July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

जस्तो बीज त्यस्तै फल

-डा.टीकाराम पोखरेल

विगत केही वर्षदेखि राजनीतिप्रति वितृष्णा ओकल्ने क्रम जारी छ। यस्तो वितृष्णा ओकल्न थालिएको बहुदलीय व्यवस्थाको आगमनसँगै भए पनि पछिल्ला वर्षहरुमा वितृष्णा झनै बढेको छ। राजनीतिक व्यवस्थाको कारणले भन्दा पनि व्यवस्थाका चालकहरुको अराजनीतिक व्यवहारले गर्दा राजनीतिलाई धुमिल बनाइरहेको भन्दै देश बिगारेको दोष राजनीतिक दलका नेताहरुमाथि थोपरिन्छ । के दोष राजनीतिक दलका नेताको मात्रै हो त ?

Advertisement

एउटा रोपेर अर्को फल्दैन :

Advertisement

भनाइ छ, जस्तो रोपिन्छ त्यस्तै फल्छ । बारीमा मकै रोपेर कोदो फल्दैन । अम्बाको रुखमा कागतीको फल लाग्दैन । एउटा बीज रोपेर अर्को फल खोज्नु भनेको खोज्नेको मूर्खता हो, फल्ने फलको दोष होइन । फलको धर्म त बोटअनुसारको फल फलिदिनु हो । जनताले जस्तो नेतालाई देश जिम्मा लगाएका छन् तिनीहरुको धर्म पनि त्यही हो, जस्तो उनीहरुको क्षमता छ त्यस्तै गर्ने हो । राजनीतिमा राम्रो संस्कारको अपेक्षा गर्ने हो भने हाम्रा नेतालाई होइन राम्रा नेतालाई देशको तालासाँचो जिम्मा दिनु जनताको कर्तव्य हो ।

चुनावमा सोचौँ :

देश बिगार्ने नेता हुन् भन्ने निष्कर्ष निकाल्ने हो भने किन दशकौँदेखि घुमाइफिराइ तिनै दल र नेतालाई हामी देशको तालासाँचो जिम्मा लगाइरहेका छौँ ? लोकतन्त्रमा देशको मालिक जनता हुन्, नेता होइनन् । निर्वाचनको माध्यमद्वारा जनताले आफ्ना प्रतिनिधि छान्ने हो र देशको तालासाँचो उनीहरुलाई जिम्मा लगाउने हो । कुनै व्यक्तिले आफ्नो घरको तालासाँचो पहिले चोरलाई जिम्मा लाउँछ र पछि चोरी हुन्छ भने त्यो चोर्नेको भन्दा बढी दोष तालासाँचो जिम्मा लगाउनेको हो । त्यसैले चुनावमा गलत पार्टी र नेतालाई नजिताऔँ, सही मान्छे छनौट गरौैँ । मालिकले नै गलत मान्छेलाई देश जिम्मा लगाउने हो भने त्यसको जिम्मेवारी पनि मालिकले पनि लिऔँ ।

नेता समाजका उपज :

संगत गुनाको फल भन्ने चर्चित भनाइ छ । हाम्रा नेता हाम्रै समाजका उपज हुन् । कुनै अर्को ब्रह्माण्डबाट आएका होइनन् । समाज जस्तो छ त्यो सामाजबाट त्यस्तै नेता निस्कन्छ । सामाजले राम्रो संस्कार दिन सकेको भए नेता चरित्रवान्, नैतिकवान् हुने थिए । तर व्यक्ति अनैतिक भएपछि समाज अनैतिक हुन्छ, । समाज अनैतिक भएपछि त्यस्तोे समाजमा बहुसंख्यक अनैतिक नेता नै जन्मिन्छन् । छिटफुट नैतिकवान् निस्केछन् भने पनि अनैतिक समाजले त्यस्ता नैतिकवान् मान्छेलाई पत्याउँदैन । नैतिकलाई नपत्याउने, अनैतिकलाई अँगालो हालेपछि टाउकोमा हात राखेर पछुताउनुबाहेक अर्को बाटो हुँदैन । हामीले दशकौँदेखि त्यही गरेको होइन र ?

दोष कसको ?

देश बिग्रनुमा कोही भन्छन्– दोष नेताको, कोही भन्छन्– दोष जनताको, कोही भन्छन्– दोष कर्मचारीको, कोही भन्छन्– दोष निजी क्षेत्रका व्यापारीको । कोही भन्छन्– देश शिक्षकले सही शिक्षा नदिएर बिगार्‍यो । कोही भन्छन्– प्रहरीले शान्ति सुरक्षा र अमनचयन कायम गर्न नसक्दा देश बिग्रियो । कोही भन्छन्– ठेकदार बदमास भए । कोही भन्छन्– इन्जिनियर बिग्रे, कोही भन्छन्– डाक्टर पो त्यस्ता, कोही भन्छन्– वकिल त्यस्ता । आखिर दोष कसको ? सबैभन्दा भन्न गाह्रो नै यही प्रश्नको उत्तर छ। देशको राजनीति बिग्रनुमा जनता नेतालाई दोष दिन्छन्। नेता नागरिकले सही दिशानिर्देश गर्न नसकेको भन्छन्। समाज नेतालाई मरी–मरी गाली गर्छ, तर अचम्मचाहिँ के भने समाज जुन नेतालाई धेरै गाली गर्छ, चुनावमा उसैलाई जिताउन लालायित हुन्छ । आखिर देश बिगार्ने को हुन् ? धेरथोर देश बिगार्ने सबै हुन् । सबैभन्दा बढी देश बिगार्नेचाहिँ ती हुन् जो देश बिगारेको जिम्मेवारी रत्तिभर लिन चाहँँदैनन् ।

कर्तव्यबोध खै ?

भनाइ छ, कुनै फोहोर पोखरी सफा गर्नु छ भने पोखरीको डिलमा बसेर पोखरी फोहोर भयो भनी कराएर मात्र त्यो पोखरी सफा हुँदैन । पोखरी सफा गर्न पोखरीमै पस्नुपर्छ। पोखरीको डिलमा बसेर कराउनु भनेको कर्तव्यविमुख हुनु हो। नेपालको राजनीतिमा अहिले केही भएन, सबै बिग्रियो, सकियो, बर्बाद पारियो भन्ने खालका भाष्य बढी सुन्न पाइन्छ । हरेक व्यक्तिले देशमा भएको जति सबै नराम्रो मात्र भयो र त्यो नराम्रो गर्ने मबाहेक अरु हुन् भन्ने गरेको मात्र सुनिन्छ। यो राम्रो भयो, योचाहिँ म गर्छु, यो काम नहुनुमा मेरो पनि जिम्मेवारी छ, यो काम गर्न नसकेकोमा म माफी चाहन्छु, यो कुरामा म आफूलाई सुधार गर्छु भन्ने कुरा कोहीबाट पनि सुन्न पाइँदैन । नकारात्मक सोच बोकेर कर्तव्यविमुख व्यक्तिले बोल्ने भाषा जुन बोलिँदै छ, देशको निर्माणमा यो सोच सबैभन्दा धेरै बाधक छ । सबैजना सकारात्मक होऔँ, कर्तव्य पालना गरौँ ।

असामाजिक सञ्जाल :

आजकल सामाजिक सञ्जालले समाजलाई गाँजेको छ । यो सामाजिक सञ्जाल होइन, बरु असामाजिक सञ्जाल हो। सामाजिक मान्छेलाई असामाजिक बनाउने यस्ता सञ्जालहरु कसरी सामाजिक सञ्जाल हुन सक्छन् ? हातमा मोबाइल भएको हरेक व्यक्ति परिवार र समाजसँग भन्दा मोबाइलका स्क्रिननमा रमाइरहेछ। आजकल मान्छे छरछिमेक, सामाजका आफ्ना समकक्षीलाई साथी बनाउँदैन, बरु कहिल्यै नचिनेको र जीवनमा भेट्न असम्भव प्रायः मान्छेलाई साथी बनाएर त्यतै रमाइरहेछ। राजनीति पनि सामाजिक सञ्जालको वरिपरि घुमेको छ। राजनीतिलाई सामाजिक सञ्जालले डोर्‍याउने स्थितिमा पुगिसकेको छ। आज राजनीतिलाई जनताले होइन, सामाजिक सञ्जाल नामको असामाजिक सञ्जालले डोर्‍याइरहेछ । सामाजिक सञ्जालले चलाउने राजनीति एकदमै घातक हो । अतिशयोक्तिपूर्ण असामाजिक सञ्जालको प्रयोगले आँकलनभन्दा भिन्न राजनीतिक परिदृश्य देखाइरहेछ । राजनीतिमा संस्कृतिभन्दा विकृतिले जरा गाड्दै छ । यो असामाजिक सञ्जालले अराजनीतिलाई दिएको अमूल्य देन हो । यस्तो देन हामीलाई चाहिँदैन । हामी डिजिटल दुनियाँको असामाजिक सञ्जालको भर नपरौँ, आफ्नै घरवरिपरिको समाजको भर परौँ ।

व्यक्ति धनी तर देश गरिब :

देश गरिब छ, तर देशका केही व्यक्ति फोब्र्सको विश्वका धनीको सूचीमा परिसकेका छन् । जुन देशमा अझै पनि खान नपाएर कुपोषणको सिकार भई नागरिक मर्छन्, त्यो देशमा विश्वका धनी भेटिनु भनेको देश गरिब र मान्छे धनी हुनु हो । देश धनी भए मान्छे धनी हुन्छ नै । त्यसो त सबै मान्छे धनी भए पनि देश धनी हुन्छ । तर केही मान्छे धनी भएरचाहिँ देश धनी हुँदैन, बरु कंगाल हुन्छ । देशको राजनीतिक नेतृत्वले सही दिशानिर्देश गर्न नसक्दा देश गरिब भयो । केही व्यक्ति देशको आर्थिक नीतिको कारणले भन्दा पनि आफ्नो बठ्याइँका कारण धनी हु्न पुगे । राज्यको नीतिले धनी भएका भए त सबै नागरिक धनी हुनुपथ्र्यो । देशमा यस्तो आर्थिक असमानता हुनु विडम्बना हो । यसले धनी र गरिबीबीचको खाडल बढ्दै जान्छ र अन्ततः देशलाई आर्थिक संकटको बाटोमा लैजान्छ, जसरी अहिले संकटोन्मुख छ ।

अब गर्ने के ?

देशलाई समृद्ध बनाउनु हरेक नागरिकको कर्तव्य हुन्छ । कसैले पनि आफू समृद्ध भएँ भन्दैमा देशलाई धिक्कार मेरो देश भनेर नधिक्कारौँ । व्यक्तिका कुकर्मलाई जोडेर म यस्तो देशको नागरिक, कठै मेरो देशजस्ता देशलाई होच्याउने प्रकारका शब्द प्रयोग गरेर निराशाको खेती नगरौँ । व्यक्तिको कुकर्ममा देशको दोष हुँदैन । बरु नेता गतिला छान्ने काम गरौँ । चुनावमा कसैका चिप्ला भाषणको भ्रममा नपरी अरुको लहैलहैमा लागेर होइन, आफ्नै विवेकले नेता छानौँ । समाजलाई सकारात्मक बनाउन आफू पनि योगदान गरौँ । सबै दोष नेताको मात्र देख्ने दृष्टिदोषबाट मुक्त होऔँ । समाज बिग्रनुको यथोचित जिम्मेवारी लिऔँ । कोही पनि कर्तव्र्यभिमुख भएर नबसौँ । देश समृद्ध भए म पनि धनी हुन्छु भन्ने विचारलाई शिरोपर गर्नु सबै नागरिकको कर्तव्य हुन्छ । जस्तो रोप्यो त्यस्तै फल्छ । सकारात्मक सोचौँ । सकारात्मक काम गरौँ । परिणाम सकारात्मक आउँछ । -newsofnepal