुस ७ गते गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर उनको नाममा कायम भएको थियो ।

अनुसन्धानमा एक हजार ८ सय ३१ जनाले दिएका निवेदन, जाहेरी दरखास्त, त्यसको साथमा प्राप्त भएका बचत पासबुकहरु, प्रहरी प्रतिवेदन, खानतलासी बरामदी मुचुल्काहरु, लेखा परीक्षण प्रतिवेदन, कम्पनी रजिष्ट्रारको कार्यालयको पत्रहरु, विभिन्न बैंकबाट प्राप्त पत्र तथा स्टेटमेन्टहरु, मालपोत कार्यालयको पत्रहरु, सहकारी दर्ता कार्यालयको अनुगमन प्रतिवेदन तथा पत्रहरु, प्रतिवादीहरुको बयान, घटना विवरणका कागजहरुबाट प्रतिवादीहरुले सहकारी ठगीको कसुर गरेको स्थापित भएको दाबी गरिएको छ ।

इलाका प्रहरी बुटवलले सहकारीको बचत रकम हिनामिना आरोपमा ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन प्रहरीले सरकारी वकिललाई राय दिएको छ । प्रहरीलेले प्रतिवादीबाट १ अर्ब २ करोड बिगो मागदाबी भराउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको छ। सुप्रिमको रकम हिनामिना प्रकरणमा उक्त सहकारी अध्यक्ष ओमप्रकाश गुरुङ, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं उक्त सहकारीका पूर्व कोषाध्यक्ष दिपेश पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने र नीता थापा मगर पक्राउ परेका छन् ।

उनीहरुमाथि प्रहरीले बिज्ञ टोलीको सहायतामा अनुसन्धान गरेको थियो । सहकारी हिनामिनामा जोडिएका संस्थाका अध्यक्ष गुरुङसहित पदाधिकारीमाथि अनुसन्धानका लागि प्रहरी सहकारी र कम्पनी रजिष्टार कार्यालयबाट बिज्ञ र सीआइबीका अनुसन्धान अधिकृतको सहायता लिएको जनाएको छ । बचतकर्ताको रकम हिनामिना भएको भन्दैं उजुरी परेपछि प्रहरीले गत फागुन ३ गते सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक चापागाइलाई पक्राउ गरेको थियो ।

प्रहरीले पक्राउ परेका ५ जना बाहेक अन्यलाई फरार प्रतिवादी कायम गरिएको प्रहरीले जनाएको छ । पूर्व उपराष्ट्रपतिका छोरा पुन गत चैत २ मा काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना सार्वजनिक भएपछि प्रहरीले पीडितबाट जाहेरी माग गरेको थियो । प्राप्त जाहेरीका आधारमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।