नेपाल–भारत मैत्रीपूर्ण मिडिया क्रिकेटका लागि अभ्यासमा पत्रकार

भैरहवा– सिमावर्ती भारतको महाराजगञ्जमा यहीँ माघ २७ गते आयोजना हुने दोस्रो नेपाल–भारत मैत्रीपूर्ण मिडिया क्रिकेट प्रतियोगितामा सहभागी हुने लुम्बिनी प्रेसका खेलाडी अहिले अभ्यासमा व्यस्त छन् । तीन दिनदेखि उनीहरुले सिद्धार्थ नगरपालिका–९, गोनहिया मैदानमा क्रिकेट अभ्यास गरिरहेका हुन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण क्रिकेट खेलमा सहभातिाका लागि प्रेस क्लबका खेलाडी उत्साहित छन् ।
लुम्बिनी प्रेस क्लब टिमका प्रशिक्षक मनोरञ्जन शर्माको निर्देशन र कप्तान कमल रायमाझी र उपकप्तान प्रकाश न्यौपानेको संयोजनमा खेलाडीले अभ्यास गरिरहेका छन् । प्रत्येक बिहान ८ देखि १० बजेसम्म उक्त मैदानमा खेलाडीले पसिना बगाउने गरेका छन् । त्यस्तै अपरान्ह ४ देखि ६ बजेसम्म कडा अभ्यास गराइरहेको प्रेस क्लबका प्रशिक्षक शर्माले बताए ।
बिहान क्रिकेट अभ्याससँगै यसपटक उपाधि कसरी जित्न सकिन्छ भनेर चुस्त रणनीति बनाउने काम पनि भइरहेको प्रशिक्षक शर्माले बताए । तीन दिनको अभ्यास हेरेर प्रशिक्षक शर्माले भारतमा क्रिकेट खेल्ने खेलाडीको अन्तिम नामवली पनि सार्वजनिक गरेका छन् । जसअनुसार टिमको मुख्य प्रशिक्षकमा शर्मा, टिम कप्तानमा रायमाझी, उपकप्तान न्यौपानेकासाथै विकेटकिपरमा राधेश्याम विश्वकर्मा छन् ।
टिमको नियमित खेलाडीमा दीपेन्द्र बडुवाल, भुवन पाण्डे, रविन्द्रप्रताप गुप्ता, सचिन चौधरी, भीम भण्डारी, मोहम्मद हबिब, जयकेश हरिजन र झब्बर यादव छन् । त्यस्तै अतिरिक्त खेलाडीमा विष्णुप्रसाद भट्टराई, दीपक घिमिरे र कृष्णप्रसाद ढकाल छन् । टिम व्यवस्थापकमा शारदा मल्ल र फिजियोमा भेट्रान खेलाडी अरुण ज्ञवाली छन् ।
आयोजक भारतीय मिडियाको टिमले बुधबार नौतनवामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बिजेताले प्राप्त गर्ने ट्रफी र दुबै मुलुकका खेलाडीका जर्सी सार्वजनिक गरेको थियो । भारतीय मिडियाकर्मीका अनुसार दुबै मुलुकका सञ्चारकर्मीबीच आपसी सम्बन्ध मजबुत तुल्याउने उद्देश्यले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको दोस्रो शृंखला आयोजना गरिएको हो । एकवर्ष अघि पहिलोपटक भारतीय सञ्चारकर्मीको आयोजनामा नौतनवामा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
दुबै मुलुकका सञ्चारकर्मीको सम्बन्ध थप बिस्तार गर्ने उद्देश्यले एक महिना अघि लुम्बिनी प्रेस क्लबले पनि भैरहवाको सिद्धार्थ रंगशालामा दुई मुलुकका सञ्चारकर्मीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगित आयोजना गरेको थियो । भारतीय मिडिया टिमका कप्तान अमित त्रिपाठीले फेब्रुअरी ९ तारिखका दिन बिहान १० बजे दुबै मुलुकका सञ्चारकर्मीबीच मैत्रीपूर्ण खेल सुरु हुने जनाए । उनका अनुसार १५–१५ ओभरको खेल सञ्चालन हुनेछ । साथै बिजेता टिमलाई ट्रफी र खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उक्त प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित उद्यमी र सरकारी अधिकारीको सहभागिता रहनेछ । आयोजकले दर्शक सहभागिता बढाउन उपहार समेत राखेका छन् ।
लेखकको सम्वन्धमा