September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

पर्यटन क्षेत्र र हवाई दुर्घटना

-अच्युतप्रसाद पौडेल ‘चिन्तन’

पर्यटन क्षेत्रमा देशले लामो समयदेखि ठूलै लगानी गरेको छ तर यसबाट देशको जिडिपीमा २ प्रतिशत योगदान बढ्न सकेको छैन । तर, लगानी नै नभएको क्षेत्र वैदेशिक रोजगारीबाट पाउने विप्रेषण रकमले देशको जिडिपीमा २२ प्रतिशतभन्दा बढीको हिस्सा छ । यो दुवै अवस्था राम्रो होइन । देशमा प्रशस्त उद्योगधन्दा, कलकारखाना अनि उत्पादन र रोजगारीको समस्या समाधान भएको भए यी दुवै अवस्था सिर्जना हुने थिएन ।

Advertisement

नयाँ आएका कतिपय मन्त्रीले त वैदेशिक रोजगारीलाई शून्यमा झार्नेसमेत भन्न भ्याएका छन्, तर यसै आवमा मात्रै देशका ८ लाख युवा शक्ति रोजगारीमा जाने आकलन गरिएको छ । चालू आवको अहिलेसम्म आइपुग्दा तथ्यांकले त्यो देखाउन खोजेको छ । यता सडक दुर्घटनाबाट बगेको मान्छेको रगतले देशैभरिका सडकहरू रक्ताम्य छन् । सडक दुर्दशाको यो भयावह चित्र हेर्दै गर्दा नेपाली आकाशको असुरक्षित र दर्दनाक परिवेश फेरि उजागर भएको छ, यसपालि माघे संक्रान्ति पर्व सबैले उत्साहका साथ मनाइरहँदा ।

Advertisement

कसैले पत्याउनसमेत नसकेको भयावह चित्र पोखराको सेती खोचले देखाएको छ यसपालि, जहाँ नयाँ भनिएको विमानस्थलको टावरसँग यति एयरले ल्यान्डिङ अनुमति लिएको १० सेकेन्ड नबित्तै ७२ जना यात्रु सोलोलो भए । कति त ‘बचाऊ’ भन्दै थिए पनि, तर गोजीबाट मोबाइल झिक्दै भिडिओ बनाइन थालियो, उद्धारको संवेदनशीलताभन्दा पनि टिकटक र रमाइलो गर्ने हाम्रो चरित्र, लासमाथि दागबत्ती दिँदै गर्दा आर्यघाटमा फोटो खिच्नेहरूको धुइरो लागेजस्तै गरी ।

जबजब देशमा सरकार नयाँ आउँछ, तबतब देशमा ठूला दुर्घटनाहरू हुने गर्छन्, चाहे थाई एयरको वीभत्स दृश्य होस् वा सप्तकोसीको बाँध फुटेर नेपाली जनजीविकामा दशकौँसम्म कालो दाग देखा परिरहोस् । दुःखान्त र वियोगान्त सम्झनाहरूकै साथमा जब तयारी र पर्याप्त परीक्षणबिना नै उद्घाटनका लागि हतारो गरिन्छ, सरकारबाट विमानस्थलको तयारी, परीक्षण के–कस्तो थियो, अर्को निजगढ विमानस्थलको उद्घोष त्यहीँ गर्न भ्याएका थिए, नेताहरूले ।

शोक बिदा

देशभरि शोक, भोक, रोग, कष्ट, हैरानी छ, चिन्ता, कुण्ठा छ, शोकाकुल छन् आमनागरिक र विदेशतिर भासिएका छन्, खान र लाउनैका लागि । देशमा ठूलो परिवर्तन गरे राजनीतिकर्मीहरूले, तर देशको अवस्था उस्तै छ मात्रै होइन, जटिल छ । प्रजातन्त्रदेखि लोकतन्त्र र संघीयता अनि गणतन्त्रसम्म ल्याइयो, तर लोकतन्त्रकै उपहास कहीँ नभएको अभ्यास प्रतिपक्षबिनाको संसद् चल्दै छ केवल भागशान्तिका लागि ।

संसारमा धर्म, संस्कृति सिकाउने देशबाट अब विदेशीहरूले लोकतन्त्र परीक्षणको नमुना के सिक्ने हुन् ? हो, नेपाली आकाश सुरक्षित छैन भन्दै युरोपियन संघले नेपाली उडानलाई कालोसूचीमा राखेको वर्षौं भइसकेको छ । अब त्यो सूचीबाट हटाउने प्रयास भइरहेका बेला नेपाली आकाशमा आन्तरिक सबैभन्दा ठूलो यात्रु संख्याकोे एकै चिहान भएको छ । यसमा सरकारले शोक बिदा दियो-पानीमाथि ओभानो हुँदै, जसको सर्वत्र विरोध भएको छ ।

सबै संयन्त्रबाट उद्धार कार्यमा सरिक हुनुपर्ने बेला देशैभरि काम ठप्प हुने गरी सार्वजनिक बिदा भनियो, देशमा बिदाको कमी नै छैन । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संविधान दिवस, जन्म दिवस, मृत्यु दिवस, चाडपर्व दिवस, प्रदेश दिवस, स्थानीय पालिकाहरूका दिवस, जाति बिदा, वर्षभरिमा महिनैपिच्छेका नयाँ वर्षका बिदा, चुनाव बिदा, भाषा बिदा, भनौँ देशैभरि बिदा छ ।

काम गर्नु नपर्ने, विदेशीसँग थाल थापेर खाने, आफू केही नगर्ने, शोक, भोग, रोगप्रति उदासीन हुने, आत्मनिर्भर हुने प्रयत्न नगर्ने अनि सार्वजनिक बिदा दिइरहने हाम्रो यो संस्कार सायदै अन्यत्र होला । भारत र चीनले उत्पादन र अर्थतन्त्रमा आफ्नो क्षमताले विश्व थर्काएका छन्, हामी दुखान्त घटनाहरूलाई स्मरण गर्दै वियोगान्त कथाहरू लेखेर, पढेर, सुनेर बस्नुपरेको अवस्था छ ।

गहुँको पीठोमा ५० प्रतिशतले भाउ वृद्धि भएको छ, आयातित इन्धन सरकारले नै दोब्बर नाफा लिएर बेचिरहेको छ, अरूलाई २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन भनिन्छ । हामीले त्यसको विकल्प सोच्नसम्म सकेको अवस्था छैन । श्रीलंकाले सरकारी संयन्त्र कटौती गरेको छ आपूm टाट पल्टिएर, तर हामीकहाँ राजनीतिक, प्रशासनिक संयन्त्र घटाउने आँट छैन, बरु भएभरका दलका मान्छेलाई राजनीतिक रोजगारी दिन संसद्लाई नै प्रतिपक्षविहीन बनाइन्छ ।

सत्ताबाहिर बस्दा आपूm असुरक्षित महसुस हुँदै छ, दल र तिनका आफन्तहरूलाई जसरी पनि पाल्नुपर्छ, देशमा खर्बौं व्यापारघाटा होस् वा योजनाले परिकल्पना गरेको साढे ८ प्रतिशतको आर्थिक वृद्धिमा बरु माइनसतिर जाओस् । यसै आवको विकासको नाममा गरिने पुँजीगत खर्च आधा वर्षमा १४ प्रतिशत मात्रै किन नहोस्, सत्ता प्राप्तिको बैठकभन्दा अन्य बैठक बसेको देखिएको छैन देशमा । बरु कुनै घटना घट्नासाथ बिदा दिएर आराम गराउने प्रचलन बढेको छ, बिदा दिएर शोक प्रकट हुन्न, काम गरेर र दुर्घटना नै हुन नदिएर बरु हुन्छ ।

बढ्दो दुर्घटना

सडक दुर्दशा र मान्छेको वियोग यहीँ मिसाउन खोजिएन र त यहाँ हवाई उडानको मात्र चर्चा हुँदै छ । सिस्टमले काम गर्दा दुर्घटना हुन्नन्, यत्रो विश्व ब्रह्माण्ड चलेको छ, पृथ्वीले आफ्नो परिक्रमा गरेको छ, कुनै बेला भूकम्प, आँधी, तूफानजस्ता प्राकृतिक घटना देखिए पनि गम्भीर घटना कतै कुनै बेला मात्र हुने गरेका छन् । यहाँ मानवनिर्मित घटना ज्यादा छ, विमान दुर्घटनालाई अहिलेसम्मको अभिलेख हेर्दा चालककै लापरबाही भनेर प्रतिवेदनहरूलाई पुस्तकालयमा थन्क्याउने गरिएको छ ।

हो, हाम्रो प्रकृति सहज छैन, आकाश पनि, तर प्रतिस्पर्धा, होडबाजी, पुराना थोत्रा यान्त्रिक साधन, कम्पनीले मिलेमतोमा पाइलटहरू राख्ने प्रचलन, लापरबाही, पुराना मोडेलका जहाजहरू, व्यवस्थापकीय कमजोरी, अनुगमन गर्ने निकायको निष्क्रियता, भूगोलप्रतिको अनभिज्ञता, जसले गर्दा धेरै मानिसले अकाल मृत्युवरण गरिरहेका छन् । नेपाली आकाशमा विमान उड्न थालेको इतिहास लामो छैन ।

थाई एयर र नेपाल वायु सेवाको स्थापना समय उही हो, तर थाई एयरले विश्वमा पाएको प्रतिष्ठा र नेपाल वायु सेवाले विश्वमै गुमाएको आफ्नो साख अनि त्यहीँ हुने गरेको चरम लापरबाहीको कथा नसुन्ने नेपालीहरू पनि सायदै होलान् अहिले । देशमा वि.सं. २०१२ देखि नै हवाई दुर्घटनामा नेपालीहरूको ज्यान जाँदै गरेको र अहिलेसम्म सानाठूला १ सय ९ वटा घटना भइसकेका छन् । विगत ६७ वर्षको अवधिमा यस्ता घटनाबाट ९ सय ३९ जनाको अवशान भइसकेको तथ्यांक सार्वजनिक भएको छ भने दुर्घटनाबाट बच्नेहरू पनि ६ सय ९० जना छन् ।

यसरी हेर्दा देशमा हवाई दुर्घटनाबाट मर्नेको संख्या औसतमा एक दर्जन छ वार्षिक । यसमा हेलिकप्टर ३६, मल्टी इन्जिन विमान ५२, मनोरञ्जनात्मक विमान ३, सिंगल इन्जिन विमान ८ र बाह्य विमान ९ वटा दुर्घटना भइसकेका छन् । नेपाली आकाशमध्ये निकै सुगम ठहरिएको, पर्यटकीय केन्द्र बनेको पोखराको माझ सहरमा र भर्खरै तयार भएको भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरण हुनु १० सेकेन्डपूर्व स्वदेशी ५३ जनासहित चालक दल एवं विदेशीसमेत गरी ७२ जना एकै स्थानमा भष्मीभूत हुनु देशकै लागि अशोभनीय र चरम लापरबाहीको विषय हो ।

कोरोनाबाट बिस्तारै तङ्ग्रन लागेको भनिएको र सन् २०२१ मै ६ लाख पर्यटक भित्र्यााइसकिएको अभिलेख संसारलाई दिइरहँदा मानवीय असावधानीमा भएको दर्दनाक यो इतिहास देशले मात्रै नभएर विश्वले नै कहिल्यै नबिर्सने खालको छ । यही आकाशको हिममानव विश्वकै उत्कृष्ट पर्वतारोही आङरितादेखि देशकै पर्यटनमन्त्री, त्यो पनि पोखराकै निवासीको हवाई दुर्घटनामा परेको आलो घाउ सुकिसकेको छैन ।

अहिले मृत्युवरण गर्ने पाइलटसमेत त्यहीँकै स्थानीय र दर्जनौँ वर्षका कुशल विमान चालक भन्नसमेत सम्बन्धित क्षेत्रले भ्याएको अवस्था छ र त्यसकै सहचालकका पतिले उसै विमानबाट ज्यान गुमाइसकेका र त्यसपछि उनको बिँडो थाम्न भनी सहचालक भएकी र उनले पनि उसै विमानबाट जीवनको अन्तिम बिदाइ लिनु कति नमज्जाको कुरो हो ! त्यो त अध्ययन प्रतिवेदनले देखाउला तर निमेषभित्रै भएको यत्रो ठूलो घटना, सुगम क्षेत्रको हुँदाहुँदै अध्ययन प्रतिवेदन तयार गर्न ४५ दिनको समय किन दिइयो, यो रहस्यात्मक विषय हो कि होइन ?

चनाखो हुन जरुरी छ । जसरी संसद्मा प्रतिपक्ष नभई अब केवल नागरिक अगुवा, प्रेस आदिले देशको प्रतिपक्षको भूमिका निर्वाह गर्नुपरेको अवस्थामा यस्ता घटनाहरूका लागि केवल मोबाइलमा फोटो खिचेर सान्त्वना दिने/लिनेभन्दा पनि अब सशक्त भूमिका निर्वाह गर्नुपर्छ, सञ्चार र सबै क्षेत्रले । नागरिक उड्डययन प्राधिकरण र सम्बद्ध निकायको यो रमिते चाला अनि महाप्रबन्धकहरूको हालसालैको मिडियाका अन्तर्वार्तामा विमान कहिल्यै पुरानो हुन्न, सबै ठीक नभई उडान अनुमति नै दिइन्न भन्ने जस्ता अभिव्यक्तिहरूबाट आम जनमानसले के बुझ्ने ? र अन्त्यमा, एउटै कम्पनी यतीको श्रृंखलाबद्ध दुर्घटना यो एघारौँ हो ।

निजीकरणकै नाममा भूमि सवारीका दुर्घटनाहरू धेरै छन्, निजी क्षेत्रका स्कुल, अस्पताल, नर्सिङ होमहरूको गुणस्तर पनि हेर्ने बेला भइसकेको छ, यो सबै काम सकारको हो । यी भए विमान चालकका कुरा, देशको नेतृत्व र चालक को हुन् त अहिले ? संविधानमा प्रतिपक्षीको के भूमिका छ त ? वा ओलीले संवैधानिक परिषद्को नियुक्तिमा देउवाजीले प्रतिपक्षका तर्पmबाट भाग लिन नगएकै कारण प्रतिपक्षबिना नै संवैधानिक नियुक्ति हुन सक्ने अध्यादेश ल्याएर सबै कामको दुनो आफैंतिर सोझ्याएजस्तै अहिलेको पाइलट को त ?

पहिला–पहिला परीक्षामा फस्ट, सेकेन्ड ल्याउनू भन्दै अभिभावकहरू साना नानीहरूलाई अर्ती–उपदेश दिन्थे । थर्ड डिभिजन ल्याउनु भनेको हैसियत गुमाउनु हो भन्थे । अहिले यो उपदेशले काम गर्दैन । देशमा अभिभावक पनि नभएको अवस्थामा त्यत्रो संख्याको संसद् सिटमा २३ सिट ल्याउनेले फस्ट ब्वाइ भएर देश हाँके देउवाजीले, त्यसको गुन तिर्न अहिले थर्ड डिभिजन ल्याएर विजयी, त्यो पनि आफैंले सहजीकरण गरिदिएका र देशको पाइलट बनेका प्रचण्डले हाँक्छन् त देश ?

ओली–प्रचण्ड दुई पाइलट हुँदा देशमा गम्भीर दुर्घटना भएको थियो, एक वर्षमा दुईपल्ट संसद्को कोमा–प्रवेश । अब त देशमा देउवासमेतका बहुपाइलटहरू छन्, हवाई दुर्घटनाभन्दा अर्को ठूलो दुर्घटना भयो भने को जिम्मेवार हुने ? बजार र महँगीको मार, विदेशी ऋण र करको भारवहन क्षमता आम नेपालीहरूले गुमाइसकेका छन् र धैर्य पनि । अवधि सकिने बेलामा बस चढ्दै देशका प्रमुख पुल्चोक, अनि नयाँ गृहमन्त्री बसमै चितवन पुगेकै भरमा राजनीतिक चरम लापरबाहीले जनता भय, रोग र भोकग्रस्तको स्थितिबाट उन्मुक्त होलान् ?

विश्व बैंकलगायत अन्तर्राष्ट्रिय एजेन्सीहरूले विश्व बजारमा थप मन्दी आउने, एसियामा आर्थिक वृद्धि अझै घट्ने भनिरहँदा हामी भने पन्ध्रौँ योजनाले कल्पना गरेको विकासको लक्ष्यमा मध्यावधि समीक्षा गर्दा देशले उँधो मुन्टो लगाएको हेर्दै र यसै आवको मध्यावधि समीक्षाको अधोगति र आवको ६ महिनामा विकासे पुँजीगत खर्च १५ प्रतिशत बढ्न नसकेको अवस्था हेर्दै चित्त बुझाइरहने हो त ? आसैआसका दिनहरू कति दिन लम्ब्याउने ? -karobardaily